डेरी उद्योगीहरूले दूध नबिकेका कारण किसानलाई भुक्तानी गर्न नसकेको बताएका छन्।
बन्दाबन्दीले गर्दा अझै डेढ अर्बभन्दा बढीको सामान मौज्दात रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए।
‘दूध नबिकेकाले हामीले अहिले २ महिनादेखि किसानलाई भुक्तानी गर्न सकेका छैनौं,’उनले भने। उनकाअनुसार पहिला १५/१५ दिनमा किसानलाई दूधको पैसा भुक्तानी गरिँदै आएको थियो।
अझै निषेधाज्ञा गरेर अर्थतन्त्र चलायनमान हुन नदिने हो भने धेरै पशु पालक पलयान हुने उनले बताए।
‘किसानको समस्या हामीले बुझेका छौं। हामीले पैसा दिएनौं भने उनीहरूलाई दाना खुवाउने पैसा पनि हुँदैन,’ उनले भने, ‘गाईवस्तुलाई दाना खुवाउने समेत पैसा नभएपछि किसानले कसरी गाई, भैंसी पाल्न सक्छन्।’
‘धेरै दूध पनि बिक्दैन, बिकेको दूधको पनि पैसा नआउँदा किसान त मर्कामा परेका छन्,’ उनले भने।
उनकाअनुसार अहिले दूध संकलन आधाले घटेको छ। पहिला दैनिक ४ देखि ५ लाख लिटर दूध संकलन हुन्थ्यो भने अहिले साढे दुई लाख लिटर दूध संकलन हुन्छ।
दैनिक ६२ लाख दुध उत्पादन हुनेमा अहिले ३१ लाख दूध मात्र बजारमा गहिरहेको छ भने बाँकी किसानले आफै उपभोग गर्ने गरेका छन्।
बिचमा मलमास परेको हुनाले डेरी क्षेत्र दशैं नलागी माथि नउठ्ने उनले बताए। सकारले तीजमा जसरी दशैंमा पनि निषेधाज्ञा गरिदिए डेरी उद्योगी पलाएन हुने उनको भनाइ छ।
‘तीजमा बेच्नै पाइएन। बीचमा मलमास परेको छ। शुभकार्य केही हुन्न,’ उनले भने, ‘दशैंमा पनि सरकारले निषेधाज्ञा गरिदियो भने त हामीले व्यवसाय नै छोडिदिए हुन्छ,’
किसानको भुक्तानीमा केही ढिला भएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए।
‘भुक्तानीमा केही सयम ढिला भएको होला तर हामीले किसानलाई चित्त बुझाएर पठाएका छौं,’ उनले भने।
पहिलाको तुलनामा अहिले डेरीको बजार ४० प्रतिशतमा झरेको उनले बताए।
उनकाअनुसार जति व्यापार हुन्छ भनेर उद्योगीले दूध संकल गर्थे अहिले त्यसको ४० प्रतिशत व्यापार हुन्छ। ६० प्रतिशत सामान भने डम्प गरेर राख्ने परेको छ।
नबिकेको दूधलाई पाउडर र बटरमा कन्भर्जन गर्दा दूध खरिद मूल्यको २५ प्रतिशत लागत बढ्ने उनले बताए। लागत बढे पनि दूध बेचेको मूल्यमै पाउडर दूध र बटर बेच्न परेको उनको गुनासो छ।
‘किसानको दूध पनि संकलन गर्नैपर्यो, यता बिक्दैन। अब त मौज्दात राख्न कोल्ड स्टोर पनि भरिसक्यो,’ उनले भने।
किसान र उद्योगी दुवैको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर किसानसँग छलफल गर्ने योजना बनाएको उनले बताए।
‘अहिलेको परिस्थितिमा उद्योगी र किसान दुवै घाटामा छन्। यसको समाधान कसरी गर्न सकिन्छ भनेर भर्चुअल मिटिङ गर्न लागेका छौं,’ उनले भने।
दूध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या छैन तर बिक्री वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए।
दैनिक किसानसँग दूध संकलन गर्दा बिक्री नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भइरहेको उनले जानकारी दिए।
उनकाअनुसार घीउ, बटर, चीज उत्पादन गरेर भण्डार भइरहेको छ तर बेच्ने बजार नहुँदा त्यसै थन्किएको अवस्थामा डेरी क्षेत्रमा सरकारले सहजीकरण गरिदिनु पर्ने उनले बताए।
‘दूध संकलन गरेन भनेर कराउँछन्। संकलन गर्यो बेच्न बजार छैन,’ उनले भने, ‘डेरी बजारलाई बन्द गरिदिन भएन।’