इतिहाद एयरवेजले चार्टर्ड उडान अनुमति माग गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उसले युएईबाट नेपालीहरुलाई ल्याउनका लागि चार्टर्ड उडान अनुमति माग गरेको हो।
एयरलाइन्सले कम्पनीहरुको कर्पोरेट रेस्पोन्स स्पोन्सरसिपमा नेपालीलाई काठमाडौं ल्याइदिनका लागि उडान गर्न खोजेको उल्लेख गर्दै अनुमतिका लागि आवेदन दिएको छ।
युएईको राष्ट्रिय ध्वजाबाहक इतिहादले काठमाडौंस्थित दूतावासमार्फत् उक्त निवदेन मन्त्रालयमा दिएको हो।
एयरलाइन्सले ४ सेप्टेम्बरदेखि १८ सेप्टेम्बरसम्म यी चार्टर्ड उडान गर्ने प्रस्ताव गरेको छ। उसले यी उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नु नपर्ने उल्लेख गरेको छ।
त्यस्तै युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउने उसले बताएको छ। प्रत्येक चार्टर्ड उडानमा १४० जना नेपाली ल्याउने र उक्त उडानमा कामदार बाहेक अरु कुनै पनि यात्रुलाई नल्याउने बताएको छ। त्यस्तै फर्किने जहाजमा केही सामान्य कार्गो लिनसक्ने एयरलाइन्सले जानकारी दिएको छ।
भिसाको अवधि सकिएकाहरुका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने व्यवस्था भएकाले यस्तो उडान अनुमति दिन एयरलाइन्सले अनुरोध गरेको हाे।
तर मन्त्रालयले भने यसअघि नै चार्टर्ड तथा नियमित उडान अनुमति दिइसकिएको र बाँकी उडान अनुमति दिन नसक्ने जवाफ दिएको छ।
सरकारले दैनिक ८ सय जनासम्म मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ। यो संख्या यसअघि नै दिइएको उडान अनुमतिबाट पुरा हुने भएकाले थप अनुमति दिन सक्ने अवस्था नभएको मन्त्रालयकाे प्रतिक्रिया छ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कुनै एयरलाइन्सले अतिरिक्त चार्टर्ड उडान अनुमति माग गरेको पत्र आएको सुनेको प्रतिक्रिया दिए।
'साथीहरुले मलाई थप चार्टर्ड उडानका लागि अनुमति माग गरेको कुरा भन्नुभएको थियो। तर अहिलेका लागि हामीले १ महिनासम्मका लागि चार्टर्ड र नियमित जति दिएका छौँ त्योभन्दा थप दिनसक्ने अवस्था छैन' अधिकारीले सेतोपाटीसँग भने।
सरकारले यसअघि सीमित गन्तव्यका लागि नियमित उडान खुला गरेको थियो। दिनमा २ अवतरण हुनेगरी २९ दिनको तालिका स्वीकृत गरिसकेको छ।
त्यस्तै चार्टर्ड उडानका लागि पनि सरकारले यसअघि नै स्वीकृत दिइसकेको छ। नेपालमा आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था नभएको भन्दै दिनमा ८ सयभन्दा बढी आउनेगरी उडान अनुमति नदिने अडान मन्त्रालयले लिएको छ।
खोलिएका नियमित उडानले नेपाल फर्किन इच्छुक नेपालीको माग पूरा गर्न नसक्ने नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरुले यसअघि नै प्रतिक्रिया दिइसकेका छन्।
उनीहरुले उडान संख्या बढाउनुपर्ने माग समेत गरेका थिए।