त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन्।
अन्तराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
शुक्रबार पनि अन्तराष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५ उडान भएको थियो।
विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो। शनिबारमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।
उनका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौँ ल्याएको छ।
यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौँ ल्याएको छ।
कोरियन एयरले दक्षिण कोरियाबाट २ सय २८ नेपाल काठमाडौँ ल्याएको छ। सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ।
त्यस्तै जजिरा एयरले कुवेतबाट १ सय ५० नेपाली ल्याएको छ। एयरअरेबियाले सारजहाबाट १ सय ६८ यात्रु र बच्चा ल्याएको छ। कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ।
नेपाली यात्रु लिन शनिबारै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
आन्तरिकतर्फ आज श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ।
(रासस)