संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतमा नियमित उडान खोल्न सुझाव दिएको छ। मन्त्रालयले सबैतिर उडान खुलिसकेपनि मापदण्डअनुसार काठमाडौंबाट भारतीय सहरहरुमा उडान अनुमति दिनुपर्ने सिसिएमसीलाई सुझाव दिएको छ।
पिसिआर परीक्षणको नेगेटिभ नतिजा भएका यात्रुलाईमात्र उडानमा अनुमति दिंदा खासै संक्रमण फैलिएको नपाइएकाले उडान खोल्नुपर्ने मन्त्रालयले सुझाव पठाएको छ।
'उडान खोल्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै सुझाव हो। भारतमा संक्रमण बढेको भएपनि पिसिआर नेगेटिभ यात्रुमात्र आउन पाउने भएकाले संक्रमण फैलिने जोखि हुँदैन। त्यत्तिकै उडान रोक्नु हुँदैन' मन्त्रालय निकट स्रोतले भन्यो।
मन्त्रालयले भारमा बढेको संक्रमणसँग डराएर उडान बन्द गरिराख्नुपर्नेमा दिएको अर्को तर्क हो भारतमै खोलिएको आन्तरिक उडानमा अहिलेसम्म १ दर्जनमात्र केस भेटिएका छन्। नेपालसँगको दुरी पनि छोटो भएकाले उडानभित्रै संक्रमण फैलिने जोखिम पनि नहुने मन्त्रालयको तर्क छ।
मन्त्रालयले ट्रान्जिट यात्रुलाई अनुमति नदिएर सुरुमा नेपाली र भारतीयलेमात्र यात्रा गर्न पाउनेगरी उडान खोल्नुपर्ने बताएको छ।
भारतले नेपालले अन्तर्राष्ट्रिय उडान खोल्नेवित्तिकै उडान गर्ने प्रस्ताव पठाएको थियो। तर नेपाल सरकारले भने अहिलेसम्म अनुमति दिएको छैन। उडान खोल्नका लागि नेपालस्थित भारतीय राजदुतले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई पनि भेटिसकेका छन्।
नेपालले सिमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो।
भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निश्चित मापदण्डमा रहेर नियमित उडान गर्ने प्रस्ताव गरेको थियो। भारतले काठमाडौंमा हुने उडानमा भारतीय र नेपाली नागरिक मात्र यात्रा गर्न पाउने गरी उडान गर्न प्रस्ताव गरेको छ।
'एयर बबल' भनिने यो प्रकृतिको उडानमा तेस्रो देशका नागरिकले यात्रा गर्न पाउने छैनन्। सरकार तथा विमानस्थलले जारी गरेका स्वास्थ्य मापदण्ड पूरा गरेका यात्रुलाई मात्र अनुमति दिएर उडान सञ्चाल गर्न भारतल गरेको प्रस्ताव प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो।