संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन्।
नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री भट्टराईले अहिले भएका जहाजले माग धान्न नसक्ने भन्दै तत्काल जहाज खरिदको योजना अघि बढाउन निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई सार्वजनिक कम्पनी बनाउने कामलाई पनि सँगै अघि बढाउन निर्देशन दिएका छन्।
देशभर रहेका नेपाल एयरलाईन्सको जग्गा व्यवस्थापन गरी गैरउड्डन आयलाई बढाइ आर्थिक क्षमता विस्तार गर्ने योजना बनाउनुपर्ने उनले धारणा राखेका थिए।
आर्थिक संटकमा पर्दै गएको संस्थामा अधिक जनशक्तिमात्र होइन तीनले पाउने सेवा सुविधा पनि धेरै भएको भन्दै मन्त्री भट्टराईले खर्च र कर्मचारी कटौति गर्नुपर्ने बताएका छन्। उनले अवसकाशनमा जाने कर्मचारीले पाउने सुविधा ५० प्रतिशत घटाउनुपर्ने, विदेशमा जाने कर्मचारीको भत्ता कटौति गर्नुपर्न र अन्य फजुल खर्च तत्काल अन्त्य गर्नुपर्ने बताए।
चीनबाट ल्याइएका ६ जहाज नउडाउने निर्णय गरेपछि आन्तरिक उडानका लागि हाल नेपाल एयरलाइन्ससँग २ ट्विनटरमात्र छन्। यी जहाज पनि पुराना भएको भन्दै व्यवसायिक रुपमा प्रतिस्पर्धी उडान गर्न सम्भव नहुने मन्त्री भट्टराईको भनाइ छ।