विदेशबाट उद्धार गरि ल्याइएका नेपालीलाई राख्ने होटलको गुणस्तर हेर्न होटल व्यवसायी महासघं नेपालले अनुगमन समिती बनाएको छ।
साना तथा मझौला होटलहरुको महाघंको मापदण्ड अनुसार खाने, बस्ने, सरसफाई, इन्टरनेट, तातो/चिसो पानी लगायतको सुविधा दिएको छ की छैन भन्ने अनुगमन गर्न आज समिती बनाइएको महासघंका सचिव शंकर भण्डारीले जानकारी दिए।
‘पहिले त सरकारले तारे होटललाईमात्र सर्ट लिस्टमा राखेको थियो। धेरै दवाव पछि हाम्रा १ सय २२ होटललाई पनि लिस्टिङ गरियो। अब हाम्रो जिम्मेवारी भनेको याहाँ आउने प्रत्येक व्यक्तीलाई राम्रो भन्दा राम्रो सेवा दिने हो,’ भण्डारीले सेतोपाटीसगँ भने।
कुनै होटलले महासघंको मापदण्ड अनुसारको सेवा नदिए त्यस्ता होटलमा मान्छे नपठाइने उनले बताए।
‘दिनको चार पटक राम्रो खाना/नास्ता, वाइफाई, टिभी, एटेच बाथरुम, सरसफाई लगायत हाम्रा न्यूनतम मापदण्ड हुन्। हाम्रो अनुगमनमा यी कुनै पनि कुरामा कम्प्रोमाइज भएको पायौ भने त्यो होटलमा मान्छे पठाउँदैनौ’ उनले भने।
भण्डारीकाअनुसार गेष्टले यो सेवाको होटरको स्तर हेरेर दैनिक १ हजार ५ सय देखि ३ हजार ५ सयसम्म तिर्नुपर्ने छ।
‘साना तथा मझौला होटलका कोठामा सिङगल बस्दा प्रतिव्यक्ती १ हजार ८ सय र अर्को मान्छेसँग सेयरिङ गर्दा १ हजार ५ सय, पर्यटकीय होटलमा सिङगल बस्दा २ हजार ५ सय र सेयरिङ गर्दा १ हजार ७ सय ५० र स्टार बुटिक होटलमा सिङ्गल बस्दा ३ हजार ५ सय र सेयरिङ गर्दा २ हजार शुल्क तिर्नुपर्छ,’ उनले भने।
हाल १ सय १२ ओटा होटल मात्रै चयन गरिएको भएपनि सरकारलाई चाहिएको अवस्थामा उपत्यकामा १ हजार ५ सय ४६ ओटा होटल तयारी अवस्थामा रहेको उनले जानकारी दिए।