शान्तिनगर गाउँपालिका-३ भलानेटीका ४० वर्षीय पशुपति घर्ती मगरलाई अचेल खसीबोका खोज्न भ्याइनभ्याई छ।
उनी खसी खोज्दै दाङ, सल्यान, प्युठान र रूकुमसम्म कुदिरहन्छन्।
हिन्दु नेपालीहरूका ठूला चाड दशैं र तिहार नजिकिएछि उनको दौडधुप झनै बढ्छ।
महिनामा साढे २ सय हाराहारी खसीबोका काठमाडौं पठाउने घर्तीले चाडवाडका बेला ५-६ सय खसीबोका खोज्छन्।
खाद्य संस्थान तुलसीपुरले पनि उनीसँगै खसीबोका किन्छ। गत वर्ष उनले खाद्य संस्थानलाई २ सय खसीबोका बेचेका थिए। संस्थानले दाङबाट वर्षेनी ४-५ सय खसीबोका काठमाडौं पठाउँछ।
पशुपतिले खसीबोकाको व्यापार गर्न थालेको १७ वर्ष पुगिसक्यो। सुरूमा एक्लै व्यवसाय थालेका उनले पार्टनरसिप गरेको पनि १३ वर्षजति भयो।
मोहनसिंह खड्का र भीमबहादुर शाही उनका पार्टनर हुन्।
पशुपतिले सुरूमा गाउँघरबाट खसीबोका खोजेर डोर्याउँदै तुलसीपुर बजारमा ल्याएर बेच्ने गर्थे। त्यसरी ६ महिना काम गर्दा उनले ६२ हजार रुपैयाँ कमाए।
त्यसपछि उनले मेहनत गरे खसीबोका व्यापारबाट राम्रै आम्दानी गर्न सकिने रहेछ भन्ने बुझे।
गाउँघरबाट खसी ल्याएर बेच्दाबेच्दै खसी मार्केटमा उनलाई धेरैले चिन्न थालिसकेका थिए।
उता मोहनसिंहका बाबुले चलाएको तालाबाङ्गी खसी मासु पसलको अवस्था राम्रो थिएन। घाटा भएपछि बन्दजस्तै थियो। मोहनसिंह चिन्तित थिए। त्यहीबेला पशुपतिसँग मिलेर मासु पसल चलाउने सल्लाह भयो।
त्यसपछि उनीहरूले अलि पाका उमेरका भीमबहादुरलाई आफ्नो योजना सुनाए। उनी पनि पार्टनर बन्ने भए। तीन जनाको पार्टनरसिपमा तालाबाङ्गी मासु पसल सञ्चालनमा आयो।
उनीहरूको मेहनतले मासु पसल फेरि जुर्मुराउन थाल्यो। सुरूको महिना एक जना कर्मचारीलाई ८ हजार तलब दिएर राखे। कर्मचारीलाई तलब दिएर पनि तीनै जनालाई बाँड्न मिल्ने फाइदा भयो। जनही २ हजार ३ सय रुपैयाँ पाए।
फाइदाले उनीहरूको आशालाई बढायो। अनि तालाबाङ्गी खसीको मासु पसल-२ पनि खोले। दिनकै दर्जनजति खसीबोका कट्न थाले। मासु स्थानीय बजारमै खपत हुन्थ्यो। उनीहरूको मासु पसल फेरि चम्कियो। पसल राम्रो चल्दै जान थालेपछि उनीहरुले कर्मचारी पनि थप्दै गए।
अहिले मासु पसलमा चार जना कर्मचारी छन्। मोहनसिंह, पशुपतिका छोरा र भीमबहादुर पनि मासु काट्न र बेच्न खटिन्छन्।
चार कर्मचारीलाई जनही १६ देखि १८ हजारसम्म तलब दिने गरेको पशुपतिले बताए। उनीहरूलाई तलब दिएर पनि तीन जनालाई महिनाको ४० देखि ६० हजारसम्म भागबण्डा पर्ने गरेको उनले जानकारी दिए।
योबाहेक उनीहरू गाउँबाट खसीबोका किनेर काठमाडौं, पोखराजस्ता सहरमा पनि पठाउँछन्। त्यसबाट पनि राम्रै आम्दानी हुन्छ।
तीन जनाले काम बाँडफाँट गरेका छन्। पशुपति प्राय: खसीबोका खोज्न जान्छन्। मोहनसिंह मासु पसल सम्हाल्छन्। भीमबहादुर खसीबोका बिक्री गर्न काठमाडौं जान्छन्।
खसीबोका ओसार्न उनीहरूले दुइटा पिक अप भ्यान किनेका छन्।
मासु पसलमा एउटा मोटरसाइकल पनि छ। बजार क्षेत्रमा नियमित ग्राहकलाई उनीहरूले होम डेलिभरी सेवा पनि दिन्छन्। होटेल तथा रेष्टुरेण्ट उनीहरूका नियमित ग्राहक हुन्।
अरूलाई जस्तै लकडाउनले उनीहरूलाई पनि प्रभाव पार्यो।
झन्डै डेढ महिना उनीहरूको व्यापार ठप्प भयो। कोरोनाभाइरसको त्रासले डेढ महिना मासु पसल बन्द गरेको पशुपतिले बताए। मासुको व्यापार अझै राम्रो भएको छैन। पसलमा अहिले दैनिक ३-४ वटा खसी काट्ने गरेको र विस्तारै सुधार आउन थालेको उनले बताए।
किसानका खसीबोका सहकारीमार्फत् खरिद
तालाबाङी खसी मासु पसलको चर्चा दाङ र बाहिर पनि छ। त्यसको कारण छ- दाङ र आसपासका जिल्लामा किसानले पालेका खसीबोका तौलेर सहकारीमार्फत् किन्ने पशुपति नै पहिलो व्यापारी हुन्। अरूले किसानसँग अन्दाजको भरमा किन्थे। तौलेर खसीबोका किन्ने भएकाले उनी डिलर तथा स्थायी व्यापारीजस्तै भएका छन्।
त्यसरी खसीबोका किन्न थालेको ५-६ वर्ष भयो। त्यसैले पनि लालाबाङ्गी पसलको नामसँग जिल्लाका प्राय: किसान परिचित छन्।
जिल्ला बाहिरका सहकारीमार्फत् पनि उनीहरू खसीबोका किन्छन्। सल्यान र प्युठानबाट सहकारीमार्फत् खसीबोका किन्ने गरेको पशुपतिले बताए। रूकुममा भने कृषि सहकारी नै छैनन्।
‘सहकारीमार्फत् तौलेर किन्नुभन्दा फाइदा त कुत्वा किन्दा नै हुन्छ,’ उनले भने, ‘तर किसानलाई पनि मर्का नपर्ने र हामीले पनि बिस्तारै थोरै-थोरै कमाउँदै जाने रणनीतिमा काम गरिरहेका छौं।’
त्यसरी किन्दा किसान र व्यापारीबीच शंका तथा अविश्वास नहुने पशुपतिले बताए।
‘तौलेर किन्दा बिचौलिया हुँदैनन्, बार्गेनिङ पनि हुँदैन, कोही ठगिने कुरा हुँदैन,’ उनले भने, ‘किसान र किन्ने मान्छेबीच सोझो कारोबार हुन्छ। मालअनुसारको मूल्य किसानले तत्कालै पाउँछन्।’
कामले काम सिकाउँछ। पशुपति ढाड छामेरै खसीबोका कुन राम्रो पत्ता लगाउन सक्ने भइसकेका छन्। उनका अनुसार कुत्वा किन्दा ढाड छाम्दा हड्डी कम भेटिने खसीबोकाबाट घाटा हुँदैन। पशुपतिका अनुसार मासु राम्रो भने सल्यानी खसीको हुन्छ। रूकुमको खसीको मासु पनि राम्रो हुन्छ। घाँसभन्दा अन्नमात्रै धेरै ख्वाएर पालेका खसीको मासु खाँदा राम्रो नहुने उनले बताए।
‘५० प्रतिशत घाँसपात र ५० प्रतिशत अन्नपात खाएको खसीको मासु मीठो हुन्छ,’ पशुपतिले भने ‘म पनि बेलुका सधैँ मासु खान्छु र सकभर सल्यानकै खसीको मासु घर लैजान्छु।’
पशुपतिमात्रै हैन उनका घरमा परिवारका सदस्य सबै यही व्यवसायमा लागेका छन्।
‘कान्छो छोराले पढिरहेको हुँदा ऊमात्रै हामीसँगै काम गरिरहेको छैन, फुर्सदमा भने सघाउँछ,’ पशुपतिले भने, ‘मैले किनेका खसी सबै शान्तिनगरस्थित घरमै लगेर राख्छु र उनीहरूलाई दानापानी श्रीमतीले दिन्छिन्।’
किनेर ल्याएका खसीलाई घाँस खुवाउन ३ लाख रुपैयाँमा घर नजिकै खरबारी किनेको जानकारी पनि उनले दिए।
काठमाडौंबाट रित्तो फर्केका थिए, अहिले मालामाल भए
पशुपतिको बाल्यकाल निकै उतारचढावपूर्ण बित्यो। उनी पातेटाकुरामा कक्षा-५ मा पढ्दापढ्दै साथीहरू भागेर इन्डिया गए। मजदुरी काम गरे। भारत आउने-जाने गर्दागर्दै १४ वर्षको हुँदा प्रेम विवाह गरे। १५ वर्षमै छोरा जन्मियो। पढाइ छुट्यो।
त्यही वर्ष उनका बुवाको मृत्यु भयो। पशुपति परिवारको जेठा छोरा थिए। घरको जिम्मेवारी उनको काँधमा आइपुग्यो। आमाले उनलाई घरमा बस्न दिइनन् रे। उनी श्रीमती र छोरा लगेर छिमेकीको घरमा आश्रय लिएर बसे।
एक वर्ष अरूको घरमा बसेपछि ऐलानी जग्गामा घर बनाएर बसे। घर बनाउन श्रीमतीका गहना बेचे। त्यतिबेला गाउँमा कसैले उनलाई १ सय रुपैयाँ ऋण पत्याउँदैनथे। त्यो अवस्थाले उनलाई केही गर्नुपर्छ भन्ने लागिरह्यो।
श्रीमती र छोरो छोडेर उनी भारतको कालापहाड जान्थे। मेहनत गरेर कमाएको रकमले ५-६ महिना गृहस्थी चलाउँथे। त्यसैगरी आउने-जाने चलिरह्यो। घर हालेको ऋण पनि तिरे। अनि उनलाई त्यसरी हुँदैन भन्ने लाग्यो। अलिकति आफूले कमाएको रकम र केही ऋण खोजेर उनी २०५८ सालतिर कतार गए। ३ वर्ष बस्दा ५-६ लाख बचत गरे। त्यसले गाउँमा ५ कठ्ठा खेत किने।
त्यही बीचमा कतारमा सँगै काम गरेका साथीहरूले इन्डिया पनि म्यानपावर कम्पनी खोले।
उनीहरूले पशुपतिलाई काम गर्न बोलाए। त्यही क्रममा विदेश पठाउने नेपाली पठाउन सल्लाह दिए। पशुपति उनीहरूकै सल्लाहमा मान्छे विदेश पठाउने ‘दलाल’ बने। त्यसरी मान्छे विदेश पठाउँदा दुई-तीन वर्षमा उनले मनग्य कमाए। २०६३-०६४ सालतिर उनको खातामा १६-१७ लाख रुपैयाँ जम्मा भयो।
त्यसपछि उनलाई किन भारतबाट मान्छे विदेश पठाउने? आफैं म्यानपावर खोल्ने सोच आयो। अनि पार्टनरसिपमा काठमाडौंमा म्यानपावर कम्पनी खोले। त्यही क्रममा आफू अलि मात्तिएको पशुपति बताउँछन्।
दिनहुँ रोधी, डिस्को धाउन थाले। एक वर्ष नपुग्दै सबै पैसा स्वाहा भयो, म्यानपावर डुब्यो।
उनी रित्तो भएर घर फर्किए। त्यसपछि खसीबोकाको व्यापार थाले।
यही व्यवसायवाट हाल उनले मनग्य सम्पत्ति जोडिसकेका छन्।
तुलसीपुरको दूधेनामा एउटा घर छ। आफू शान्तिनगरमै बस्छन्। अर्को ५० लाखको घडेरी पनि जोडेका छन्। त्योबाहेक गाडी पनि छ।
‘आज त म आफैंले आफूलाई जिरोबाट हिरो भएको ठान्छु,’ उनले भने, ‘मेहनत नगरी कमाएको पैसा जसरी आएको हो, त्यसरी नै जाने रहेछ।’
खसीबोकाको व्यापार थालेपछि दुःख भए पनि आफू निकै सन्तुष्ट रहेको उनले बताए।
पुलिस र ट्राफिकका ‘व्यक्तिगत नियम’ले आजिद
गत शनिबार बिहान साढे ८ बजेतिर खसी लिएर अमेलियातिर जाँदै गर्दा तुलसीपुर-१२ जस्पुरस्थित अस्थायी प्रहरी चौकीमा प्रहरीले उनको गाडी रोक्यो। अघिल्लो दिन ब्लुबुक लगेको रहेछ। बिना रसिद त्यसको एक हजार रुपैयाँ तिरायो।
तुलसीपुर-१३ दमारगाउँको प्रहरी पोष्टमा पनि उनीमाथि त्यसैगरी केरकार भयो। प्रहरीले किन भेटघाट छैन भनेर हकारे।
उनले ‘गरौंला हजुर आज अलि हतार छ,’ भन्दै विदा मागे। सायद उनले प्रहरीसँग आँखाको इशारामा कुरा गरे क्यारे! अनि किन ढिला गरेको भनेर सोधे पछि बल्ल उनले मुख खोले।
‘हामी जस्तालाई प्रहरीले हरेक चेक पोष्टमा व्यक्तिगत नियम लगाउँछन्,’ पशुपतिले भने ‘प्रत्येक पोष्टमा सय दुई सय रुपैयाँ दिँदै जानुपर्छ।’
उनका अनुसार अनेक बहानामा ट्राफिकले पनि त्यसैगरी सताउँछन्। रिचार्ज कार्ड माग्छन्। कोहीले नगद नै लग्छन्। नदिए अनेक दुःख दिन्छन्।
गत साल लकडाउन सुरू हुनुपुर्व उनले सल्यानबाट ल्याएका खसी कपिलवस्तुको चन्द्रौटामा प्रहरीले लिलाम नै गरिदियो। पछि आफैंले आफ्नो खसी लिलाममा किन्नु परेको तितो अनुभव पशुपतिसँग छ। बसमा खसी हालेको भनेर प्रहरीले उनका ८ लाख जति मूल्यका खसी भन्सारमा लगेर लिलाममा बिक्री गरेको थियो।
पछि अर्थ मन्त्रालयका काम गर्ने गाउँकै एक जना कर्मचारीको भनसुनपछि बल्ल ती खसीको धरौटी रकम आफूले फिर्ता पाएको उनले बताए।
पशुपतिका अनुसार खसी व्यापारीले भोग्नु पर्ने अरू पनि समस्या छन्।
बर्खामा बाढी पहिरोले समयमै काठमाडौं पुग्न नसक्दा खसीबोका च्यापिएर कहिलेकाहीँ बाटोमै मर्छन्। मरेपछि जहाँ मर्छ ठाउँ हेरेर त्यही फाल्ने गरेको पशुपतिले बताए। प्रहरीले फेला पारे अनावश्यक तनाव दिन्छ।
पछिल्लो समय भदौ ६ गते पठाइको खसीबोका जामले गर्दा ३ दिनमा काठमाडौं पुगे।
‘तीन दिनसम्म घाँसपानी केही खान नपाउँदा तौल घट्यो र हामीलाई ३६ हजार घाटा भयो,’ पशुपतिले भने,‘घाटा भए पनि नाफा भए पनि प्रहरीले हामीबाट टिप्सजस्तो उठाउन छोड्दैनन्। हाम्रो पसिना फोकटमै खाइदिन्छन्।’