नेपालमा दश वर्ष चलेको माओवादी द्वन्द्व सकिने बेलासम्म काठमाडौंका केही होटल बन्द भइसकेका थिए। कतिपय तारे होटल बन्द भएर सपिङ मलमा परिणत भए।
माओवादी द्वन्द्व त २०६३ सालमा सकियो। राजनीतिक रूपमा केही अस्थिरता बाँकी भए पनि द्वन्द्वको पुनरावृत्तिको सम्भावना थिएन। तर पनि व्यवसायीहरू नयाँ होटल खोल्न अरू केही वर्ष डराए। पुराना होटल लगानी गरेर सुविधा बिस्तार गर्न हच्किए।
यस्तो अवस्थामा चिनी र स्पिनिङ मिलको परम्परागत व्यवसायमा लागिरहेका व्यवसायी शशिकान्त अग्रवालले होटलमा राम्रो लाभको सम्भावना देखे। अरू हच्किएको बेला अग्रवालको होटल उद्योगमा पाइला अघि बढाए।
‘पर्यटकीय गतिविधि बढ्न थालेपछि नेपालमा होटलको ठूलो सम्भावना छ भन्ने लाग्यो,’ उनले भने, ‘एकातिर फाइदाको सम्भावना, अर्कोतिर ग्ल्यामर। मलाई त्यसैले तान्यो।’
सुरूमा उनले ठमेलमा तीनतारे फेयरफिल्ड मेरिअट होटल निर्माण गरे। काठमाडौंमा १५ वर्षपछिको अन्तरालमा पहिलो पटक तीनतारे होटल खुलेको थियो।
‘मैले ठमेलको होटल सुरू गरेको ३ वर्षपछिमात्र अरू होटल पाइपलाइनमा आएका थिए,’ उनले भने।
अग्रवालले भने ठमेलको तीनतारे होटल निर्माण सुरू हुनुअघि नै नक्सालमा पाँचतारे मेरियट होटलको काम अघि बढाए।
त्यो बेला कतिपय पुराना होटल व्यवसायीहरूले भने होटल धेरै भइसकेको गुनासो गर्दै थिए। पर्यटक बढे पनि होटल धेरै भएकाले नाफा राम्रो नभएको उनीहरूको गुनासो थियो।
यही गुनासोकाबीच नागपोखरीको पाँचतारे मेरियट होटल २०७६ को वैशाख २ गतेदेखि सञ्चालनमा आयो।
करिब पाँच अर्ब लागतमा निर्माण भएको उक्त होटलले कमाल गर्यो। कयौं स्थापित होटलले सामान्य सञ्चालन मुनाफामै व्यापार गरिरहेको बताइरहेका बेला मेरियट भने पहिलो वर्षमै खर्च उठायो। पहिलो वर्षमै घाटामा नजानु पाँचतारे होटलका लागि सानो कुरा होइन।
ठूलो लगानीका होटल नयाँ र पुरानोमा लागतमा फरक पर्छ। नयाँ होटलको ऋणको ब्याज धेरै तिर्नुपर्ने भएकाले उनीहरूले पुरानोको तुलनामा खर्च उठाउन धैरै कमाउनु पर्छ।
तर पनि मेरियटले पहिलो वर्ष नै सञ्चालन खर्चका लागि ऋण लिनु परेन।
‘गएको वर्ष व्यापारको हिसाबले अरू होटलको तुलनामा हामी राम्रो पोजिसनमा थियौं। ६५ प्रतिशत अकुपेन्सी थियो। हामी ब्रेकइभनमा थियौं,’ उनले भने, ‘८० प्रतिशत कोठा भरिए भयो होटल फाइदामा हुन्थ्यो। यो वर्ष ८५ प्रतिशतसम्म कोठा भरिने विश्वास थियो।’
यसरी पहिलो वर्ष नै आक्रामक व्यापार गर्नुलाई अग्रवालले आफ्नो व्यापारिक रणनीति र स्वभाविक संयोगलाई कारक मान्छन्। होटलको व्यवस्थापन विश्व प्रसिद्ध ब्राण्ड मेरियटले सम्हाल्नु, झन्डै दुई दशकपछि काठमाडौंमा नयाँ पाँचतारे होटलका खुल्नु र सहरको बीचमा होटल हुनुले पनि राम्रो गर्न ठूलो सहयोग पुगेको उनको भनाइ छ।
'धेरै वर्षपछि नयाँ होटल आयो। नयाँको स्वाद सबैले चाख्न खोज्छन्। मुख्य बिजनेस सेन्टरमा होटलको लोकेसन रह्यो। लोकेसनले पनि काम गर्यो। पछिल्लो समय मेरियट संसारकै उत्कृष्ट होटल ब्रान्ड हो। त्यो फाइदा पनि हामीलाई भयो,' अग्रवालले भने।
अग्रवालको होटलको व्यवस्थापन स्वंय मेरियट इन्टरनेशनलले हेर्छ। यसमा उच्च व्यवस्थापन तथा प्राविधिक तहका आधा विदेशी जनशक्ति कार्यरत छन्। मेरियटले व्यवस्थापनबापत् होटलबाट शुल्क, फाइदा, बुकिङ शुल्कमा निश्चित सेयर लिन्छ।
'मेरियटसँग लामो अनुभवका कारण उत्कृष्ट मान्छे छनौटदेखि व्यापार ल्याउने कौशलसम्म छ। तालिम दिनेदेखि इनोभेसनसम्म उनीहरूको शैलीमा कुनै प्रश्न गर्ने ठाउँ छैन। यस्तोमा व्यापार नआउने र फाइदा नहुने कुरा हुँदैन,' अग्रवालले भने।
ठूला होटलको व्यापारमा व्यक्तिगतभन्दा पनि समूह(बल्क) पाहुना धेरै चाहिन्छ। यस्तोमा नेपालका धेरै पुराना होटलले ट्राभल एजेन्टलाई लक्षित गर्छन्। जहाँबाट पाहुना समूहमा आउँछन्।
मेरियटका ग्राहक भने फरक छन्। यो होटलले पहिलो वर्षदेखि नै कूटनैतिक क्षेत्रका पाहुना धेरै पायो। अमेरिकन, चिनियाँ दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका पाहुना धेरै पायो। आधुनिक तथा राम्रो सेवाका कारण यी सबै निकायको रोजाइमा मेरियट परेको अग्रवालको तर्क छ।
'होटलको कोर सेवादेखि सभा सम्मेलनसम्म व्यवस्थापन हाम्रो उत्कृष्ट अवश्य छ। त्यसमा साउन्ड सिस्टम, लाइटिङदेखि डिस्प्लेसम्ममा आधुनिक प्रविधि छ। स्वभाविक रूपमा यस्तो सबैले रुचाउँछन्,' उनले भने।
यसरी लोभलाग्दो व्यापार गरिरहेको मेरियटको यात्रामा दोस्रो वर्षमै कोरोना महामारीले ब्रेक लगाइदिएको छ। होटल खुल्ला नै भए पनि ग्राहक छैनन्। कोरोना भाइरस संक्रमणका कारणले विश्वभरि नै होटलको व्यापार अहिले ठप्प प्राय: छ।
मेरियट होटलमा लगानीको ७० प्रतिशत बैंकको ऋण छ। होटलले मासिक दुई करोड ब्याज तिर्नुपर्ने अग्रवाल बताउँछन्। त्यस्तै मासिक सञ्चालन खर्च झन्डै १ करोड ५० लाख छ। त्यो भनेको वार्षिक ४२ करोड खर्च हो।
'अहिलेको अनिश्चितता कति रहन्छ भन्ने कुराले हाम्रा आगामी दिन कति कठिन हुँदै जान्छन् भन्ने कुराको निर्धारण गर्छ। संकटमा त हामी अहिले नै परिसकेका छौं,’ अग्रवालले भने।
म्यारियटको सफलताबाट हौसिएका अग्रवालले काठमाडौंबाहिरका गन्तव्यमा पनि फेयरफिल्ड मेरियट लेभलका होटल विस्तार गर्ने योजना बनाएका थिए। अहिलेको अनिश्चिताले उनको योजनामा पनि ब्रेक लागेको छ।
अबको उनको मुख्य चुनौती नै दुबै मेरियट होटललाई बचाउनु हो।
के छ त उनको योजना? कसरी पार लगाउँछन् यी होटल अहिलेको संकटबाट? अग्रवालले बैंकको ब्याज कसरी तिर्ने भन्ने एउटा मुख्य चुनौती रहेको बताए।
'हाम्रोजस्तो नयाँ होटलका लागि ब्याजको भार नै यति धेरै थपिन्छ। अबको डेढ वर्षसम्म पर्यटक आउने सम्भावना छैन। मासिक नोक्सानी तथा ब्याजको दायित्व थपिँदै जान्छ। ब्याज तिर्ने पैसा हुँदैन,’ उनले भने।
राज्यले यसमा ब्याज सहुलियत तथा अन्य केही उपाय नअपनाउने हो भने होटल अन्तत बैंकले लिलामी गर्नेसम्मको अवस्था पुग्न सक्ने उनले बताए।
बैंकहरूले ब्याजलाई साँवामा समायोजन गर्ने तथा ऋणको पुनर्तालिकीकरणले मात्र समस्या समाधान नहुने उनले बताए।
‘यसले झनै बोझ थपिन्छ। पछि ब्याज बढेर ३ महिनाको तीन करोड नाघ्छ। त्यसले होटललाई झनै कमजोर बनाउँछ। अवस्था अझै झन्डै २ वर्ष सामान्य हुने छैन,’ उनले भने, 'त्यो बेलासम्म हामी सबै ऋण र दायित्व बोकेर अघि बढ्न सक्दैनौं।'
समस्यामा परेका होटल व्यवसायलाई राज्यले सहुलियत दिँदा व्यवसायीलाई दिएको ठान्नु नहुने उनको तर्क छ।
‘होटल मैले बनाएको हो। तर मैले मरेर जाँदा लिएर जाने होइन। यो यही देशमा रहने हो। यही देशको सम्पत्ति हो। त्यसबाट भएको नाफाको कर पनि राज्यले नै पाउने हो। यसरी पनि हेरिदिनपर्छ,' उनले भने।