होलसेल विजनेश कम्प्लेक्स 'नेशनल विजनेश ट्रेड सेन्टर' (एनबिटिसी) संचालनमा आएको छ। यो ट्रेड सेन्टर कलंकीमा बुधबारबाट सुरु भएको हो।
मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यले याे अवधारणा अघि बढाइएको एनबिटिसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए।
उनका अनुसार कलंकीमा रहेको भाटभटेनी नजिकको यो कम्प्लेक्समा पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेसनको सुविधा छ।
यस कम्प्लेक्समा एउटै छानामुनि करिव ९ सय वटा सटरहरु छन्।
‘सटरमा महिला र पुरुषका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, ब्याग कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङ्केट, कस्मेटिक्स, गिफ्ट आइटम लगायत सामान किन्न सकिन्छ,’ उनले भने।
यो कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको छ।
‘पर्याप्त खुला ठाँउ भएकाले आगलागी, भुकम्प जस्ता प्राकतिक प्रकोपको जोखिम कम हुन्छ। कोरोना भाइरसको सुरक्षा दुरी अपनाउन सकिने वातावरण पनि छ’, बज्राचार्यले थपे।
कम्प्लेक्समा २६ वटा अत्याधुनिक स्कालेटर, ४ वटा सामान ढुवानी गर्ने कार्गो लिफ्ट र ३ वटा ग्लास लिफ्ट जडान गरिएको एनबिटिसीले जनाएको छ।
यहाँ ३ वटा सिनेमा हल, करिव १० हजार स्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पोरेट अफिसलगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले बताए।
सामानहरु जिल्लाबाहिर लैजान ढुवानीको व्यवस्था पनि गरिएको छ।