चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ।
बजेटबाट खासै उत्साहित नबनेको निजी क्षेत्रले मौद्रिक नीतिमा सकारात्मक प्रतिक्रिया दिएको छ। व्यवसायीहरूले सुरूदेखि नै कर्पोरेट क्षेत्रलाई मौद्रिक नीतिले नै राहत दिनसक्ने प्रतिक्रिया पनि दिँदै आएका थिए।
गभर्नर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीतिले निजी क्षेत्रबाट भने व्यापक समर्थन पाएको छ। यद्यपी यसको कार्यान्वयनसम्म पर्खनुपर्ने व्यवसायीले बताएका छन्।
मौद्रिक नीतिका बारेमा हामीले केही उद्योगी-व्यवसायीहरूसँग प्रतिक्रिया लिएका छौं। उनीहरूको प्रतिक्रिया यस्तो छ:
भवानी राणा,अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सर्वप्रथम राष्ट्र बैंकलाई धन्यवाद दिन चाहन्छु। महासंघले उठाएका मागलाई मौद्रिक नीतिले समेटेको छ। हामीले ऋणको पुनर्संरचना, पुनर्कर्जा र ब्याजदरका बारेमा जोड दिएका थियौं। व्यवसायीका ऋण १ महिनादेखि ६ महिनासम्म सारिएको छ। उद्योगीलाई थप कर्जा सुविधा पनि दिने घोषणा भएको छ। ब्याज पनि घटाइएको छ। यो सबै कार्यान्वयन भएको अवस्थामा निजी क्षेत्रले राहत महशुस गर्ने छन्।
शतिश मोर,अध्यक्ष, नेपाल उद्योग परिसंघ
मौद्रिक नीति एकदम राम्रो आएको छ। सिएनआइले राखेका माग सबै समायोजना गरेर आएको छ। अब यसको कार्यविधि बनाउँदा सहज र सजिलो प्रक्रियामा बनाए कार्यान्वयन गर्न सकिन्छ। कतिपय कुरामा अझै सुधार गर्न सकिन्छ।
नीतिका हिसाबले अहिलेलाई 'पर्फेक्ट' छ। जसरी नीतिका लागि हाम्रा सुझाव मनन गरियो त्यसैगरी कार्यविधि तथा कार्यान्वयनमा जाँदा पनि गरियो भने यसले सुखद नतिजा ल्याउने छ भन्ने मेरो विश्वास छ।
पवन गोल्यान, अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ
समग्रमा हेर्दा मौद्रिक नीति राम्रो छ। तर यसको कार्यान्वयन पक्षमा भर पर्छ। यसले बैंक, पर्यटन, कृषि लगायत क्षेत्रलाई विशेष राहत दिएको छ। मौद्रिक नीतिले केही राहत दिएको महशुस भएको छ। बैंकले कुल ऋणको १५ प्रतिशत लगानी कृषिमा गर्नुपर्ने भनेकाले कृषिका लागि अब पुँजी अभाव हुँदैन। पुँजीसँगै बजार र संरचनाको पक्ष पनि बलियो भयो भने कृषि राम्रोसँग फस्टाउँछ।
कृष्ण प्रसाद दुलाल, अध्यक्ष, नाडा-अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
यसपालिको मौद्रिक नीति धेरै राम्रो लाग्यो। यो मौद्रिक नीतिले घरजग्गा, पर्यटन, कृषी, उद्योग, साना तथा लघु उद्यम लगायतलाई धेरै राहत दिएको छ। कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण र कर्जाको म्याद थपले व्यवसायीलाई हौसला मिलेको छ।
तर यो मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रलाई भने सौताको छोरा जस्तो व्यवहार गरेको छ। यो क्षेत्र पनि कोभिड–१९ बाट अति प्रभावित क्षेत्र हो। हामीले डाउन पेमेन्ट १० प्रतिशत बनाउनुपर्छ भनेर सुझाव दिएका थियौं तर ५० प्रतिशत नै कायम गरिएको छ।
कर्जामा पुनर्तालिकीकरणले गर्दा पुराना ऋणीलाई सहुलियत भए पनि नयाँ ऋणीको लागि कुनै सम्बोधन भएन। यो विषयमा भने हाम्रो आपत्ति छ।
पशुपति मुरारका, व्यवसायी
समग्रमा हेर्दा यो पटकको मौद्रिक नीति राम्रो छ। मौद्रिक नीतिले हाम्रो अपेक्षा धेरै हदसम्म सम्बोधन गरेको छ। कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसाय सुचारू गर्न चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने, कर्जाको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायतको विषय स्वागत योग्य छ।
ब्याज घट्दा नयाँ व्यवसाय फस्टाउने सम्भावना उच्च हुने भएकाले राष्ट्र बैंकको यो रणनीति निकै राम्रो मान्नु पर्छ। त्यस्तै वाणिज्य बैंकहरूले कुल कर्जाको कृषिमा १५ प्रतिशत, उर्जामा १० लगानी गर्ने विषय निकै राम्रो लाग्यो।
डिएपी र डिएए सम्बन्धी व्यवस्था बमोजिम आयात गर्दा प्रदान गरिने विदेशी मुद्राको सटही सीमा ५० हजार अमेरिकी डलर कायम गरिएकाले भने व्यवसायीलाई केही समस्या पर्छ। तर समग्रमा भन्दा यो मौद्रिक नीतिले उकुसमुकुस भएका व्यवसायीलाई राहत मिलेको छ।
चन्द्रप्रसाद ढकाल, व्यवसायी
हामीले महासंघबाट दिएको सुझाव करिब–करिब सम्बोधन भएको छ। अहिलेको समय व्यवसाय बढाउनेभन्दा जोगाउनेमा केन्द्रित हुनुपर्छ। कोभिड-१९ ले असर पारेका साना तथा मझौला उद्योग, पर्यटन लगायत व्यवसायलाई कर्जाको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायत कुराले राहत दिएको छ।
अन्जन श्रेष्ठ, व्यवसायी
मौद्रिक नीतिले समग्रमा राम्रै कुरा ल्याएको छ। कृषिदेखि जलविद्युतसम्म आत्मनिर्भर हुन लगानी बढाउने जुन कुरा गरिएको छ, त्यसका लागि केही आधार पनि तय गर्ने कुरा गरिएको छ।
कोभिडबाट सिर्जित समस्याका लागि पर्यटन लगायतका व्यवसायलाई राहत दिने, साना तथा मझौला व्यवसायलाई सहुलियत दिने कुरा हामीले माग गर्दै आएको हो। त्यसैले समग्रमा राम्रै भएको हो।
तर पनि हामी यसको कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। किनभने कार्यान्वयन भएन भने नीति जतिसुकै राम्रो भए पनि केही हुँदैन। त्यो हेरिनुपर्छ।