कोरोना रोकथामका लागि भएको लकडाउनले धेरैको व्यवसाय धरापमा परेका छन्।
पर्यटकीय सिजनमै लकडाउन हुँदा पर्यटन क्षेत्रमा धेरै असर परेको व्यवसायीहरूले नै बताउने गरेका छन्।
होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अनुसार पोखरामा झण्डै ७० वटा साना होटल भने बन्द भइसकेका छन्।
होटल सञ्चालकहरूले व्यवसाय छाडेर घर गएको हान पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले बताए।
पोखरामा झण्डै ७ सय वटा पर्यटक स्तरका होटल छन्। जसमा झण्डै आधा जसो भाडामा जमिन वा भवन लिएर सञ्चालनमा छन्।
बन्द भएका धेरैजसो साना व्यवसायीले घर भाडा समेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसाय नै बन्द गर्नुपरेको तुलाचन बताउँछन्।
पोखराका एक जना जग्गाधनीले भने आफ्नो जग्गामा सञ्चालन भएको रिसोर्टलाई एक वर्षसम्म भाडा तिर्न नपर्ने गरी सुविधा दिएका छन्।
पोखरा ६ लेकसाइडस्थित बगैंचा रिसोर्टका जग्गाधनीले १ वर्षसम्म भाडा तिर्न नपर्ने गरी सुविधा पाएका हुन्।
लकडाउनका कारण व्यवसाय नै धरापमा परेको भन्दै जग्गाधनी इन्द्रबहादुर गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङले ३ महिनासम्मको भाडा नलिने बताएका छन्।
यस्तै, एक वर्षसम्म जग्गा भाडामा ५० प्रतिशत छुट दिने र बाँकी ५० प्रतिशत रकम पनि यसअघि नै बुझाएको धरौटीबाट कटाउने भएका छन्।
‘म टाइम टु टाइम रिसोर्टमा जान्छु, हालत हेर्नुस् त त्यहाँको’, इन्द्रबहादुरले सेतोपाटीलाई भने, ‘हेर्दै दिक्क लाग्दो अवस्था छ त्यही भएर छुट दिएँ।’
होटल मर्मत सम्भार गर्ने बेला भएको समेत उनले बताए।
‘लामो समय होटल चलेको छैन, बगैंचा पनि बनाउनुपर्नेछ’, उनले भने, ‘नचलेपछि ढुसी लाग्छ, जाम हुन्छ, उनीहरूलाई धेरै गाह्रो छ नि।’
होटल सञ्चालकसँग बैठक बसेर नै जग्गा भाडा छुट दिने निर्णय गरेको उनले बताए।
रिसोर्ट सञ्चालकहरूले पनि छुट दिन अनुरोध गरेपछि आफूले छुट दिएको गुरुङले बताए।
बगैंचा रिसोर्ट ४ वर्षअघिदेखि सञ्चालनमा आएको हो।
व्यवसायीहरू पोमनारायण श्रेष्ठ, वैभव पौडेल र सौगात थापा मिलेर १३ करोड रुपैयाँको लगानीमा उक्त रिसोर्ट सञ्चालन गरेका हुन्।
रिसोर्ट चलाउन उनीहरूले इन्द्रबहादुरसँग २५ वर्षका लागि जग्गा भाडामा लिएका थिए।
रिसोर्ट सञ्चालकले जग्गाधनीलाई मासिक १ लाख १५ हजार भाडा तिर्छन्।
‘जग्गाधनीले बोलाएर हामीलाई छुट दिने बताउनुभयो, हामीलाई खुसी लागेको छ’, रिसोर्टका सञ्चालक पोमनारायणले भने, ‘रिसोर्ट चलाउन नपाएको बेला जग्गाधनीले सहयोग गरेपछि हामीले धन्यवाद दियौं।’
रिसोर्टका जग्गाधनी इन्द्रबहादुर ब्रिटिस आर्मीका भूतपूर्व हुन्।
ब्रिटिस आर्मीमा २८ वर्ष बिताएर क्याप्टेन दर्जामा ३० वर्षअघि नै अवकास लिएका थिए। उनले उक्त रिसोर्ट चलेको जग्गा आफ्नो नभई श्रीमतीको नाममा रहेको बताए।
‘त्यो मेरो जग्गा होइन, श्रीमतीको हो’, उनले भने, ‘श्रीमतीकै अनुमतिमा रिसोर्टलाई भाडा छुट दिएको हुँ।’