चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ।
विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो।
‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ। यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल र रिसोर्टहरूको शीर्ष १० प्रतिशतमा परेको मेघौली सेराईलाई सम्मानित गरेको हो।
'यस सम्मानबाट हामी धेरै खुशी छौं, हामीलाई समर्थन गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहान्छौं,' ‘लाइफस्टाइल कलेक्टिभ’का सीओओ प्रीत सिंहले भने 'अहिले हामी पर्यटनको नयाँ आयाममा प्रवेश गरिरहेका छौं, यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ।'
सीजी हस्पिटालिटी एसिया, अफ्रिकादेखि मध्यपूर्वसम्म फैलिएको छ । सीजी हस्पिटालिटीका १० वटा राष्ट्रमा रहेका १०६ होटलमा विभिन्न ब्रान्ड र वर्गअन्तर्गत ५ हजार ५ सय १२ कोठा उपलब्ध छन्।
सीजी हस्पिटालिटीद्वारा सञ्चालित मेघौली सेराई विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदी किनारमा स्थापित पाँचतारे जंगल लज हो।
यसअघि मेघौली सेराईलाई ‘साउथ एसियन ट्राभल अवार्डस् २०१८’ अन्तर्गत दक्षिण एसिया र नेपालको सर्वश्रेष्ठ वाइल्डलाइफ रिसोर्ट÷होटल अवार्डले सम्मानित गरिएको थियो।