सरकारले दूध तथा दूधजन्य पदार्थको बढी व्यापार हुने समय तीजमै निषेधाज्ञा गर्दा आफूहरू घाटामा गएको डेरी उद्योगीहरूले बताएका छन्।
सरकारले निषेधाज्ञामा दूधजन्य पदार्थको गाडीलाई निर्वाध चल्न दिएपनि साना खुद्रा डेरी पसल खोल्न नदिँदा दूधजन्य पदार्थको खपत हुन नसकेको उनीहरूको भनाइ छ।
तीजमै निषेधाज्ञा हुँदा दूधजन्य पदार्थ धेरै स्टक रहेको नेपाल डेरी एसोशिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए।
‘हामीले तीजकै लागि भनेर धेरै सामान स्टकमा राखेका हुन्छौं, हामी धेरे घाटामा गयौं,’ उनले भने।
‘हामीले बैशाखदेखि तीज सम्मका लागि भनेर १० अर्बको सामान स्टक राखेका थियौं, आधाभन्दा बढी बाँकी छ,’ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए।
उनकाअनुसार सामान स्टक राख्दा ३० प्रतिशत लागत बढ्ने हुदाँ डेरी उद्योगी घाटामा छन्।
‘दूध संकलन नगरौं किसान घाटामा जान्छन्, संकलन गरौं हामी घाटामा जान्छौं,’ उनले भने।
सामान्य अवस्थामा दैनिक ७ लाख लिटर दूध बिक्नेमा अहिले साढे ३ देखि ४ लाख लिटर दूध मात्र बिक्री हुने गरेको उनले बताए।
बाहिरी पसल नखुलेकाले तीजमा अपेक्षाकृतरूपमा कारोबार हुन नसकेको नेपाल दूग्ध संस्थान (डिडिसी)काे योजना तथा बजार व्यवस्थापन विभागीय प्रमुख सञ्जिभ झाले बताए।
‘तीजमा १ लाख ३५ हजारको दूध खपत हुन्छ भन्ने सोचेका थियौं। १ लाख ९ हजारको मात्र दूध खपत भयो,’ उनले भने, ‘साउन भदौ धेरै नै दूध तथा दूधजन्य पदार्थ खपत हुने समय हो तर महामारीले गर्दा खपत हुन सकेन।’
उनकाअनुसार गत वर्ष तीजको तिन दिनमा ध्यु, पनिर, दुध, वटर गरेर २५ देखि २८ लाखको व्यापार हुन्थ्यो भने अहिले १० देखि १२ लाखको मात्र व्यापार भएको छ।
डिडिसीको सबैभन्दा बढी सामान जाने ठाउँ भाटभटेनी, विगमार्ट बन्द हुँदा दूधजन्य पदार्थको खपत कम भएको हो।
‘सामान धेरे जाने ठाउँ सबै बन्द छन्। हामीले स्थानीय तहको स्वीकृती लिएर न्युरोड, लैनचौर र खुमलटारमा आउटलेट त खोलेका छौं तर व्यापार भने छैन,’ उनले भने।
किसानको दूध संकलन तथा वस्तु उत्पादन भएको पनि वितरण प्रणाली रोकिएकोले आफूहरू घाटामा गएको उनले बताए।
उनकाअनुसार अहिले दैनिक ७५ देखि ८० हजारको दूध बिक्री हुने गरेको छ। डिडिसीको ४ सय ५० टन बटर र ७ सय मेट एसएमपी स्टक छ।