कैलालीका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघमार्फत जिल्ला प्रशासन कार्यालयलाई व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको हो।
अध्यक्ष पुष्पराज कुंवरद्वारा हस्ताक्षरित पत्रमा प्रशासनले सहजीकरण नगरे निर्वाध व्यवसाय खुला गर्नुपर्ने र प्रभावको जिम्मेवार सरकार हुने बताइएको छ।
व्यवसायीहरुको मंगलबार धनगढीमा भएको छलफलले सरकारले मर्कामा परेका व्यवसायीका हितमा कुनै सम्बोधन नगरेको भन्दै भोलिदेखि बजार खुला गर्ने निर्णय गरेको हो।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार व्यवसाय सञ्चानका लागि प्रशानले सहजीकरण गरिदिनुपर्ने माग व्यवसायीहरुको छ।
संघका अध्यक्ष पुष्पराज कुंवरले सरकारले ४४ प्रकारका व्यवसाय मात्र सञ्चालनको आदेश दिएकोमा अन्य बन्द रहेका साना तथा मझौला व्यवसायीलाई सम्बोधन गर्ने कुनै काम नभएको बताए।
‘लकडाउनले धरासयी बनेको व्यापार व्यसायका कारण ठूलो लगानी जोखिममा परेको छ’ उनले भने ‘व्यवसायीले घरबहाल, बैंक व्याज र कर्मचारीको तलब दिन सक्ने अवस्था छैन।’
साथै जेठ २५ भित्र सरकारले कर नतिरे जरिवाना लाग्ने भनेपछि दवावका कारण व्यवसायीहरु मानसिक रोगी भई दुर्घटना हुने वातावरण बनेको उनले बताए ।
यसअघि मंगलबार बिहान लकडाउनको उल्लंघन गरी पसल खोलेको भन्दै केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो।