दसैंंताक सधैं बिजुलीका सामानको व्यापार उच्च हुन्थ्यो। घर बनाइसक्ने र सर्ने चटारोले गर्दा दसैंमा बिजुली सामानका थोक तथा खुद्रा बिक्रेतालाई भ्याइनभ्याइ नै हुन्थ्यो।
कोरोना महामारीका कारण यसपालि विद्युतीय बजार सेलाएको व्यवसायीहरू दुखेसो पोख्छन्।
'पहिले ग्राहकको पाइला राख्ने ठाउँ हुन्थेन, तिहार आएजस्तो झिलिमिली छाउँथ्यो,' काठमाडौंमा विद्युतीय सामानको थोक कारोबार हुने धरहरा पछिल्तिरको गल्ली अचेल सुनसान भएको व्यवसायीहरू बताउँछन्।
तार, पाइपदेखि साधारण र डिजाइन-डिजाइनका बल्ब, झुमर लगायत बिजुली सामान बेच्नेहरूको पसल र अनुहार दुवै अँध्यारा भएका छन्।
३० वर्षदेखि भोटाहिटीमा बिजुली सामान व्यापार गर्दै आएका नरेश भाटियाका अनुसार जति धेरै निर्माण काम हुन्छ, यो व्यापार त्यति नै फस्टाउँछ। यसरी बजार सेलाउनु भनेको निर्माण क्षेत्रमा ठूलो फेरबदल आउने लक्षण हो।
'साना होटल, रेस्टुरेन्टदेखि तारे होटलसम्म सामान पठाउँथ्यौं हामी,' भाटिया भन्छन्, 'अहिले भएका होटल नै बन्द छन्। नयाँ बन्ने पनि रोकिएका छन्। निर्माणमा निर्भर विद्युतीय सामान कारोबार ठप्प छ।'
हिँउदमा पानीको सतह घट्ने र वर्षात् पनि कम हुने भएकाले निर्माणको पिक सिजन मानिन्छ। त्यसैले व्यापार दसैं अघिदेखि नै सुरू हुन पर्ने हो। कोरोनाले अर्थतन्त्रमा पारेको असरकै कारण व्यापार घटेको भाटिया बताउँछन्।
'पोहोर यतिबेला यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन थियो। जमेर व्यापार हुँदा हामीलाई पनि दसैं आएजस्तो लाग्थ्यो,' उनले अवस्था बताए, 'हामी सबैलाई अहिले पैसाको समस्या छ। रोगले पनि सताएको छ। यसो बुझ्दा यसपालि मान्छेलाई घर बनाउने, मर्मत गर्ने, सिँगार्ने कुनै जाँगर नै छैन।'
व्यापारै ठप्प हुनुभन्दा भएको सामान कटाउन र ग्राहक अन्यत्र नजाऊन् भनेर सस्तोमा बेचिरहेको भाटिया बताउँछन्।
धरहरा क्षेत्रमै १५ वर्षदेखि बिजुली सामान बेच्दै आएका शेषनारायण सापकोटा ९० प्रतिशत व्यापारमा गिरावट आएको बताउँछन्।
'बन्द हुनुभन्दा त खुलेकै ठीक छ। तर खुल्नु भनेको व्यापार हुनु होइन,' सापकोटा भन्छन्, 'लकडाउनअघि जग हालिएका घर यतिबेला धमाधम बन्न पर्ने हो, बनेको छैन। घर नबनेपछि घरमा प्रयोग हुने सामानको व्यापार सुस्ताउने भइहाल्यो।'
उनी अगाडि थप्छन्, 'यो काठमाडौं भित्रको मात्रै कुरा होइन। बाहिर पनि यस्तै छ। ५ महिनायता जिल्लाबाट १० प्रतिशत मात्रै माग आएको छ।'
सरकार, बैंक, घरबेटी कतैबाट सहयोग नपाउँदा उनको चिन्ता झन् थपिएको छ। व्यापारीले ५ वर्ष लगाएर गरेको नाफा एकै वर्षमा सकिने अवस्था आएको सापकोटा बताउँछन्।
'सरकार कर तिर्न मात्रै ताकेता गरिरहेको छ। एकदिन कहीँ, कोही व्यापारीको अवस्था बुझ्न आएका छैनन्,' सापकोटा भन्छन्, 'सरकार अझै लकडाउन गर्ने तयारीमा छ। के गर्न खोजेको हो, केही बुझ्न सकेको छैन।'
१५ वर्षको व्यापारिक अनुभवमा यस्तो मन्दी पहिलो पटक भोगेको सापकोटा बताउँछन्। उनका अनुसार भूकम्पमा समेत एक महिनापछि पूर्वाधार निर्माण क्षेत्र सक्रिय हुँदा व्यापार बढेको थियो।
आगामी महिनामा अझै मन्दी छाउने सापकोटा अनुमान गर्छन्।
भन्छन्, 'यसको समग्र असर ३-४ महिनापछि देखिनेछ। रेमिट्यान्सले धानेको देश हो, लाखौं कामदार बेरोजगार छन्। स्थिति अझै भयावह हुने देखिन्छ।'
अर्थतन्त्रका थप समस्या अउन नदिन पनि लकडाउन गर्न नहुने व्यवसायीको राय छ। तेश्रो चरणको लकडाउन सुरू भए सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने उनीहरू बताउँछन्।