झन्डै तीन घण्टा व्यवसायीहरूसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण र अर्थतन्त्रलाई सँगै अघि बढाउने प्रतिवद्धतता जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका प्रधानमन्त्रीले सरकार उद्योग व्यवसाय जोगाउनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।
नीति-नियम परिवर्तनदेखि राहत उद्धारसम्मका काम गर्नका लागि आफू तयार भएको उनले सो क्रममा बताएका थिए। अर्थतन्त्रलाई कोरोना नियन्त्रणसँगै अघि बढाउने प्रतिवद्धतता जनाएका उनले सो क्रममा लकडाउन अन्त्य वा खुकुलो बनाउने शब्द भने उल्लेख नगरेको सहभागी व्यवसायीहरूले बताए।
छलफलका क्रममा व्यवसायीहरूले अहिलेको लकडाउन अनन्तजस्तो देखिएको र यसले गर्दा अर्थतन्त्र कोममा पुग्नै लागेको बताएका थिए। सुरक्षाका उपाय कडाइका साथ लागू गरेर भए पनि अर्थतन्त्र खोल्नुपर्ने व्यवसायीहरूले माग गरेका थिए। उनीहरूले श्रमिक व्यवस्थापनदेखि ऋणको ब्याज छुटसम्मका माग राखेका थिए।
छलफलका क्रममा प्रधानमन्त्रीले कोरोना नियन्त्रणसँगै अर्थतन्त्रमा थप क्षति हुन नदिन सरकारले कदम चाल्ने र त्यसैका लागि समस्या बुझ्न छलफलका लागि बोलाएको उनलाई उद्धृत गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
‘प्रधानमन्त्रीज्यूले नीति-नियमदेखि सबै कुरा मिलाउन सरकार तयार भएको तर कोरोना नियन्त्रणसँगै अर्थतन्त्रलाई अगाडि बढाउने पक्षमा आफू पनि दृढ भएको बताउनुभयो। जति ढिला हुन्छ त्यति क्षति बढ्दै जान्छ भन्नेमा जानकार भएको बताउँदै आफू आर्थिक गतिविध चलायमान बनाउँदै लिने पक्षमा रहेको बताउनुभयो,’ राणााले भनिन्।
व्यवसायीहरूले बैंकको ब्याजदरमा सहुलियत हुने व्यवस्था गरिदन प्रधानमन्त्रीसमक्ष माग गरेका छन्। उनीहरूले बैंकको ब्याजदर १० प्रतिशतभन्दा मुनि कायम राखेर स्थिर बनाउनुपर्ने, उद्योगमा प्रभाव हेरी पाँच वर्षसम्म पुनर्तालिकीकरण गर्नुपर्ने माग राखेका छन्। कर्मचारी कटौती गर्नका लागि बाधक हुने श्रम ऐनको व्यवस्थामा सहजीकरण गरिदिनुपर्ने, बिजुलीको महसुलमा छुट र यसअघि नै घोषणा भएको तर कार्यान्वयन भएको डिमान्ड शुल्क मिनाहा गर्न माग गरेका थिए।
त्यस्तै, व्यवसायीहरूले बजार खुलिसकेपछि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजारमा पैसा पैठाउनुपर्ने सुझाव दिएका छन्। यसका लागि सरकारले विकास निर्माणका नाममा खर्च गरेर होस् वा राहतका रुपमा लक्षित वर्गलाई वितरण गरेर भएपनि बजारमा पैसा बढाएर माग सिर्जना गराउनुपर्ने सुझाव दिएका छन्।
कर तथा रोयल्टी, विभिन्न नियम शुल्क तिर्नुपर्दा छुट तथा सहुलियत दिनुपर्ने र साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियत दिएर राज्यले सहयोग गर्नुपर्ने सुझाव दिएका छन्। व्यवसायीहरूले यस्ता उद्योगहरू अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण हुने तर कोभिडका कारण विस्थापनको स्तरमा पुगेकाले सरकारले तत्काल राहत तथा उद्धारको प्याकेज ल्याउन माग गरेका थिए।
कोभिड १९ पछिको अवस्थामा आर्थिक विकासका लागि वृद्धि र विकासका नयाँ अवसरहरू सिर्जना हुने तर त्यसबाट लाभ लिनका लागि सरकारले पनि नयाँ सोचबाट सुरु हुने उद्योग व्यवसायलाई अग्रसर भएर साथ दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए।
व्यवसायीका सुझाव तथा माग सुनेपछि प्रधानमन्त्रीले अहिलेको अवस्था कठिन भएको र संसारभर उस्तै समस्या भएकाले सीमित स्रोतसाधनका बीचमा पनि जनताको स्वास्थ्य, उद्योग व्यवसाय, रोजगारीको संरक्षण गर्न आफू सदैव तत्पर भएको बताएका थिए।
‘उहाँले अहिलेका समस्याका बारेमा जानकारी लिन तथा सुझाव लिनका लागि हामीलाई बोलाउनु भएको थियो। त्यसक्रममा सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि काम गर्नका लागि जहाँसम्म जान सकिन्छ जानुपर्छ भनेर आफू तयार भएको बताउनुभयो,’ छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले भने।