रुपन्देहीको तिलोत्तमा नगरपालिकामा औद्योगिकग्राम निर्माणको काम शुरु भएको छ। वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा बिहीबार शिलान्यास गरे।
वडा नंं १० को रोहिणी नदी पुलसँगै जोडिएको उत्तरतर्फको झण्डै १९ विघा क्षेत्रफलमा उद्योगग्राम स्थापना गर्न लागिएको हो। बेलहिया बुटवल व्यापारिक मार्गको मंगलापुरदेखि सात किलोमिटर पूर्वतर्फ कान्छीबजार रोहिणी सडकमा पर्ने उक्त उद्योगग्राममा ३० वटा दुई कठ्ठाका प्लट र ३ वटा ५ कठ्ठाका प्लटमा उद्योग स्थापना हुनेछ।
रोहिणी नदीले उकासेको जग्गामा निर्माण गर्न लागिएको औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको छ भने चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगरप्रमुख घिमिरेले जानकारी दिए।
पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ। पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने सडक, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन्।
डिपिआर अनुसार रोहिणी नदी डाइभर्सनको काम समेत गर्नेगरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न गर्न ५२ करोड लागत अनुमान गरिएको छ। नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढाइएको बताए।
संघीय सरकारले गतआर्थिक वर्षमा नै रुपन्देहीमा तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा उद्योग ग्राम स्थापनाको लागि अनुदान समेत उपलब्ध गराइसकेको थियो। उद्योग ग्राममा ६० प्रतिशत संघीय सरकारको र ४० प्रतिशत प्रदेश तथा स्थानीय तहको लगानी रहने छ।
उद्योगग्राममा बीमा, स्वास्थ्यचौकी, चमेनागृह, बालबालिका स्याहार केन्द्र, उद्योग ग्रामका कर्मचारी तथा उद्योगका कामदारको लागि आवास गृह, बालउद्यान, पार्किङ, फायर स्टेशन, मेकानिकल मर्मत केन्द्र लगायतका संरचना निर्माण गरिने छन्।
औद्योगिक ग्राममा अत्यन्त कम प्रदुषण गर्ने कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन्। शिलान्यास कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले औद्योगिक ग्रामले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताइन्। वडाध्यक्ष व्यासमुनी थारुले स्थानीयले सार्वजनिक जमिन संरक्षणमा योगदान गरेकै कारण अहिले औद्योगिकग्रामको निर्माण शुरु गर्न सकिएको भन्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन पनि स्थानीयको तर्फबाट सहयोग रहनुपर्ने बताए।
औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास, विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष समेत बनाइने नगरपालिकाले जनाएको छ।