बिहिवार प्रहरीले बिना सूचना अचानक अनलाइन अर्डर लिएर उपभोक्ताका घर–घरमा तरकारी तथा खाद्यान्न आपूर्ति गर्दै आएका ’इ–कमर्स’ कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई धरपकड गर्यो।
निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै कोही कर्मचारीलाई सामान पुर्याउँदै गरेका बेला बाटोबाटै त कोही सञ्चालकलाई कार्यालयभित्रै बाट पक्राउ गर्यो।
पक्राउ पर्नेमा इन्फी अनलाइन स्टोर, अर्बान गर्ल, फुडमान्डु, डल्ले, फुडमारियो, किराना लगायतका संचालक तथा कर्मचारी गरी ८० जना छन्।
उनीहरुलाई त्यही दिन राति कागज गराएर छाडिए पनि डेलिभरीका क्रममा रहेका खाद्ययबस्तु खेर गएको नेपाल ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले जानकारी दिए।
‘एकजना डेलिभरी स्टाफले कम्तीमा ५ हजारको सामान बोकेको हुन्छ। दिनभर प्रहरीले होल्ड गर्दा ती सामान मध्ये बेकरी, फ्रोजन मासु, फलफल, तरकारी लगायतका सामान फाल्नुको विकल्प नै छैन,’ उनले भने।
त्यस्तै अघिल्लो लकडाउनमाझैं डेलिभरी गर्नको लागि दर्जर्नौ इकमर्शले तयार पारेको खाद्यबस्तु पनि खेर जाने सम्भावना बढेको भट्टले बताए।
उनका अनुसार प्रशासनको यो प्रवृत्तीले प्रविधिकरणमा नराम्रो प्रभाव छोडेको छ।
‘संसारभरी डिजिटलाइजेसन भइरहेको बेलामा सरकारले हामीलाई सघाँउनुको सट्टामा उल्टो हामीले समय र मेहेनत लगाएर बनाएको विश्वास पनि तोडिदियो’ भट्टले भने।
आफ्नो लगानीमा केही गरौं भन्ने सोच भएका युवा उद्यमीलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले लगानी जोखिममा पारिदिएको उनले बताए।