सरकारले कात्तिक १ गतेदेखि पदमार्ग खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल घुम्न आउन चाहेका छन्।
नेपालमा पदयात्रा खुलेको थाहा पाएर जर्मन नागरिक क्लज नेम्झाव र फ्रेन्च नागरिक जिन लुइसले नेपाल स्थित ट्रेकिङ एजेन्सीसँग परामर्श लिएका छन्।
पोखरास्थित इथिकल ट्रेकिङ एजेन्सी मार्फत उनीहरुले छिटो भन्दा छिटो आफूहरु मनास्लु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न चाहेको बताएका छन्। त्यसो त बंगलादेश र भियतनामका ट्राभल एजेन्सीले नेपालमा पर्यटक घुम्न पठाउन चाहेको इथिकल ट्रेकिङ एजेन्सीका संचालक कृष्ण आचार्य बताउँछन्।
‘सरकारले पर्यटन क्षेत्र खुला गरेको सूचनासहित पर्यटक र विदेशी एजेन्सीले सोध्ने गरेका छन्’, आचार्यले भने, ‘खुला गरेको छ भनौं कि नभनौं दोधारमा परेका छौं।’
आचार्य दोधारमा पर्नुका केही कारण छन्। सरकारले अहिलेसम्म अन्तर्राष्ट्रिय उडान नियमित गरेको छैन। पदयात्राका लागि के कस्तो स्वास्थ्य सावधानी अपनाउने भनेर पनि निर्काैल गरिसकेको छैन। ‘पर्यटकले धमाधम सोधपुछ र पदयात्राका लागि बुकिङ गर्न खोजेका छन्', उनले भने, ‘कसरी पदयात्रा गराउने भनेर उपाय नपाउँदासम्म बुकिङ लिन सक्दैनौँ।’
विदेशी पर्यटक मात्र होइन, नेपाली पदयात्रीका लागि पनि अहिले अन्यौल नै छ। असोज, कात्तिक र मंसिर महिना नेपालको मुख्य पर्यटकीय सिजन हो। नेपालको पर्यटन क्षेत्र पदयात्रामा निर्भर भएकाले यो सिजन मुख्य भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल बताउँछन्।
‘यो सिजनपछि दोस्रो सिजन फागुन चैत र वैशाख हो’, भुजेल भन्छन्, ‘विदेशी मात्र नभई नेपाली पनि यही सिजनमा घुमफिर गर्न रुचाउँछन्।’ अहिलेको सिजनमा हिमाल खुल्ने र जोखिम कम हुने भएकाले पनि पदयात्रा गर्न रुचाउनेका लागि यो समय सबैभन्दा महत्वपूर्ण भएको उनको भनाई छ।
नेपाल पर्यटन बोर्डले पोखरामा रहेका पर्यटन व्यवसायीलाई बोलाएर एक दिने स्वास्थ्य साबधानीका बारेमा अभिमुखीकरण कार्यक्रम गरेको छ। तर पदमार्गका पर्यटन व्यवसायीका लागि भने अहिलेसम्म कुनै जानकारी नदिएको भुजेलले बताए।
पदयात्रा गर्न रुचाउने पर्यटकलाई पर्यटकीय क्षेत्रका स्थानीय सरकार र समुदायले पनि अवरोध गर्ने खतरा उत्तिकै प्रवल छ। अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदयात्रामा पर्ने पर्यटकीय गाउँ घान्द्रुक यसको एउटा उदाहरण हो।
घान्द्रुकका स्थानीयबासीले असोज महिनाभर पर्यटक नल्याउन ट्रेकिङ एजेन्सीहरुलाई आग्रह गरेको टान पश्चिमाञ्चलका अध्यक्ष भुजेलले बताए। उक्त आग्रहपछि गण्डकी प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्र खुलाउन र पर्यटकलाई कुनै अवरोध नगर्न टानले जिल्ला समन्वय समितिमार्फत ध्यानाकर्षण गराएको छ।
गण्डकी प्रदेशमा पर्ने ११ वटै जिल्ला समन्वय समितिलाई सोज ७ गते ध्यानाकर्षण पत्र पठाएर पर्यटन क्षेत्र खुलाउन, सहजीकरण गर्न आग्रह गरेको भुजेलले बताए।
‘सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय त गर्यो तर कसरी खुलाउने भनेर कार्यक्रम दिएन’, भुजेलले भने, ‘पर्यटकलाई नेपाल ल्याउने, गन्तव्यमा पुर्याउने र कसरी फर्काउने भनेर सरकारले कुनै योजना बनाएको देखिएन।’
टानले भने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पुरा गरेर पदयात्रा गराउने योजना बनाएको छ। पदयात्री, र पर्यटकका सहयोगीलाई अनिवार्य मास्क लगाउने, साथमा स्यानिटाइजर लगाउने, सामाजिक दुरी कायम राख्ने जस्ता मापदण्ड बनाएको भुजेलले बताए।
उनका अनुसार पदयात्रामा जाने पर्यटक र पदमार्गका पर्यटन व्यवसायीलाई सबैभन्दा अप्ठ्यारो अवस्था देखिएको छ। सरकारले होटल प्रयोग गर्ने पर्यटकलाई कोठामा बसेपछि पूर्ण रुपमा सरसफाई गर्न र कम्तिमा १ दिन खाली राख्नुपर्छ।
नेपालका पदमार्गमा भने यस्ताे गर्न असम्भव जस्तै छ। हिमाली क्षेत्रमा पुग्दा कोरोनाको लक्षण देखिएमा परीक्षण र उपचारमा पनि गाह्रो पर्ने उनले बताए।
त्यसो त सरकारले नेपाल घुम्न आउने पर्यटकलाई पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भनेको छ। पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि मात्र घुम्न पाउने जनाएको छ। टानका अनुसार यसरी पर्यटकलाई क्वारेन्टिनमा राख्न असम्भव छ।
‘नेपाल घुम्न आउने अधिकांश पर्यटक दुईदेखि तीन हप्ताका लागि आउँछन्’, भुजेलले भने, ‘दुई साता क्वारेन्टिनमा बस्नुपर्ने भएपछि घुम्न पाउँदैनन्।’ पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घुम्न दिनुपर्ने उनले बताए।
पर्यटकीय क्षेत्र खुलाउँदा त्यस क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायले पनि सुरक्षित उपायका बारेमा काम गर्नुपर्ने टानले माग गरेको छ। गण्डकी प्रदेशमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष लगायत स्थानीय तहहरुले पनि पर्यटन व्यवसायी र पर्यटकलाई सुरक्षित घुमफिरका लागि योजना बनाउनुपर्ने भुजेलले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पदयात्री र पर्यटन व्यसायीका लागि सरकारी मापदण्डभित्रै रहेर अर्को मापदण्ड बनाउने तयारी गरेको छ। सरकारले पदयात्रीका लागि बनाउने मापदण्डभित्रै रहेर थप सुरक्षा र सजगता अपनाउने योजना बनाउन लागेको एक्यापका निर्देशक राजकुमार गुरुङले बताए।
‘मुख्यतः सरकारले नै मापदण्ड बनाउला’, गुरुङले सेतोपाटीसँग भने, ‘हामी पनि पर्यटक र व्यवसायीलाई थप सुरक्षित बनाउन अभिमुखीकरण र थप सजगता अपनाउन भन्छौं।’
यता, पदमार्गका पर्यटन व्यवसायीले भने सरकारले काठमाडौंको तारे होटल हेरेर मापदण्ड बनाएको भन्दै आपत्ति जनाएका छन्। मर्दी पदमार्गको हाइक्याम्पस्थित ट्रेकर्स प्याराडाइज होटलका संचालक सुदीप गौतम पदमार्गका स्थानीयबासी, व्यवसायी र पदयात्रीको सुरक्षाका लागि छुट्टै मापदण्ड बनाउनुपर्ने बताउँछन्।
उनले पदमार्गमा रहेका एक्याप र टानका चेकपोष्टमा स्वास्थ्य सावधानीका बारेमा पर्यटक र तिनका सहयोगीलाई जागरुक बनाउनुपर्ने बताए। पदमार्ग र होमस्टेमा कोरोना भाइरस फैलिए समुदायमा संक्रमण हुन सक्ने भन्दै यसतर्फ थप सजगता अपनाउन जरुरी भएको उनले बताए।
पदमार्गका होटल व्यवसाय संचालन गर्न आफूहरु तयार भएको भन्दै उनले भने, ‘पदमार्गका पर्यटन व्यवसायलाई सुरक्षित बनाउने गरी सरकारले योजना नै बनाएन।’ धेरै आन्तरिक पर्यटक मर्दी पदमार्ग घुम्न आउन चाहेको भन्दै उनले स्वदेशी र विदेशी दुबै पर्यटकलाई समान प्रोटोकल बनाएर लागू गर्न आग्रह गरे।
चैत ११ यता लकडाउनका कारण पोखराबाट मात्र झण्डै १ हजार २ सय पर्यटक स्वदेश फर्किएको पर्यटन प्रहरी कार्यालयले जनाएको छ। जसमा केही पर्यटक भने लकडाउन खुलेपछि पदयात्रामा जाने भन्दै ४ महिनासम्म पोखराकै होटलमा बसेका थिए।
लकडाउन खुल्ने लक्षण नदेखिएपछि मात्र पर्यटक स्वदेश फर्किएको इथिकल ट्रेकिङ एजन्सीका संचालक कृष्ण आचार्य बताउँछन्।
‘पर्यटकको सोधपुछ हेर्दा पर्यटन क्षेत्र फेरि लयमा फर्किन्छ जस्तो लागेको छ’, उनले भने, ‘सरकारले स्पष्ट योजना बनाएर कडाईका साथ लागू गर्नुपर्छ।’
नेपाल घुम्न आउने पर्यटकलाई १४ दिन क्वारेन्टिनमा राख्ने सरकारी निर्णय भने अव्यवहारिक भएको उनले बताए। ‘विदेशी पर्यटकलाई नेपाल आएपछि पिसिआर परिक्षण अनिवार्य गराएर घुम्न दिन सकिन्छ’, आचार्य भन्छन्, ‘क्वारेन्टिन बस्न त विदेशी पर्यटक आउँदैनन्।’