कोरोना महामारीका कारण नेपालमा निर्माणाधीन ठूला होटल परियोजनाको लागत बढ्ने भएको छ।
लकडाउनका कारण निर्माणमा ढिलाइ हुँदा अर्बौंका यस्ता होटल परियोजनाको लागत बढ्दै गएको लगानीकर्ताहरूले बताएका छन्।
भ्रमण वर्ष २०२० घोषणा भएको सन्दर्भ तथा विगतका केही वर्षदेखि बढिरहेको पर्यटक आगमनलाई केन्द्रमा राखेर देशभर निर्माण भइरहेका होटल परियोजनाको लागत अहिलेसम्म २५ प्रतिशत बढेको उनीहरूले बताएका छन्।
अहिलेको अनिश्चितता बढ्दै गएपछि यस्तो लागत अझै बढ्ने छ।
अहिलेसम्म निर्माण सम्पन्न भइ सञ्चालनमा आउने सम्भावना भएका कतिपय परियोजनाहरु स्थगित भएका छन् भने कतिपयको निर्माण नै अवरुद्ध भएको छ। काठमाडौं, पोखरा, चितवन जस्ता ठाउँमा यस्ता होटलहरु निर्माण भइरहेका छन्।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानीमा निर्माण भइरहेको सेराटन होटल लकडाउनका कारण ढिला भएको छ। अहिलेसम्मको अवस्थामा १० अर्ब लागतको अनुमान गरिएको यो होटलमा २२० कोठा हुने घोषणा गरिएको छ।
लकडाउन भएदेखि यसमा भइरहेको निर्माणको काम प्रभावित भयो। यसका कारण निर्माण सम्पन्न हुने मिति ६ महिनादेखि १ वर्षसम्म लम्बिने उक्त आयोजना हेरिरहेका सुरेश चित्राकारले बताए।
सेराटन मात्र होइन काठमाडौंमै निर्माणाधीन हिल्टन होटल परियोजना पनि हालका लागि स्थगित भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको उक्त होटल अहिले निर्माण गर्नुभन्दा स्थगन गर्नु नै राम्रो हुने ठहर गर्दै हालका लागि स्थगित गरिएको छ।
शंकर ग्रुपले निर्माण गरिरहेको यो होटल सन् २०२० भित्रै सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर कोरोनाका कारण अहिले नै सञ्चालन हुने अवस्था नभएकाले स्थगित गरिएको शंकल ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए।
गएको पाँच वर्षमा नेपालको होटल क्षेत्रमै ७० अर्ब बढी बैंकहरुको लगानी भएको छ। यी ठूला होटलमात्र होइन अन्य पर्यटकीय स्तरका होटल तथा रिसोर्टमा भएको लगगानी पनि प्रभावित भएको छ।
होटल निर्माण भए पनि सञ्चालन गर्न झनै महंगो हुने भएकाले व्यवसायीहरुले निर्माण नै रोकेका छन्।
अहिलेको समयमा सञ्चालनमा रहेका होटलको संरक्षण नै मुख्य भएको होटल बाराहीका सञ्चालक बिप्लव पौडेलको भनाइ छ। काठमाडौंको कान्तिपथमा ८० कोठाको होटल निर्माण गरिरहेका पौडेल अहिलेको समयमा होटल बनाउन लिएको ऋणको पुनर्तालिकिकरण हुनु नै राहत भएको बताउछन्।
'निर्माणाधिन होटलको लागत स्वभाविक नै बढ्ने भयो। तर पनि अहिले समय नै यस्तै छ। यसमा कसैलाई केही भन्नसक्ने अवस्था पनि छैन' पौडेलले सेतोपाटीसँग भने।
पछिल्लो सञ्चालनमा आएका नयाँ होटलहरु चरम आर्थिक संकटमा पर्दै गएका छन्। विदेशबाट आउने पर्यटकव शून्य भएपछि उनीहरु कर्मचारीलाई तलब दिन नसक्ने अवस्था नरेहको बताउँदै आएका छन्।
केही समय निर्माण रोकिए पनि व्यवसायीहरु अब भने निर्माण धमाधम सकेर सञ्चालनका लागि तयारी अवस्थामा राख्ने तयारीमा छन्। कोभिडको प्रभाव सकिएर पर्यटकीय गतिविधि सुरु हुने वित्तिकै सञ्चालन गर्ने उनीहरुको तयारी छ।
करिब २ अर्ब लागत अनुमान गरिएका दुई होटल परियोजना निर्माण गरिरहेका व्यवसायी युवराज श्रेष्ठ पनि अब भने निर्माणलाई तीव्रता दिने तयारीमा छन्। उनले चितवनमा लक्जरी रिसोर्ट तथा ललितपुरमा होटल निर्माण गरिरहेका छन्।
'कोभिडको प्रभाव सबैलाई छ। ऋणको व्याज लागिहाल्छ। त्यसैले अहिलेसम्म प्रभावित त भयो तर अब सबै तयारीका काम सकेर सञ्चालनका लागि तयारी अवस्थामा राख्नुपर्छ' श्रेष्ठले सेतोपाटीसँग भने।