सरकारले आजबाट खोलेको चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको चहल पहल न्यून देखिएको छ।
सुपथ मूल्य पसमा पहिले जस्तो धेरै सामान नभएकाले उपभोक्ताको चहल पहल न्यून देखिएको उपभोक्ताहरू बताउँछन्।
गत वर्षको जस्तो सुपथ मूल्य पसलमा खोजे अनुसारको सामान नपाएको रमिता महर्जनले बताइन्।
‘पहिले ध्यु, दाल, चिनी, चामल लगायतका खाद्यान्न एकै ठाउँमा पाइन्थ्यो अहिले त त्यस्तो केही छैन,’ उनले गुनासो गरिन्।
साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थान तीनै संस्थानले एक अर्काका सामान बेच्ने भनिए पनि प्रत्येकले आ–आफ्ना सामान मात्र बेचिएको देखिएको छ।
यस वर्ष आउटलेट नखोली तीनै संस्थानले आ–आफ्ना बिक्री केन्द्रबाट आफूसँग भएका सामान बेचिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विभागीय प्रमुख नेत्र भण्डारीले बताए।
‘आउटलेट खोल्दा मान्छेको भीड हुन्छ, भीड कम गर्न नै हामीले आउटलेटलाई त्यति प्राथमिकता दिएका छैनौं,’ उनले भने।
उनकाअनुसार कोरोना भाइरसका कारण अनलाईन डेलिभरी र घुम्ती सेवालाई प्राथमिकता दिइएको छ।
एकअर्काका सामान बेच्न भने ठाउँ व्यवस्थापनकाे काम भइरहेकाे उनले बताए।
‘भर्खर आजबाट खुल्यो, सबै संस्थानका सामान राख्न ठाउँ व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने।
सुपथ पसलमा अरू पसलमा भन्दा सामग्रीमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ।
नून प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा विक्री हुन्छ। नुन र चिनी भने प्रति परिवार ४ केजीका दरले मात्रै दिइन्छ।
त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ। खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने छ।
सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने मन्त्रालयले जानकारी दिएको छ।