गोरखा ब्रुअरीले उत्पादन गर्दै आएको बियरमा तोकिएको गुणस्तर नपुगेपछि आन्तरिक राजश्व विभागले नयाँ अन्त:शुल्क निर्धारण गरेको छ।
गोरखा ब्रुअरीले उत्पादन गर्दै आएका बियरहरुको गुणस्तर मापन गरिएको थियो। बियर उत्पादनको क्रममा जौको मात्रा ५० प्रतिशतभन्दा कम पाइएपछि आन्तरिक राजश्व कार्यालयले विभागलाई वर्गीकरणका लागि आग्रह गरेको थियो।
अन्त:शुल्क ऐनअनुसार बियर भन्ने एक मात्र वर्गीकरण छ। जसमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ। तर गोरखा ब्रुअरीको उत्पादनमा जौको मात्रा पुगेको थिएन।
यसरी मापदण्ड नपुगेपछि विभागले बियरको वर्गीकरण दुई भागमा गरिदिएको छ। ५० प्रतिशत जौको मात्रा पुगेको बियरलाई साविककै दर लागू हुने र त्यो मापदण्ड पूरा नगर्ने बियरलाई उच्च अल्कोहल हुने अन्य मदिरा सरहको कर निर्धारण गर्ने वर्गीकरण गरिदिएको छ।
विभागको यो वर्गीकरणसँगै जौको मात्रा नपुगेका उत्पादनमा प्रतिलिटर ४६५ रुपैयाँ अन्त:शुल्क दरबन्दी तोकिएको छ। गोरखा ब्रुअरीको बियरमा मापदण्ड नपुगेको पाइएपछि एक हप्ता उत्पादन बजारमा गएको थिएन। यद्यपी अहिले भने नयाँ उत्पादन समीकरणबाट उसले उत्पादन सुरू गरिसकेको छ।
पछिल्लो समय गोरखा ब्रुअरी कर छली प्रकरणमा विवादित बन्दै आएको छ। यसअघि गोरखा ब्रुअरीमाथि आन्तरिक राजश्व कार्यालयले कर निर्धारण गर्दा न्यायाधीशलाई प्रभावमा पारेको थियो।
क्षेत्राधिकार मिचेर गोरखा ब्रुअरीको मुद्दा लिएर फैसला गरेको भन्दै तीनजना न्यायाधीशमाथि न्यायपरिषदले कारबाही गरेको थियो। तीमध्ये २ न्यायाधीशले राजीनामा दिएका थिए भने एक जनालाई बर्खास्त गरिएको थियो।
पहिले मापदण्ड नपुगेको जुन बजारमा नगएको बियरको स्टक, कच्चा पदार्थको विवरण आन्तरिक राजश्व कार्यालयले लिइसकेको छ।
आन्तरिक राजश्व विभागकी उप-महानिर्देशक शिवादेवी दाहालले नयाँ वर्गीकरणको परिभाषा गरेर १० वटै ब्रुअरीलाई पत्राचार गरिएको जानकारी दिइन्।
'बियरको वर्गीकरण एक ठाउँमा मात्र छ। दुई प्रकारको वर्गीकरण थिएन। त्यसैले हामीले अहिले दुई भागमा बाँडेका छौं। हामीले कुनै पनि उद्योगलाई यसरी उत्पादन गर भन्न मिल्दैन। तर उहाँहरूले ५० प्रतिशत जौ राखेर उत्पादन गर्नुभयो भने एउटा दर लाग्छ त्यो नपग्ने वित्तिकै अर्को दर लागू हुन्छ,' उनले भनिन्।
नेपालमा लामो समयदेखि ब्रुअरीहरूले मापदण्ड पूरा नगरी बियर उत्पादन गर्दै आएको यो घटनाबाट खुलेको छ। यद्यपी बियर उत्पादन गर्ने उद्योगमा कच्चा पदार्थको समीकरण, उत्पादन संख्याको अनुगमनका लागि विभागकै कर्मचारी उपस्थित हुन्छन्।