हङकङले चिनियाँ लगानी भएको हिमालय एयरलाइन्सलाई चार्टर्ड उडान अनुमति दिन अस्वीकार गरिदिएको छ।
नेपालमा रहेका हङकङको अनुमति प्राप्त व्यक्तीहरुलाई फिर्ता पठाउने नेपाल सरकारले निर्णय गरेसँगै हिमाले एयरलाइन्सले हङकङमा चार्टर उडान गर्ने तयारी गरेको थियो।
त्यसका लागि नेपालको हार्वेष्ट मुन ट्राभलले हिमालयको उडान हुने भन्दै टिकट बिक्री सुरु गरेको थियो।
हिमालयले मे २२ देखि हङकङ उडान गर्ने सबै तयारी गरेको थियो। नेपालबाट हुनुपर्ने सबै तयारी भएपछि अन्तिममा हङकङको ब्युरो अफ सेक्युरिटीले उडान अनुमति दिन अस्वीकार गरेको थियो।
हिमालयका अधिकारीहरुले हङकङले नियमित उडान अनुमति नपाएको एयरलाइन्स भएकाले चार्टरका लागि पनि स्वीकृत नदिएको हुनसक्ने भएपनि अन्य कारण केही पनि नखुलाइएको जानकारी दिएका छन्।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफूले गर्नुपर्ने सबै कागजी प्रक्रिया पुरा गरेको र सरकारले पनि सहयोग गर्दा पनि अनुमति पाउन नसकेको जानकारी दिए।
'हामीले सबै तयारी गरेका थियौ। आवश्यक पर्ने भनिएका प्रक्रिया पूरा भएका थिए। अन्तत: हङकङको ब्युरो अफ सेक्युरिटीले अनुमति दिएन। कारण हामीलाई थाहा छैन' श्रेष्ठले भने।
यद्यपी नियमित उडान नगर्ने एयरलाइन्सहरुले पनि चार्टर उडान अनुमति भने पाइरहेका हुन्छन्। नेपाल एयरलाइन्सले नै अष्ट्रेलियामा चार्टर उडान गरिरहेको छ।
तर चिनियाँ लगानीको हिमालय एयरलाइन्सलाई हङकङ प्रशासनले उडान अनुमति दिन अस्वीकार गरिदिएको घटनालाई अन्य कारणले आशंका गर्न नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउछन्।
'नियमित उडान नगरेकाले उनीहरुले अनुमति दिन अलि असहज अनुभव गरेको जस्तो लाग्छ'पोखरेलले भने।
हिमालयलाई अनुमति नदिएपछि टिकट बिक्री गरेका ट्राभल एजेन्सीहरुले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर उडान सम्पन्न गरिसकेका छन्।