लकडाउनपछि पोखराको लेकसाइड जति सुन्दर देखिएको छ, त्यति नै यहाँका व्यवसायीको कथा दारूण बनेको छ।
लकडाउन पूर्ण रूपमा नखुले पनि पोखराको पृथ्वीचोक, न्युरोड, नयाँ बजार, महेन्द्र पुल, चिप्लेढुङ्गालगायतका ठाउँ सामान्य अवस्थामा फर्किसके।
लेकसाइड अझै सुनसान छ।
कारोना भाइरस रोक्न भएको लकडाउनपछि अधिकांश पर्यटक आफ्नै देश फर्किए। नेपाली र विदेशी घुम्न आउन पाएका छैनन्। त्यसैले होटल अझै खुलेका छैनन्। अघिपछि मध्यरातसम्म गुलजार हुने लेकसाइड साँझ नपर्दै सुनसान हुन्छ।
यो शून्यतालाई चिर्न नसकेका साना व्यवसायी भने विस्थापित भइराखेका छन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र लकडाउनका कारण ६० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन्। यसरी व्यवसाय छाड्नेमा अर्कैको होटल भाडामा लिएर चलाउनेहरू धेरै छन्।
तीनैमध्ये एक हुन्, लेकसाइडको गौरीघाटस्थित ‘प्यासिफिक गेष्ट हाउस’का सञ्चालक रामप्रसाद भट्टराई। उनले आफ्ना सामान नजिकैको ‘होटल होराइजन’का दुई कोठामा सारे।
होटलको भएको घर मर्मत सम्भार गरिदिएर घरधनीलाई तालाचाबी बुझाइसकेका छन्।
सात वर्षदेखि पोखरामा होटल व्यवसाय गरेका रामप्रसादको व्यवसाय यात्रामा बिराम लाग्यो। १४ वटा कोठा भएको होटल चलाउन उनले सुरूमा ७ लाख लगानी गरेका थिए। होटलको घरधनीलाई छुट्टै ४० लाख एडभान्स बुझाएका थिए।
होटल व्यवसाय छाडेपछि स्याङ्जाको भिरकोटका रामप्रसाद अहिले पोखराकै बिरौटास्थित दाजुको घरमा शरण लिएर बसेका छन्।
उनको परिवार नवलपुरको कावासोतीमा सरेका छन्। अब कावासोती गएर केही गर्ने कि पोखरामै अरू व्यवसाय गर्ने भन्नेमा उनी दोधारमा छन्।
उनी दोधारमा पर्नुको पनि कारण छ। उनीसँग अहिले पैसा छैन। जे गरे पनि लगानी त गर्नै पर्यो। लगानीका लागि उनलाई घरबेटीले फिर्ता गरिदिनुपर्ने एडभान्स रकम १ वर्षपछि मात्र फिर्ता पाउनेछन्।
होटल चलाउनुअघि बुझाएको ४० लाख माग्दा घरबेटीले २०७८ साल जेठ २५ गतेको मिति राखेर चेक दिएको रामप्रसादले बताए।
‘सुरूमा त ३ वर्षपछिको समय राखेका थिए। मैले जिद्धी गरेपछि एक वर्षको म्याद राखेर चेक दिएका छन्,’ उनले भने, ‘अब त्यो पैसा नआउँदासम्म केही गर्न सक्ने अवस्था छैन।’
उनले घरबेटीलाई बुझाएको एडभान्स रकमको हिसाब गर्दा पनि १० लाख बढी त ब्याज नै हुन्थ्यो। तर एडभान्स रकमको घरधनीले ब्याज दिँदैनन्। साँवा पनि एक वर्षअघि नपाउने भए। लकडाउन अवधिको भाडा भने लकडाउन खुलेर व्यवसाय सुरू गरेपछि तिर्छु भन्दा घरबेटीले मान्दै मानेनन्।
घरधनीसँग होटल सञ्चालन गर्ने सम्झौता सकिन १ वर्ष बाँकी नै थियो। लकडाउनले चैतयता व्यवसाय शुन्य भयो। रामप्रसादसहित ५ जना कामविहीन भए।
‘मैले बाध्यताले होटल छोड्नुपर्यो,' रामप्रसादले भने, 'होटलबाटै कमाएर भाडा तिर्ने हो, कमाइ नै नहुने भएपछि होटल छोड्नुपर्ने लाग्यो, छोडें।’
पोखरा आउनुअघि रामप्रसादले भारतमा १६ वर्ष पाँचतारे होटलमा काम गरेका थिए। परिवार भएकाले पनि एक दिन त नेपाल फर्कनु नै थियो। आठ वर्षअघि नेपाल फर्केर उनले काठमाडौंको न्युरोडमा रेष्टुरेन्ट खोले। यो रेष्टुरेण्ट रामप्रसाद र उनको साथी मिलेर सुरू गरेका थिए। एक वर्षजति काठमाडौं बसेपछि उनीहरू एक्ला–एक्लै काम गर्ने निधो गरे। रामप्रसाद पोखरा आएर होटल चलाउन थाले।
उनले होटल चलाउन थालेपछि आएको यो दोस्रो संकट हो।
उनले होटल चलाएको दोस्रो वर्ष भूकम्प आयो। भूकम्पले पर्यटन बजार खस्कियो। त्यसपछि नाकाबन्दी। नाकाबन्दीले पारेको प्रभाव पनि उनले सामना गरे।
यी दुबै संकटका बेला उनलाई सरकारले हेरेन।
'अहिलेको लकडाउनले व्यवसायमा भूकम्प र नाकाबन्दीले पारेभन्दा पनि घाटा पारिदियो यहाँबाट उम्किन होटल चलाउनुभन्दा छोड्नै सहज ठानेँ,' उनले भने।
लकडाउनले पर्यटन व्यवसाय ध्वस्त छ। हवाइ र लामो दूरीका सार्वजनिक यातायात ठप्प बनेका छन्। होटल अझै कति समय बन्द हुने हो उनलाई थाहा छैन।
बन्द होटलको मासिक भाडा १ लाख ४० हजार तिर्न पनि उनीसँग बचत रहेन। होटल जोगाउन उनले घरधनीलाई धेरै प्रस्ताव गरेका थिए, भाडा पछि तिर्नेदेखि छुट दिनेसम्म। तर घरधनी मान्दै मानेनन्। सरकारले दिने भनेको सहुलियत कर्जा आफूसम्म आइपुग्ने उनलाई विश्वास नै लागेन।
‘हामी साना व्यवसायीलाई सरकारले हेर्दैन,' उनले भने, 'जताबाट पनि हामी नै पेलिनुपर्छ।’
उनले घरधनीबाट ठगिएको महसुस अर्को कुरामा पनि गरेका छन्।
‘कागजमा हेर्दा होटल सञ्चालक त घरधनी नै पो रहेछन्,' उनले भने, 'घरधनीको नाममा सबै ठाउँमा कर मैले तिरें, होटल पनि मैले चलाएँ। अहिले आफ्नो नाममा केही भएन। म त मजदुर पो भएको रहेछु।'
त्यतिबेला होटल चलाउन पोखरा आउँदा आफूसँग यसबारे ज्ञान नभएकाले यस्तो भएको उनले बताए।
आफ्नै नाममा होटल दर्ता गर्न उनले गत वर्ष ‘ब्रडवे पोखरा प्रालि’ नामक कम्पनी दर्ता गरे। सोही नाममा उनले होटल चलाउने योजना बनाए। तर घरधनीले होटलको बोर्ड फेर्न पनि दिएनन्। उनले होटलभित्रै कम्पनीको नाम राखेर चलाए।
‘होटल मैले चलाउने, भ्याट किन तपाईंको नाममा तिर्ने भनेर घरधनीलाई भनें,' रामप्रसाद सम्झे, 'अहिले नगरपालिकादेखि होटल संघमा समेत मेरो नाम छैन।’
सरकारको अनुगमन प्रभावकारी नभएकै कारण आफू र आफूजस्ता साना व्यवसायी घरधनीबाटै ठगिने गरेको उनले बताए।
पोखरामा साना/ठूला गरी पर्यटकस्तरका ७ सय होटल छन्। जसमा २ सय ५० वटा होटल घरधनी आफैंले चलाएका छन्। बाँकी होटल भाडामा चलेका छन्। यसरी भाडामा चलेका होटल सञ्चालक घरधनीलाई भाडा तिर्न नसक्ने अवस्था आएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचन बताउँछन्।
होटलमात्र होइन, अन्य व्यवसायमा लागेका साना व्यवसायी पनि अहिले धमाधम आफ्नो व्यवसाय छोडिरहेका छन्। पर्यटकीय केन्द्र मानिने पोखरामा रहेका केही ट्रेकिङ एजेन्सीले व्यवसाय छोड्ने अवस्था आएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेल बताउँछन्।
‘पर्यटक आउने ठेगान छैन, लकडाउन कहिले खुल्ने हो,' उनी भन्छन्, 'व्यवसाय नै नहुने भएपछि भाडामात्र तिरेर बस्न सकिँदैन।’
समस्या परेको बेला समाधान नगर्ने र आफ्नो मात्र हित हेर्ने भन्दै साना व्यवसायी व्यवसाय सम्बद्ध संस्था सरकारप्रति आक्रोशित बनेका छन्।
लेकसाइडकै ‘होटल स्विस होम’का सञ्चालक प्रकाश भट्टराई (जीवराज उपाध्याय)ले साना व्यवसायीलाई कसैले नहेर्ने भन्दै आक्रोश पोखे।
दाङदेखि पोखरा आएर १९ वर्ष होटल व्यवसायमा लागेका प्रकाशले पर्यटन क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका थिए। उनको सम्झौता सकिन अझै १६ महिना बाँकी थियो। तर उनले होटल छाडेर अहिले दाङस्थित घर गएर बस्नुपरेको छ।
होटल सुरू हुनुअघि घरधनीलाई बुझाएको एडभान्स रकम उनले पनि पाएका छैनन्। घरधनीले एडभान्स रकम फिर्ता दिन आनाकानी गरिराखेका छन्। होटलमा भएको सामान पनि सस्तोमा हिसाब गरेर घरधनीलाई नै बुझाएको सञ्चालक प्रकाशले बताए। उनलाई पनि घरधनीले एडभान्स रकम १ वर्षपछि मात्र फिर्ता दिने बताएपछि उनी रित्तै घर फर्किएका हुन्।
प्रकाशको पनि होटल भने आफ्नो नाममा छैन। रामप्रसादझैं उनले पनि घरधनीकै नाममा होटल चलाए। खर्च भने आफूले गरे।
‘हामीलाई साह्रै अन्याय भयो,' उनले भने, हाम्रो पक्षमा बोलिदिने कोही छैन।’
होटल संघलगायत व्यवसाय आवद्ध संघसंस्थाले आफूजस्तो साना व्यवसायीको समस्या बुझ्नै नखोजेको उनले बताए।
‘उहाँहरू पाँचतारे होटल कसरी बचाउने भनेर बहस गर्नुहुन्छ,' उनले भने 'हाम्रो समस्या कसैले बुझ्दैनन्।’
सरकारले दिने भनेको सहुलियत कर्जा पनि माथि ठूला व्यवसायीले ‘खाने’ उनले बताए। तल आइहाले पनि यसरी पाउने सुविधा घरधनीले पाउँछ। किनकी उनको नाममा होटल छैन। यसअघि भूकम्प र नाकाबन्दीका बेलामा समेत कसैले नहेरेको उनी बताउँछन्।
‘हामी डुबेको कसैलाई मतलब छैन,’ उनले भने।
पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचनले भने आफूहरूले समस्या समाधान गर्न सक्दो पहल गरिरहेको बताउँछन्।
‘हामीले कतिपय घरधनीलाई समेत गएर अवस्था बुझाएका छौं,' उनले भने, 'हामीले बोल्दिएनौं भन्ने कुरा साँचो होइन।’
उनले होटल सञ्चालक आफैं सजग हुनुपर्ने उनले बताए।