एक महिनाअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० रूपैयाँ पाएपछि तारकेश्वरका कुखुरा पालक किसान राजन अधिकारीले तीन हजार चल्ला थपेका थिए।
करिब ४५ दिन स्याहार गरेपछि कुखुरा बेच्ने बेला भयो। उनले सोचे- मूल्य राम्रो पाइएला।
तर, उनले सोचेजस्तो लक्षण देखिएन।
त्यतिखेर प्रतिकेजी २ सय ७० रूपैयाँ पाएर हौसिएका उनी अहिले प्रतिकेजी १ सय ८० रूपैयाँ मात्र पाउँछन्। त्यो मूल्यले आफ्नो लागत पनि नउठेको उनी बताउँछन्।
‘राम्रो मूल्य पाएको देखेर महँगो चल्ला हालें, अहिले लागत पनि उठेन,’ उनले गुनासो गरे।
उनले एक महिनाअघि प्रतिचल्ला ७१ रूपैयाँका दरले हालेका थिए। एक महिनाको अवधिमा प्रतिकेजी ९० रूपैयाँ घट्दा राजनमात्र होइनन्, धेरै कुखुरा पालक किसान निराश भएका छन्।
उत्पादन बढी र माग कम हुँदा कुखुराको मूल्य घटेको कीर्तिपुरका किसान सुशील भट्टराई बताउँछन्। उनका अनुसार लकडाउनको सुरूआतमा धेरै किसानले घाटा खाएर चल्ला हालेनन्।
बीचमा उत्पादन कम भएर मूल्य बढ्यो। मूल्य बढेपछि धेरै किसाले चल्ला हाले तर उत्पादन बढी भएपछि कुखुराको मूल्य फेरि घटेको छ।
भट्टराईले कुखुरा पालन गरेको एक वर्ष भयो। एक वर्षको अवधिमा पहिलो पटकमात्र २० हजार रूपैयाँ फाइदा भएको उनी बताउँछन्।
‘पहिलो लटमा फाइदा भयो। दोस्रो लटमा साँवामात्र उठ्यो। तेस्रो लटमा डेढ लाख घाटा भयो, यो पटक दुई लाखभन्दा बढी घाटा हुने भयो,’ उनले सुनाए, ‘पहिला घाटा भएर हालेको थिइनँ। लकडाउन खुलेको बेला मूल्य राम्रै आएको देखेर फेरि हालें, फेरि मूल्य घट्यो, मैले चल्ला हालेपछि मूल्य घट्छ कि के हो!’
सरकारले कुखुराको मूल्य तोकिदिए किसान घाटामा नजाने उनले बताए।
‘कुखुरा बेच्न नेपाल आर्मीमा भर्ती हुन गएको जस्तो छ। कहिले छाती पुगेन, कहिले तौल पुगेन भनेर व्यापारीले त्यसै फर्कादिन्छन्, हामीलाई कसले न्याय दिन्छ,’ उनले भने।
कुखुराको मासुको खपत हुने होटल, रेष्टुरेन्ट बन्द भएकाले कुखुराको मूल्य घटेको राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। उनका अनुसार २ गतेदेखि ७ सम्म कुखुराको मासुको मूल्य प्रतिकेजी २ सय ७० रूपैयाँ थियो भने ८ गते प्रतिकेजी २ सय ५५ रूपैयाँमा झरेको छ।
कुखुराको मासूको मूल्य अझै घट्ने व्यवसायीहरू बताउँछन्। बजारमा कुखुरा मासुको माग घट्दै गएपछि मूल्य पनि घट्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्कीले बताए।
मानिससँग पैसा नहुनु र आर्थिक मन्दी लाग्नाले मासुको व्यापार घटेको उनी बताउँछन्।
‘कोरोनाले गर्दा मानिसको काम गरेर खाने ठाउँ बन्द भएको छ। आम्दानी नभएपछि मासु किनेर खाने ग्राहक पनि घटेका छन्,’ उनले भने। मासुको खपत हुने ठाउँ बन्द हुने र आर्थिक चहलपहल नहुने हो भने मासुको मूल्य अझै घट्ने उनी बताउँछन्।
उनका अनुसार मंगलबार बजारमा कुखुराको मासु प्रतिकेजी २ सय ५५ रूपैयाँमा कारोबार भएको छ। दिनप्रतिदिन कुखुराको मासुको मूल्य घट्दै जाँदा किसान मारमा पर्ने उनले बताए।