हाल २७ बर्षीया कामेश्वरप्रशाद यादवकाे घरमा २८ वटा भैंसी छन्। त्यसमध्ये ४ वटा भैंसी दुहुना छन्। आजकल दैनिक कम्तिमा ३० र बढीमा ४० लिटर दूध बेच्छन्। दूध बेच्न १५ किलोमिटर साइकल पेलेर लमही बजार पुग्छन्।
यहाँ लिटरको ५० रुपैंयामा दूधको कारोवार हुन्छ। गाडी चल्ने समयमा गाडीमै दूध बेच्न लैजान्थे उनी। गत वर्षदेखि उनले लमही नगरपालिका वडा नं. ८ धनपुरुवामा भैंसी पाल्न थालेका हुन्। यो उनको पुस्तानी पेशा हो।
उनको घर राप्ती नदी पारी राजपुर गाउँपालिका वडा नं. ३ वशन्तपुरमा पनि छ। लमहीको धनपुरुवा गाउँ राप्ती नदीको किनारमा छ।
जहाँ उनको ६ कठ्ठा जमिन छ। त्यसैमा आफू बस्ने घर र २८ भैंसी पाल्दै आएका छन्। सबै त्यहाँ नअटाउने हुँदा अन्यलाई केही पर नदी किनार नजिकै बाँधेका छु उनले भने। उनको घर र राप्ती नदी बीचको दुरी लगभग १०० मिटर मात्रै छ।
२८ वटा भैंसी मध्य ९ वटा पाडापाडी छन्। थप ९ वटा भैंसी गाभिना छन्। ती असारदेखि व्याउन सुरु गर्ने र भदौं महिनासम्म सबै ब्याई सक्ने यादवले बताए।
सबै भैंसी व्यायपछि बजारमा दैनिक १०० लिटरदेखि १२० लिटरसम्म दूध बेच्न लैजाने गरेको यादवले सुनाए। ‘त्यतिबेला दैनिक ६ हजार जतिको दूध बेच्छौं,’ उनले भने ‘खर्च कटाएर महिनामा एक डेढ लाख बचत हुन्छ। उनले पालेका लोकल जातका भैंसीलाई कृत्रिम गर्भाधारण नगराई राँगो नै लगाइन्छ।
गत साल मात्रै दूईवटा भैंसी दाङवाट ल्याएको बताउँदै उनले भने ‘एउटालाई ६५ र एउटालाई ७० हजारमा किनेर ल्याएका हौं, अरु सबै पुरानै लोकल जातका भैंसी हुन।’
अहिले पनि दाङको देउखुरी बासीले जिल्लाको तुलसीपुर–घोराहीलाई दाङ भन्ने प्रचलन कायमै छ।
उनका बाबुले, बाजेले पनि यही पेशा अपनाएको यादव सम्झन्छन्। ‘यो हाम्रो पुर्खेउली पेशा हो,’ यादवले भने ‘हामीले बाबु बाजेको पालादेखि यही गर्दै आएका छौं।’
हालसम्म उनीहरुले सरकारबाट केही अनुदान वा राहत पाएका छैनन्। त्यसका लागि पहल समेत गरेका छैनन्। ‘हामी जस्तालाई कोही सोधिखोजी गर्न आउँदैनन् र हामीलाई पनि अनुदान वा राहतको लागि कहाँ जानुपर्छ भन्ने नै थाहा छैन,’ यादवले गुनासो पोखे।
उनले कतैबाट सहयोग पाएमा भकारो व्यवस्थित बनाउने, घाँस दाना खुवाउनका लागि डुर बनाउने, घाँस काट्ने मेसिन किन्ने, भैंसीको लागि गोठ बनाउने सपना बुनेका छन्। पानी परिरहेको हुँदा भैंसी बाँध्ने ठाउँ हिलाम्मे थियो।
‘यस्तोमा भैंसीलाई घाँस, दाना हाल्न र दुध दुहुन समेत गाह्रो हुन्छ,’ यादवले थपे ‘हामीलाई राज्यले व्यवस्थित तरिकारले पशुपालन गर्नेबारे तालिम दिए राम्रो हुने थियो।’
गत साल राजपुरवाट भैंसी पाल्नकै लागि यादवका दाजुभाइका परिवार राजपुरस्थित पुर्खेउली घरबाट उत्तर राप्ती पारी लमहीको धनपुरुवा आएको थिए। उनका २ छोरी र १ छोरा निजी विद्यालयमै पढ्छन्।
आफुले पढ्न नपाए पनि छोरा छोरीलाई उच्च शिक्षासम्म पढाउने यादवको इच्छा छ। ‘हामी सबैगरी १८ परिवार छौं,’ सबै यही पेशामा व्यस्त छौं, हामीलाई एकछिन फुर्सद नै हुँदैन’, उनले भने।
राजपुरवाट लमहीमा भैंसी पाल्न आउनुको कारण राप्ती नदी नजिक भएकोले सुख्खा मौसममा पनि पानीको समस्या नहुने र सधै हराभरा भइरहने हुँदा घाँसको पनि अभाव नहुनु रहेको उनी बताउँछन्।
यादवले दूध दिने भैंसीलाई मिलको दाना (ब्राण) पनि खुवाउने गरेको बताए। ‘दूनो भैंसीलाई मात्रै ब्राण ख्वाउँछौं,’ यादवले भने ‘अन्यलाई त हरियो घाँसपात नै ख्वाउने गर्छौ’ उनको घर परिवारवाट अहिले सम्म कोही विदेश गएको छैनन्। ‘विदेश किन जाने,’यादवले भन्छन् ‘मेहनत गर्नेलाई यही काम भ्याइ नभ्याई छ।’
एक घर यादव बाहेक धनपुरुवा पुरै थारु जातिहरुको बसोबास रहेको गाउँ हो। स्थानीय लक्ष्मीप्रशाद चौधरीकाअनुसार यादव परिवार गाउँमा मिलेर बसेका छन्। थारुको घरमा आएर यादवका परिवारले पोलेको मकै, आलु जस्ता खाने कुरा खाएपनि भात खाँदैनन्।
चौधरीकाअनुसार थारुको गाउँमा बसेको भएपनि यादवका घरमा जाँडरक्सी कसैले खाँदैनन्। फरक भाषा र फरक रितिरिवाज भएपनि यादव समुदाय गाउँमा मिलेर बस्दै आएको चौधरीले बताए ।