नेपाल राष्ट्रिय व्यवसायी महासंघले गत २२ गतेबाट न्यूरोड लगायत उपत्यका भरी पसल खोल्ने निर्णय गर्यो। ४ दिन बिहान ८ देखि ११ बजेसम्म निवार्ध खोलिएका पसल मंगलबारबाट भने प्रहरीले बन्द गराइदियो।
प्रहरीसगँको घम्साघम्सी पछि व्यापारीहरु पसल बन्द गर्न बाध्य भए। बुधबार प्रहरीले पसल खोल्न नदिएपछि ब्यापारीहरुले र्याली निकालेर पसल अगाडि धर्नानै बसे।
चार दिन केही नगरेर पाचौं दिनदेखि प्रहरी एकैपटक आक्रामक भएको कारण पसल अगाडि धर्ना दिनु परेको नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले जानकारी दिए।
‘यती समयसम्म त पर्खेकै हो नी। अब त टिक्न पनि नसक्ने भयौं। घरभाडा कसरी तिर्ने, बैंकको लोन कसरी तिर्ने, स्टाफलाई के दिने अनी आफू कसरी बाच्ने,’ पौडेलले भने।
सरकारले लकडाउन गरेर मात्रै समस्याको समाधान हुन्छ भन्ने भ्रम बोकेको उनले आरोप लगाए।
‘प्रर्याप्त टेष्ट गरेको छैन, बोर्डरबाट दिनदिनै मान्छे आइरहेका छन्। कम्तीका कम संक्रमित भएको क्षेत्रमा त लकडाउन खकुलो बनाउनु पर्छ,’ उनले आक्रोस पोखे।
लकडाउन खुकुलो नभए अरु विरोधका कार्यक्रम घोषणा गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले जानकारी दिए।
‘व्यापारीहरुले स्वतस्फुर्त रुपमा विरोध गर्न थालिसके। लकडाउन खुकुलो पार्ने सम्बन्धी मन्त्री परिषदको कुनै ठोस निणर्य भएन भने हामी अरु विरोधका कार्याक्रम ल्याउछौँ,’ कटुवालले सेतोपाटीसगँ भने।
मन्त्रीपरिषद्को निणर्य पालना गर्न पसलहरु बन्द गर्न लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।
‘हामीले माथीको आदेश मान्ने हो। लकडाउन अली बढी उलंघन भयो भन्ने सूचना आएपछि प्रहरी परिचालन गर्यों,’ ज्ञवालीले सेतोपाटीसगँ भने।