कोरोनाको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कलाई आधुनिक बनाइँदैछ। अब टिकट लिन जाने यात्रुहरुले आफ्नो गन्तव्य डिजिटल बोर्डमा हेरेर बस छुट्ने समय, बसमा खाली रहेका सिटबारे जानकारी पाउने छन्।
पहिले पहिले काउन्टरकै कर्मचारीलाई सोधेर मात्रै बस छुट्ने समय, खाली सिट भए नभएको बारे जानकारी लिनुपर्थ्यो।
पहिले पहिले टिकटमा यात्रुको नाम, ठेगाना कलमले लेखिने गरेकोमा अब भने प्रिन्टेड टिकेट यात्रुले पाउने छन्। नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्य सहकारी संस्थाले टिकेटिङलाई केही हदसम्म डिजिटलाइज गरेको छ।
अब यात्रुलाई कुन गाडीमा जाने, कुन सिटमा बस्ने, कुन कुन सिट खाली छ लगायतका जानकारी डिजिटल बोर्डमै हेरेर थाहा पाइने लोत्सेका आईटी प्रमुख मनिश भट्टराईले जानकारी दिए।
‘यात्रुले सबै जानकारी बोर्डमा हेरेर पाउन सक्नुहुन्छ, उहाँको काम भनेको पैसा तिर्ने र टिकट लिने मात्र हो,’ उनले भने।
टिकट काउन्टरलाई सिसाले बारिएको छ, टिकट लिन सानो प्वाल मात्र छ। त्यहाँ बस्ने कर्मचारीले अनिवार्य मास्क लगाउनेछन्। ‘प्यासेन्जर र यातायात कर्मचारीको सम्पर्क हुने भनेको प्रिन्टेड टिकट लिँदा मात्र हो,’ उनले सेतोपाटीसँग भने।
काउन्टर रहेका भवनलाई रंगरोगन गर्ने काम भइरहेको छ। बुधबार बसपार्कमा पुग्दा कतिपय आफ्नो सवारीको सरसफाइमा व्यस्त देखिन्थे भने कतिपय मर्मत सम्भारमा व्यस्त थिए। बिहीबारदेखि लामो दूरीका यातायात खुल्ने भएपछि बुधबार बसपार्कमा बेग्लै रौनक देखिन्थ्यो।