पोल्ट्री व्यवसायको राजधानी मानिने चितवनमा पछिल्लो समय मासुको मूल्य अस्वभाविक वृद्धि भएको छ।
लकडाउनको सुरुवातमा प्रतिकेजी २ सय ४० सम्म झरेको बोयलर कुखुराको मासुको मूल्य अहिले ४ सय २० रुपैयाँसम्म पुगेको रत्ननगर स्थित नेत्र एण्ड सुस्मा फ्रेस हाउसका संचालक नेत्र प्रसाद लामिछानेले जानकारी दिए।
लकडाउनको सुरुवातमा भारी मात्रामा गिरावट आएको मासुको मूल्य विगत १५ दिनदेखि ह्वात्तै बढेको उनले बताए।
‘त्यो बेलामा जिउँदो कुखुराको मूल्य प्रतिकेजी १ सय ४० सम्म झरेको थियो। हाल २ सय ९० पुगेको छ,’ उनले भने।
केही हप्ता यता काठमाडौमा पनि मासुको मूल्य बृद्धी भएको भ्याली कोल्ड स्टोरका संचालक हरीकृष्ण रावलले जानकारी दिए।
‘बाहिरको तुलनामा हेर्ने हो भने त यहाँ मासु सस्तो नै हो। तर पनि प्रतिकेजी ३६० मा बेच्नु परेको छ। त्यो महंगो नै हो,’ उनले भने।
सबै व्यवसाय नखुलेको अवस्थामा यो मूल्य अस्वभाविक भएको रावलको भनाइ छ।
‘होटल, पार्टी प्यालेस, पर्यटन व्यवसाय, सबै बन्द छ। तर पनि मासु यति महंगो छ’, उनले भने।
काठमाडौंमा भन्दा चितवनमा मासु महंगो हुनु सामान्य कुरा नभएको नेपाल कुखुरा पालक किसान सघंका अध्यक्ष झनक प्रसाद पौडेलले बताउँछन्।
‘यहाँ भन्दा काठमाडौमा २०–२५ रुपैयाँ महंगो पर्नु पर्ने हो तर यो त उल्टो भयो,’ उनले भने।
पछिल्लो समय उपत्यकामा धदिङ, नुवाकोट, काभ्रेबाट कुखुरा आउने भएकोले चितवनको मूल्यवृद्धीले असर नपारेको रावलको तर्क छ।
मासुको मूल्य आकाशिनुको प्रमुख कारण उत्पादन घट्नु नै भएको पौडेलले बताए।
‘अहिले मासुको डिमाण्ड बिस्तारै बढीरहेको छ तर उत्पादन छैन। सप्लायर्सले पहिले झै दाना, चल्ला उधारो नदिएको कारण कुखुरा हाल्न पाएका छैनन्। यसले पनि मूल्य वृद्धिमा भुमिका खेलेको छ,’ पौडेलले भने।
मासुको मूल्य ४ सय २० पुग्नु अस्वभाविक भएको र सरकारले अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
पोल्ट्री व्यवसायको विषयमा सरकारले गम्भिर रुपमा नसोचे मुलुक भरका पोल्ट्री व्यवसाय धरासायी हुने र अवैध मासु नेपाल भित्रने पौडेलले बताए।
‘किसानले पहिले झै दाना, चल्ला पाउने, फ्रेस हाउस निवार्ध खोल्न पाउने लगायतको व्यवस्था सरकारले गरे मात्र किसानको जोखिम घट्छ। साथै उपभोक्तले सस्तोमा पनि पाउँछन्,’ उनले भने।