निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले देशका विभिन्न ठाउँका लागि टुर प्याकेज ल्याएको छ। कम्पनीले सोमबार एक कार्यक्रम गर्दै उक्त प्याकेजहरु सार्वजनिक गरेको छ।
एयरलाइन्स आफैले जहाज उड्नमात्र होइन घुम्नका लागि पनि भन्ने नारासहित प्याकेज ल्याएपछि परम्परागत रुपमा टुर प्याकेजहरु बिक्री गर्ने व्यवसाय बनाएकाहरु झस्किएका छन्।
यतीको उक्त प्याकेज सार्वजनिक गर्ने कार्यक्रममै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका अध्यक्ष अच्युत गुरागाईंले असन्तुष्टि पनि व्यक्त गरेका थिए। एयरलाइन्सहरु आफैले प्याकेज बेचेपछि हामीले के बेच्ने भन्दै प्रश्न गरेका थिए।
'आन्तरिक पर्यटन प्रबर्द्धनका लागि एयरलाइन्सको भुमिका महत्वपूर्ण हुन्छ। तर पनि कुरा के हो भने यसको प्रणाली हुन्छ। जसमा टुर प्याकेज ल्याउने तथा अपरेशन गर्ने व्यवसाय गर्नेहरु पनि हुन्छन्। तर एयरलाइन्स आफैले त्यो सब गरेपछि उनीहरु के गरेर बस्ने?' उनले प्रश्न गरेका थिए।
उनले प्याकेज एयरलाइन्स भन्दा अपरेटरमार्फत् बिक्री गर्नु पर्ने बताए पनि नेपालमा आन्तरिक प्याकेज उनीहरुले अहिलेसम्म बनाएका छैनन्। परम्पारागत रुपमा विदेशी पर्यटकका लागिमात्र प्याकेज बिक्री गर्दै आएका उनीहरु अहिले आएर भने झस्किएका छन्।
तर आन्तरिक उडान गर्ने एयरलाइयन्सहरुले पनि यसअघि नै आन्तरिक पर्यटन प्याकेजकै लागि भनेर छुट्टै सहायक कम्पनी खडा गर्दै आएका थिए।
बुद्ध एयरले बुद्ध होलिडेज, यतीको यति होलिडेज लगायतका एजेन्सीहरु यसअघि नै थिए।
'जति बेला हामीले यस्ता संस्था बनाएर प्याकेज ल्याउने तथा बेच्ने काम गरिरहेका थियौं उहाँहरु विदेशीका लागि मात्र प्याकेज बेच्नु हुन्थ्यो। तर अब जब आधार नै आन्तरिकमात्र हुन थाल्यो उहाँहरुसँग प्याकेज नै छैन' एक एयरलाइन्स व्यवसायीले भने' तर पनि हामीले सिधै एयरलाइन्सबाट बिक्री गर्ने होइन। एजेन्सीहरुबाट पनि बिक्री गर्ने हो।'
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सबै क्षेत्रको उत्तिकै योगदान हुने भएपनि प्रविधिमा आएको परिवर्तनका कारण केही क्षेत्रको औचित्य सकिंदै जाने अवस्था आउन थालेको छ।
आन्तरिक उडानका लागि एयरलाइन्स आफैले सिधै टिकट बिक्री गर्न थालिसकेका छन्। त्यस्तै विभिन्न मोबाइल वालेटबाट सिधै खरिद गर्ने उपभोक्ताको संख्या पनि बढ्दै गएको छ। यी सबै कारणले गर्दा परम्पारगत व्यवसायीको अवसर साँघुरिंदै गएको छ।
प्रविधिले बनाएको सहज अवस्था अनुसार व्यवसाय रुपान्तरण भएपछिमात्र अघि बढ्ने भएकाले ट्रभल तथा टुर अपरेटरहरु पनि सोहीअनुसार अघि बढ्नुपर्ने एक्सल ट्रिपका संस्थापक ज्ञानेन्द्र खड्कको भनाइ छ।
यो संस्थाले अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय टुर प्याकेज, होटल, एयरलाइन्सहरुको प्रतिस्पर्धात्मक मूल्यहसतिको सेवा दिंदै आएको छ।
'बरु उहाँहरुले अब हाम्रो जस्तै प्ल्याटफर्मबाट प्याकेज बिक्री गर्न सक्नुहुन्छ' उनले भने।