जिल्ला प्रशासन कार्यालय, काठमाडौंले होम डेलिभरीको समय तोकेको छ। निषेधाज्ञाको समयमा होम डेलिभरी गर्ने कम्पनीले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म गर्न पाउने भएका छन्।
होम डेलिभरी गर्न कार्यालयले दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन तोकेको छ।
कार्यालयले साहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक/एक जना अधिकृत प्रतिनिधि सहितको समिति गठन गरी अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड, २०७७ जारी गरेको छ।
मापदण्डअनुसार होम डेलिभरी गर्ने कम्पनी दर्ता भएको हुनुपर्ने, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची राख्नुपर्ने, नेपाल सरकारले तोकेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड र प्रोटोकल पालना गर्नुपर्ने, सेवाग्राहीसँग कम्तिमा २ मिटरको भौतिक दुरी कायम गरेर सवा तथा वस्तुको डेलिभरी गर्नु पर्ने, मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्ने, डेलिभरी गर्नेले अनिवार्यरूपमा डेलिभरी व्यायको नाम सम्पर्क नम्बर तथा डेलिभरी कार्यमा प्रयोग हुने सवारी साधनहरूको विवरण कार्यालयमा, वाणिज्य विभागमा र ट्राफिक कार्यालया उपलब्ध गराउन पर्ने छ।
फुड आइटम, औषधि, बच्चाले प्रयोग गर्ने उत्पादन, साबुन स्याम्पु, कृषिजन्य विउविजन तथा घरायसी सामान होम डेलिभरी गर्न पाइने छ।
तर नेपाल सरकारले तोकेको निषेधित र संक्रमित क्षेत्रमा डेलिभरी गर्न पाइने छैन।
स्थानीय प्रशासन वा कुनै सरकारी निकायले होम डेलिभरी गर्ने कम्पनी वा व्यक्तिका स्टार, भान्सा, डेलिभरी संयन्त्रको आवश्वयकताअनुसार नियमित र आकस्मिक अनुगमन गर्नेछ।
सामान गुणस्तरहीन भएमा नियमानुसार कारबाही हुने कार्यालयले बताएको छ।