बाजुरा र धनगढीको हवाई सम्पर्क जोडिएको छ। करिब २० वर्षपछि बुधबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सेवा विस्तार सुरू गरेपछि हवाई सम्पर्क जोडिएको हो।
सशस्त्र युद्धअघि धनगढीबाट बाजुरा नियमित उडान हुने गरेको थियो। तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र द्वन्द्वयता भने हवाई सम्पर्क टुटेको थियो।
समिट एयरले बुधबार जिल्लाको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेकोसँगै हवाई सम्पर्क जोडिएको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले जानकारी दिए।
बाजुरा नेपालगञ्जसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन।
धनगढी-बाजुरा हवाई सेवा सुचारू भएपछि जिल्लाका स्थानीय खुसी भएका छन्। बाजुरा धनगढीसँग हवाई सेवा जोडिएकाले त्यहाँका नागरिकलाई धनगढी आउजाउमा सजिलो भएको छ।