विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण नेपालबाट विभिन्न मुलुकमा निर्यात हुने धागोको परिमाण घटेको छ। आव २०७५/०७६ को तुलनामा गत आव २०७६/०७७ मा करिब १० हजार मेट्रिक टन धागो कम निर्यात भएको धागो उत्पादक संघका सचिब उत्तम गौतमले जानकारी दिए।
‘कोभिडका कारण फागुनबाट धागो निर्यात हुन सकेन, निर्यातमा करिब १० हजार मेट्रिक टनले कमी आयो,’ उनले भने।
उनकाअनुसार गत आव २०७६/०७७ मा ३४ हजार ७ सय ६२ मेट धागो स्वदेश तथा विदेशमा खपत भएको छ। उक्त धागो खपत भएबापत ९ अर्ब २३ करोड ९० लाख रूपैयाँ आएको छ।
आव ०७५/०७६ मा करिब ४५ हजार मेट्रिक टन धागो खपत भएको थियो।
गत आव ०७६/०७७ मा २ अर्ब १ करोड २० लाख रूपैयाँ बराबरको ७ हजार १ सय ९५ मेट धागो स्वदेशमा खपत भएको छ।
त्यस्तै, ७ अर्ब २२ करोड ७० लाख मूल्य बराबरको २७ हजार ५ सय ६७ मेट धागो भारत, बंगलादेशलगायतका देशमा निर्यात भएको छ।
संघकाअनुसार आव ०७५/०७६ मा ३७ हजार मेट्रिक टन धागो निर्यात भएको थियो।
चालू आव २०७७/०७८ मा धागो निर्यातको परिमाण अझै घट्ने संघका सचिब गौतम बताउँछन्।
‘बन्दाबन्दीले गर्दा अहिलेसम्म धागो उत्पादन पनि हुन सकेको छैन, विश्व नै महामारीको चपेटामा परेकोले चालू आवमा धागोको निर्यात परिमाण अझै घट्ने देखिन्छ,’ उनले भने।