काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि अत्यावश्यकीय वस्तुको होम डेलिभरी खुला गर्ने भएकाे छ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले बिहीबारबाट अत्यावश्यक वस्तुको होम डेलिभरी गर्न पाइने बताएको हो।
‘पिसीआर नेगेटिभ भएका व्यक्तिबाट मापदण्ड बमोजिम टेक-अवे सेवा र अत्यावश्यक वस्तुको होम डेलिभरी गर्न पाइन्छ,’ कार्यालयद्वारा जारी सूचनामा लेखिएको छ।
सूचनाअनुसार होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्नेगरी सेवा सञ्चालन गर्न सकिने छ।
डेलिभरी गर्ने स्टाफको पिसिआर टेष्ट गर्ने सम्वन्धमा भने सेवा प्रदायकले असन्तुष्ट जनाएका छन्।
स्टाफको पिसिआर टेष्ट गर्न सहज नभएको इन्फी स्टोरसँग सहकार्य गरेर डेलिभरी सेवा दिइरहेको पठाओका क्षेत्रीय निर्देशक अशिम मान सिंह बस्न्यात बताउँछन्।
‘एक पटक टेष्ट गराएर हुन्छ त? कति–कति दिनमा गराउने? टेष्टको लागि स्वाब छोडेर संक्रमितसँग भेट भएमा रिपोर्ट नआउँदै उसलाई संक्रमण भइसकेको हुनसक्छ,’ बस्न्यातले सेतोपाटीसँग भने।
डेलिभरी स्टाफलाई अनिवार्य टेष्ट गराउनु भन्नुले सेवा नै बन्द गराउन निर्देशन दिएझैं हुने उनको तर्क छ।
बस्न्यातका अनुसार एक पटक टेष्ट गराएको पैसा कमाउन उक्त स्टाफलाई १०-१२ दिन लाग्छ। नेपाल ई कमर्स तथा अनलाइन डेलिभरी सेवा दिने संचालकहरुको साझा फोरमले सिफारिस गरेको मापदण्डमा रहेर काम गर्दा जोखिम कम हुने उनको दावी छ।
‘हामीले सरकारलाई अनिवार्य प्रोटेक्टिभ सुट, शून्य कन्ट्याक, यात्रापिच्छे सावारीसाधन स्यानिटाइज गर्ने र सामान डेलिभरीपछि गाडीमा हाल्नुभन्दा पहिल्यै बकेट स्यानिटाइज गर्ने लगायतमा उपाय सुझाएका छौँ, यो उपायले स्टाफ र ग्राहक दुवै सुरक्षित हुन सक्छन्’ उनले भने।
भदौ ११ गते पूर्व सूचना बिना इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौ अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका संचालक एवम् डेलिभरी कर्मचारी गरी ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होमडेलिभरीलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजे सम्म निर्बाध संचालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्याउन आग्रह गरेका थिए।