काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी भेटाएको छ।
गत वर्ष फागुनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो।
तर, रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको हो।
महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यस्तो त्रुटी भेटाएको हो।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तर नपुगेको बताए।
'गुणस्तर नपुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं', उनले भने।
बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले भने अनुमति लिएरै चलाएका दाबी गरेका छन्। तर, उनले कागजपत्र भने देखाउन नसकेको सुवेदीले बताए।
बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ। अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ।
यसैगरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६ सय ६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ।
महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरुको उपस्थिती थियो।