नेपाल नागरिक उड्डयन प्राधिकरणले २ विदेशी एयरलाइन्सलाई दिंदै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति खारेज गर्ने तयारी गरेको छ।
प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङलाई नियमन गर्ने निर्देशिकअनुसार मापदण्ड पुरा नभएको भन्दै दुई एयरलाइन्ससँग रहेको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति खारेज गर्ने तयारी गरेको हो।
थाइ एयरवेज र एयर इन्डियाले आफ्ना जहाजको ग्राउन्ड ह्यान्डलिङ आफै गर्दै आएका छन्। यस्तो अनुमति पाउनका लागि निर्देशिककाअनुसार दक्ष जनशक्ती, मेशिनरी औजार तथा उपकरण, ५ करोड बराबरको बीमा गर्नुपर्ने व्यवस्था छ। त्यस्तै हप्तामा ३५ उडान गरेको हुनुपर्ने व्यवस्था पनि छ।
तर यी दुई एयरलाइन्सले यस्तो मापदण्ड पूरा नगरेका कारण उनीहरुलाई दिइएको अनुमति खारेज गरी नेपाल एयरलाइन्सबाटै ग्रउन्ड ह्यान्डलिङ सेवा लिन निर्देशन दिने प्राधिकरणले तयारी गरिरहेको छ।
अहिलेको अवस्थामा आएर यी एयरलाइन्सले मापदण्ड पूरा गरे नगरेको बारे पत्र पठाउने तयारी भइरहेको र अनुगमन गरेर पुरा नगरेको भए अनुमति खारेज गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
'हामीले पहिला उनीहरुले मापदण्ड पूर्याएका छन् कि छैनन् भनेर जानकारी लिन्छौ। कानूनअनुसार नभएको पाएपछि अनुमति खारेजीको प्रक्रियामा जान्छ' पोखरेलले भने।
यी दुई एयरलाइन्सले नेपालमा सेवा सुरु गरेदेखि नै आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफै गर्दै आएको र सोही आधारमा प्रत्येक वर्ष प्राधिकरणले नविकरण गर्दै आएको छ।
हालैमात्र प्राधिकरणले हिमालय एयरलाइन्सलाई यस्तै अनुमति दिएपछि विदेशी एयरलाइन्स बारे पनि चासो बढेको थियो। यसरी चासो बढेपछि आजमात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्राधिकरणका महानिर्देशक पोखरेललाई विदेशी एयरलाइन्सलाई अहिले पनि सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिइरहनुको कारण बारे सोधेका थिए।
भेटका क्रममा भट्टराईले मापदण्ड पुरा नगरेको भए तत्काल उनीहरुको अनुमति खारेज गरी नेपाल एयरलाइन्स मार्फत् काम गराउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
हिमालय एयरलाइन्सलाई प्राधिकरणले आफ्ना जहाज आफै व्यवस्थापन गर्ने अनुमति दिएपछि यसको व्यापक विरोध भइरहेको छ। यसै बारेमा मन्त्री भट्टराईले हिमालयको क्षमता पुष्टि भएपछिमात्र थप निर्णय लिन निर्देशन दिएका छन्।