रोल्पाको गंगादेव गाउँपालिका- ३ स्थित जिनावाङका ४५ वर्षीय लोकमणि वली द्वन्द्वकालमा माओवादी कार्यकर्ता थिए। वली अहिले नेकपाका जिल्ला सदस्य तथा जिल्ला समन्वय समिति रोल्पाका सदस्य छन्।
जिल्ला नेताको परिचयबाहेक उनको अर्को परिचय पनि छ- बाख्रा फार्मका सञ्चालक अर्थात् व्यवसायी।
२०५२ सालदेखि २०५७ सम्म ५ वर्ष लडाइँमा हिँडे।
पछि बिरामी परेर उपचार गर्न भारतको राजस्थान पुगे। उपचारको क्रममा उनले आश्रयस्थल भने उनले रहिउदिम गोट फार्ममा पाए।
निको भएपछि नेपाल फर्केनन् बरू सोही फार्ममा काम गर्न थाले। करिब १७ महिना जति त्यही बाख्रा फार्ममा बसे।
त्यो फार्ममा १६ सय बाख्रा पालेको थियो। बाख्रा पालनबारे उनले राम्ररी बुझ्न पाए। आफ्नै गाउँमा बाख्रापालन गर्ने सपना देख्न थाले।
उनलाई भारतमा बसिरहन मन लागेन। आफूले तीनमहिना काम गरेको पारिश्रमिकबाट २ वटा बाख्राका पाठा किने। जम्मा चार हजार आठ सय पर्यो। आजभन्दा २३ वर्ष अघि उनले तिनै दुइटा बाख्राबाट आफ्नो व्यवसायिक बाख्रा पालन सुरू गरे। फार्म समेत खोले। उनको फार्म अहिले प्रदेश ५ भरीकै नमुना बाख्रा फार्म बन्न सफल भएको छ।
वलीको घरमा स्थानीय जातका बाख्रा पहिले पनि हुन्थे।
उनले भारतबाट ल्याएका ती दुई बाख्राका पाठी बारबेरी जातका थिए। केही वर्षमै ती जातका बाख्रा २३ वटा पुग्यो।
यस क्रममा उनले जमुना पारी जातको बाख्रा पनि किने। अहिले साढे दुई सय बोयर जातको बाख्रा पालिरहेका छन्।
२३ वर्षअघि बाख्रा पालन सुरू गरेपनि उनले २०७२ मा फार्म दर्ता गरेका हुन्।
गाउँमा बाख्राको गोठ काठको बनाउने चलन छ तर वलीले भने फलामबाट आधुनिक तरिकाले निर्माण गरेका छन्।
‘खोर मैले आफैले बनाएको हुँ,’ वलीले भने ‘राजस्थानमा देखेको आधारमा यी सबै खोरहरू तयार पारेँ।’
राजस्थानको बाख्रा फार्मको नमुना उनले कापिको पानामा चित्र उतारेर ल्याएका थिए। सोही आधारमा मिस्त्रीहरूसँग सल्लाह गरेर बाख्राको खोर तयार पारे।
खोरको भित्री भाग बनाउन ३८ लाख ८२ हजार ८ सय ७० रूपैयाँ र बाहिरी भाग निर्माण गर्न १४ लाख रूपैयाँ खर्च लागेको वलीले बताए।
यो दुई प्रकारको खोरमा अहिले साढे दुई सय बाख्रा छन्।
‘अहिले खोरमा दुई सय ५० बाख्रा छन्,’ वलीले भने ‘केही दिनअघि ५० बढी बिक्रि भए।’
एउटा बाख्रालाई कम्तिमा २५ हजार र बढीमा एकलाखसम्म बिक्रि गर्ने गरेको उनी बताउँछन्। दुई महिनाको बोयर जातका पाठीलाई कम्तिमा दश हजारमा बेच्ने गर्छन्।
लोकलमा क्रस गरेको बोयरको ठिमाहा जातको मासु प्रति किलो आठ सय, बोयर टु बोयर ७५ प्रतिसत क्रस गरेर निकालेको खसीको मासु किलोको १ हजार ५ सय देखि २ हजार ३ सय पर्छ।
त्यस्तै ८२ प्रतिशत, ९५ प्रतिशत बोयर वा सत प्रतिशत बोयर जातको खसीको मासुको पनि आ–आफ्नै दररेट छ।
उनले अहिलेसम्म ७५ प्रतिशत बोयर जातको खसीको मासु मात्रै बिक्रि गरेका छन्। अहिले वलीको फार्ममा सबै खसी बाख्रा बोयर जातका मात्रै छन्।
२५ प्रतिशत बोयरदेखि सत प्रतिशत बोयर जातको बाख्रा उनको फार्ममा हुर्कीरहेका छन्। लोकल जातको बाख्रा र बोयर जातको बाख्रा पाल्दा धेरै फरक हुने उनी बताउँछन्।
वलीकाअनुसार लोकल जातको बाख्रो पाठापाठी जन्मिदा नै डेढ/दुई केजीको हुन्छ। बोयर जातको जन्मिदा नै चारदेखि ६ केजी सम्मको हुन्छ।
‘बोयरको बृद्धि दरपनि दोब्बर बढी हुन्छ, यो जातको पाठापाठी मासिक ५ केजीका दरले बढ्ने (मासु हाल्ने) गर्छ,’ उनले भने, 'बोयरको मासु केही स्तरीय हुन्छ भन्ने छ।'
अहिले विभिन्न जातका खसी बोका किन्न मानिसहरू उनको फार्म खोज्दै आइपुग्छन्। अहिलेसम्म उनले पाठापाठी, बोका र बाख्रा बिक्रि गर्न लैजानु नपरेको बताए।
उनले वन जंगलबाट घाँस ल्याउन दुई जना कामदार राखेका छन्। घर परिवारका सदस्य पनि काममा खटिन्छन्।
चराउन लैजाँदा बाख्रा पानीमा भिज्यो भने समस्या हुने उनी बताउँछन्।
‘बाख्राले पानीमा भिजेको मन पराउँदैन,’ वलीले थपे ‘वन जंगलमा चराउन लैजाँदा पानी पर्ने र घाम लाग्ने भइरन्छ। त्यो तातो र चिसोले बाख्रालाई निमोनिया हुने डर हुन्छ।’
सुरूका धेरै बर्ष वलीले पनि वन जंगलमा आफ्ना बाख्रा चराउन लैजान्थे। त्यसले गर्दा बाख्रा विरामी भएर मर्थे। जसले उनलाई निकै नोक्सान हुन्थ्यो।
अहिले उनी वनमा चराउन लैंजादैनन्। स्टल फिडिङ अर्थात सबै बाख्रालाई गोठ भित्रै बाँधेर दाना, घाँस,पानी दिने गर्छन्। यसले बाख्राको मृत्युदर घटेको उनको अनुमान छ।
अहिलेसम्म उनले बाख्रालाई बजारको दाना खुवाउँदै आएका छन्। वलीले अब आफैंले मेसिन ल्याएर स्थानीय उपजबाटै दाना बनाउने सोचेका छन्।
विदेश गएर दुःख गर्नु भन्दा स्वदेशमै परिवारका साथमा केही इलम गर्नु राम्रो हुने वलीको बुझाइ छ।
‘बाहिरबाट दश रूपैयाँ कमाएर ल्याउनु भन्दा स्वदेशमै केही इलम गरेर दुई रूपैयाँ कमाएको राम्रो हो,’ वली भन्छन्, ‘वर्षमा नेपालमा ठूलोठूलो मूल फूट्छ र पछि सुक्छ। बाहिरको कमाई पनि बर्खे भेल जस्तै हो।’
वलीकाअनुसार स्वदेशमै व्यवसाय गर्दा सदाभरका लागि परिवारका सदस्यले पनि काम सिक्ने अवसर पाउँछन्। सही कर्ममा लाग्छन्।
नेकपाका नेता तथा जिल्ला समन्वय समितिका सदस्य समेत रहेका वलीले देश निर्माणको लागि पहिले परिवार, टोल, समाजमा इलम आवश्यक रहेको बताए।
आफूले बाख्रा पालन गरेर सबैलाई व्यवसायिक बन्न उत्प्रेरणा थपेको उनले बताए।
प्रदेश ५ का १२ जिल्लामा यतिधेरै संख्यामा बोयर जातका बाख्रा पालेको अन्त देखिएको छैन।
प्रदेश सरकारको भूमि तथा कृषि ज्ञान केन्द्रबाट चार लाख र गाउँपालिकाबाट खोर सुधारको लागि दुई लाख एकपटक र अर्कौ एकपटक २५ हजार अनुदान लिएको वलीले जानकारी दिए।
पछिल्लो समय स्मार्ट कृषि कार्यक्रमले दश बोरा सिमेन्ट र बालुवा भकारो सुधारको लागि प्रदान गरेको छ।
‘म अनुदानको पछि लागेको छैन,’ वलीले भने ‘मेरो ध्यान व्यवसायलाई कसरी फस्टाउने भन्ने मै केन्द्रित छ।’
उनले बाख्रा फार्म सुरू गर्दा कृषि विकाश बैंकबाट १५ लाख ऋण लिएका छन्। गाउँघरबाट थप ५ लाख जति ऋण लिएका छन्।
बाख्रा पालन व्यवसाय गर्नुपूर्व वलीलाई कसैले पनि पत्याउँदैनथे रे।
'ऋण सापट खोज्दा गाउँघरका मानिसहरूले पनि दिँदैनथे। बैंकले त झनै पत्याउने कुरै थिएन। तर अहिले मलाई सबैले सहजै सहयोग गर्छन्,' उनले भने।
उनीबाट प्रभावित भएर उनको वडामा अरूले पनि बाख्रा फार्म खोलेका छन्। उनका अनुसार वडामा ६ वटा बाख्रा फार्म छन्।
सय वटा बाख्रा पाल्ने एक किसानले खर्च कटाएर बार्षिक ५/६ लाख आम्दानी लिनसक्ने वलीको भनाइ छ।
आफूले वार्षिक १७/१८ लाखको कारोबार गर्ने गरेको भएपनि खर्च कटाएर ८/९ लाख आम्दानी गर्ने गरेको उनले बताए।
बाख्रापालनले उनको आर्थिक अवस्था निकै सुधारीयो। अहिले फार्मको आम्दानीले छाराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन सहयोग पुगेको उनको भनाइ छ। वलीका एक छोरा काठमाडौंमा विडिएस पढ्छन् भने अर्का छोरा पाल्पामा भेट्नरी पढिरहेका छन्। र एक छोरी काठमाडौंमा रेडियोग्राफिष्ट पढिरहेकी छन्।