पहिलो चरणको लकडाउनको अन्तिमतिर रेष्टुरेन्टहरु सिमित क्षमतामा खुलेका थिए। खुल्न अगाडी पनि अनलाइनबाट डेलिभरीको सुविधा उनीहरुले दिएका थिए।
तर दोस्रो चरणको लकडाउन तथा निषेधाज्ञामा भने उनीहरु ठप्प भएका छन्। गएको चैतदेखि नै शून्य व्यापारमा चलिरहेका ३ हजार बढी रेष्टुरेन्टहरु बच्न नसक्ने अवस्थामा पुगेको नेपाल रेष्टुरेन्ट तथा बार एसोशिएसन(रेबान)का अध्यक्ष अरणीको राजभण्डारीले जानकारी दिए।
पछिल्लो समय जिल्ला प्रशासन तथा स्थानीय सरकारहरुले निषेधाज्ञा जारी गरिरहेका छन्।
यसको मारमा सबै उद्दम व्यवसाय परेको छ। त्यसमा पनि होटल तथा रेष्टुरेन्ट धेरै मारमा परेको व्यवसायीहरुले बताउँदै आएका छन्।
सानो लगानी तथा नियमित खर्चका कारण घाटाको पारो बढ्दै जाँदा धेरै व्यवसायबाट विस्थापित हुने अवस्था आउने राजभण्डारीको भनाइ छ।
रेष्टुरेन्टहरुमाम लगानीका हिसाबले ४०/५० लाखदेखि ५/६ करोडसम्म हुने गरेको छ। यसरी लगानी गर्ने अधिकांसले घर भाडामा लिएका हुन्छन्।
व्यवसाय शून्य भएपनि भाडा निरन्तर तिर्नुपर्ने, कर्मचारीहरुलाई विदामा राखे पनि ४ हजार मासिक रुपमा दिने सम्झौता गरिएकाले नोक्सानी बढ्दै गएर धेरैले पलायनको बाटो रोज्ने अवस्था आउन लागेमा व्यवसयीहरुको चिन्ता छ।
‘रेष्टुरेन्ट भनेको सामन्यतया प्राइम ठाउँमै हुन्छ। त्यस्तो ठाउँमा भाडा पनि धेरै हुन्छ। कयौंले महिनामा ८/१० लाखसम्म भाडा तिरिरहेका हुन्छन्। बिजुलीको न्यूनतम शुल्क तिर्नुपरिरहेकै छ। त्यस्तै कर्मचारीलाई पनि थोरै भएपनि दिनुपरेकै छ’ राजभण्डारीले भने’गएको छ महिनामा एउटै रेष्टुरेन्टले करोड बढी घाटा खाइसक्यो।‘
यसरी बजार पसल बन्द भइराख्दा अहिले नै कोमा गइसकेको क्षेत्रलाई उद्धार नगर्दा हजारौको रोजगारीसँगै अन्य अप्रत्यक्ष योगदानबाट लाभान्वितलाई पनि हानी गर्ने उनको भनाइ छ।
‘अहिले ३५ सय जति रेष्टुरेन्ट तथा वार छन्। यी धेरैजसो बन्द हुँदा ७०/८० हजार श्रमिक रोजगार छन्। उनीहरु अहिले न्यूनतम टोकन मनीमा बाँच्न बाध्य छन्। त्यस्तै दैनिक करोडौंको खपत हुने कृषि उपज आउन पाएको छैन। यसको श्रृखलाबद्ध असर सबैतिर परिरहेको छ’ उनले भने।
उपचारको एकमात्र उपाया व्यवस्थित सञ्चालन
संक्रमणको त्रास फैलिंदा रेष्टुरेन्ट बन्द भएपनि फेरि छिटै सञ्चालन गर्नुको बिकल्प नभएको राजभण्डारीको भनाइ छ।
‘सरकारले तोकेका मापदण्ड कडाइपूर्वक पालना गरेर भएपनि सञ्चालन गर्नुपर्छ। अघिल्लोपटक खुल्दा जसरी हेलचक्याइ भयो त्यसरी त हुँदैन’ राजभण्डारीले भने।
पहिलो चरणको लकडाउन खुल्दा रेष्टुरेन्टहरु सिमित क्षमतामा सञ्चालन गर्ने र हेल्थ प्रोटोकल पालना गर्ने भनिएको थियो। तर न त्यसको कार्यान्वयन भयो न अनुगमन नै।
खोल्नुको बिकल्प नभएको बरु प्रोटोकल पालना गर्नका लागि बलियो अनुगमन संयन्त्र बनाउनुपर्न उनको भनाइ छ।
आन्तरिक पर्यटनमा आधारित वा स्थानीय लक्षित रेष्टुरेन्टहरु खुल्नेवित्तिकै विस्तारै चल्ने भएपनि पर्यटनमा आधारित रेष्टुरेन्टहरु चल्न भने धेरै समय लाग्ने छ।