निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ।
सन् १९९७ अक्टुबर ११ अक्टोवरदेखि उडान सुरु गरेको बुद्ध एयर नेपालको आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज भएको, धेरै यात्रु बोक्ने र नाफा धेरै कमाउने एयरलाइन्स हो।
१३ जहाज भएको बुद्धसँग ११ सय कर्मचारी छन्।
देशमा वर्षभर हवाइ यात्रा गर्नेमध्ये आधा यात्रु एक्लै बोक्ने बुद्धले आफ्नो स्थापनाको सबैभन्दा कठिन समय कोरोना महामारीलाई भोगेको बताएको छ। बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले महामारीको कठोर सामाना गरिएको बताए।
यो बीचमा एकजना पनि कर्मचारी ननिकालेर सबैलाई नियमित तलब दिएर जहाजको मर्मतसम्भार पनि नियमित गरिएको उनले बताए।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले ११०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं । हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआवोस भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरि आवश्यक सबै तालिमहरु सम्पन्न गर्यौं’ उनले भने।