हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज यो वर्ष घरभित्रै सिमित भएको छ।
तीजका लागि मठ मन्दिर र शक्तीपीठहरुमा लाग्ने भीड यो वर्ष देखिएको छैन। कोरना भाइरस महामारीका कारण पुजापाठ,नाचगान हुने यो चाड रौनक देख्न पाइएको छैन। विशेषगरी काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा तीजको रौनक ठप्प भएको हो।
सामन्य अवस्थामा तीज जसरी मनाइन्थ्यो त्यसका कारण बजार पनि चलायमान हुन्थ्यो। ठूला सहर बजार क्षेत्रमा मनाउने तीजले बजारलाई पनि चलायामान बनाउथ्यो। तर महामारीका कारण यी सबै कुरालाई प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारीणी समिति सदस्य रहेकी सौन्दर्य व्यवसायी कमला श्रेष्ठ बताउछिन्।
'महामारीले पुरै समाजलाई प्रभावित बनाएको छ। तीजमा हुने रमाइलोमा ब्रेक लागेको छ। यसकै कारणले बजारमा चुरापोतेदेखि सुनसम्मका हुने कारोबार रोकिएका छन्। सौन्दर्य व्यवसायको त मुख्य सिजन नै यहीबाट सुरु हुन्थ्यो। होटल रेष्टुरेन्टदेखि पार्टीप्यालेसहरु भरिभराउ हुने यो सिजन यो वर्ष शून्यमै रह्यो। यसले व्यापार तथा उपभोगमा पारेको प्रभावले अन्तत: आम मान्छेको दैनिकीसम्म प्रभाव विस्तार गर्छ' श्रेष्ठले भनिन्।
यो वर्षको तीज अर्थतन्त्र करिब ठप्प नै भयो। तीजमा गरगहनादेखि कपडासम्मको ठूलो व्यापार हुने गरेको थियो। श्रृंगारापटारदेखि खानपिनसम्म तीजमा खपत बढ्ने गरेको थियो।
नेपालको अर्थतन्त्रमा तीजदेखि उपभोगको बक्र उकालो लाग्थ्यो। तीजबाट उकालो लागेको उपभोग छठसम्म जान्थ्यो। तर यो वर्ष भने तीज अर्थतन्त्र ठप्प भएको छ।