नेपाल एयरलाइन्सले चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णय गरेको छ।
एयरलाइन्सको सञ्चालक समितिको बैठकले ६ ओटा जहाजको उडान बन्द गर्ने निर्णय गरेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
सञ्चालक समितिले चीनमा निर्माण भएर आन्तरिक उडानका लागि नेपाल ल्याइएका जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा व्यवस्थापनका लागि प्रस्ताव पठाएको छ।
हिमाली तथा पहाडी क्षेत्रका छोटो धावनमार्ग भएका विमानस्थलमा उडाउन मिल्ने वाइ १२ जहाज ४ र लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्न मिल्ने एमए ६० जहाज २ छन्।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार आएका यी जहाज चलाउन नसकिएको, चलाएपनि अधिक घाटा भएको जस्ता कारण देखाउँदै निगम सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।
जहाजको उडान बन्द गर्ने निर्णय गरेसँगै यी जहाजको अपरेशन विभागमा कार्यरत करारमा रहेका कर्मचारीको सम्झौता पनि नविकरण नगर्ने बोर्डले निर्णय गरेको छ। स्थायी कर्मचारीलाई भने अन्य विभागमा व्यवस्थापन गर्ने बोर्डले मन्त्रालयमा पठाएको प्रस्तावमा उल्लेख गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
'बोर्डले चिनियाँ जहाजले प्रत्येक वर्ष ५० करोडको अतिरिक्त भार बोकाउँदै आएकाले चलाउँदा पनि झन घाटा बढ्ने भन्दै उडान रोक्ने निर्णय गरेको छ। यसको हामी अध्ययन गर्दैछौ' मन्त्रालयका एक अधिकारीले सेतोपाटीसँग भने।
कसरी आएका थिए जहाज?
२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच जहाज खरिद बिक्री तथा ऋण लगानी सम्बन्धि सम्झौता भएको थियो।
जसअनुसार चीनमा निर्माण भएका जहाज नेपाल एयरलाइन्सले ल्याउने व्यावसायिक सम्झौता २०७० सालमा भयो। सोही सहमति अनुसार चिनियाँ पक्ष नेपाल एयरलाइन्सलाई २ जहाज अनुदानमा दिन सहमत भयो।
२ वटा अनुदानमा पाएको जहाजसँगै नेपालले चीनसँग सहुलियत ऋणमा थप चार जहाज किन्ने सहमति गर्यो। यसपछि पहिलो जहाज २०७१ मा आएको थियो भने अन्तिम जहाज २०७५ मा।
सम्झौताको केही समयसम्म नेपाल एयरलाइन्सका अधिकारीहरुले अनुदानको नाममा संस्था नै धरासायी बनाउनसक्ने जहाज ल्याउन नहुने भन्दै विरोधमा थिए। तर सरकारी सम्झौता भएकाले एयरलाइन्ससँग जहाज स्वीकार गर्नुको विकल्प थिएन।
जहाज आए। जहाज त आए र नियमित उडेनन्। जहाज थपिएपछि घरेलु बजारमा उसको प्रतिष्पर्धा बढ्नु पर्ने थियो तर यी जहाज आएपछि उल्टै एयरलाइन्सलाई बर्षेनी ५० करोड भन्दा बढी नोक्सानी थपियो।
आजसम्म एयरलाइन्स यात्रुलाई सेवा नदिइकनै नोक्सानी बेहोर्दै बसिरहेको छ।
यी जहाज चलाउन भनेजस्तो सजिलो नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्।
चीनबाट आएका ६ मध्ये अहिले २ जहाजमात्र कहिलेकाहीँ उडिरहेका छन्।
यी जहाजका पाटपुर्जा चीनबाट मात्र ल्याउन सकिन्छ। पाटपुर्जा समयमा पाउनु यी जहाज चलाउँदा आइपर्ने मुख्य समस्या हो। जहाजमा प्राय: प्राविधिक समस्या आइरहन्छन्। एटिआर,ट्वीनटरजस्ता जहाजको पाटपुर्जा नेपाल र नेपालबाहिर जहाँ पनि सहजै पाइन्छ। तर चिनियाँ जहाजका लागि आवश्यक पुर्जा चीनमा मात्र पाइन्छ।
दुबै देशबीच भएको सम्झौताअनुसार चिनियाँ कम्पनीले काठमाडौंमै पुर्जाको स्टक राखिदिने सम्झौता गरेको थियो। तर त्यो अहिलेसम्म पनि कार्यान्वयन भएको छैन। अर्को मुख्य समस्या पाइलटको हो।
जहाज उडानै नसक्ने भएपछि नेपाल एयरलाइन्सले एकपटक भाडामा दिने योजना पनि बनाएको थियो। तर सरकारको साथ नपाएपछि त्यो योजना अहिले थन्किएको थियो। तर यसपालि अध्यक्ष भएर आएका शुशिल घिमिरेले भने जहाज चलाउन नसकिने निर्णय गराएका छन्।
एयरलाइन्सले एमए ६० को लागि १ अर्ब ६५ करोड को लागि ऋण लिएको छ भने वाइ १२ इ एउटाको लागि ४७ करोड २७ लाख लिएको छ। यस बाहेक जहाज किनेदेखि २ अर्ब जति नोक्सानी यी जहाजबाटै भएको एयरलाइन्सले हिसाब निकालेको छ।