अमेरिकी वाल्ट डिज्नी कम्पनीको केन्द्रमा अहिले डिज्नी प्लस मात्र छ भन्ने धेरै सेवाग्राहीले सोचेका थिए। उनीहरूको यो सोचलाई कम्पनीले सही सावित गरिदिएको छ।
कम्पनीले सोमबार अब आफ्नो प्रसारण रणनीति थप तीव्र बनाउने र मनोरञ्जन क्षेत्रमा पुनर्गठन गर्ने घोषणा गरेको छ।
सिएनएनका अनुसार यो घोषणालगत्तै कम्पनीको सेयरमा ५ प्रतिशत वृद्धि देखिएको थियो।
'प्रत्यक्ष उपभोक्ता मोडेलले राम्रो प्रतिक्रिया पाएको छ। साथै डिज्नीको भविष्यका लागि समेत पहिलेको तुलनामा बढी महत्व बोकेको छ भन्ने यसले प्रमाणित गरेको छ,' डिज्नी लगानीकर्ता र हेज कोष गुल्लान क्यापिटल पार्टनरका प्रबन्धक ट्रिप मिलरले सिएनएनलाई भनेका छन्, 'यी कदमहरु उच्च गुणस्तरीय कन्टेन्ट बनाउन र वितरणका लागि मात्र नभई कम्पनीलाई कर्पोरेटका समस्याहरुलाई सुव्यवस्थित गर्न र कम खर्च गर्नका लागि प्रोत्साहन मिल्नेछ।'
डिज्नीले अब नयाँ मिडिया र मनोरन्जन वितरण समूह गठन गर्नेछ। उक्त समूह वितरण र विज्ञापनमा केन्द्रित हुनेछ। यो समूहले कम्पनीको डिज्नी प्लस, हुलु र इएसपिएनन प्लस जस्ता स्ट्रिमिङ सेवा सञ्चालन समेत निरीक्षण गर्नेछ। उक्त समूहको नेतृत्व करिम डेनियलले गर्नेछन्। करिम डिज्नीको उपभोक्ता उत्पादन, गेम र प्रकाशन डिभिजनका पूर्व अध्यक्ष हुन्।
'डिज्नी प्लसको अविश्वसनीय सफलतापछि प्रतक्क्ष उपभोक्ता व्यवसायलाई तीव्र गतिमा अघि लैजान हामी योजना अनुरुप रणनीतिहरू बनाउँदैछौं। कम्पनीलाई अझ प्रभावकारिताका साथ अघि लैजान र सेयर मूल्य बढाउन हामी काम गरिरहेका छौं,' डिज्नीका प्रमुख कार्यकारी अधिकारी, सिइओ बब चापेकले एक विज्ञप्तिमा भनेका छन्।
डिज्नी पुनर्गठन घोषणा हुनु कुनै नौलो वा आश्चर्यजनक पक्कै होइन। डिज्नीको व्यवसाय थाम्न यस वर्ष 'डिज्नी प्लस'ले निकै ठूलो र केन्द्रमा रहेर भूमिका निर्वाह गरेको छ। कोरोना महामारीका कारण हरेक व्यवसाय भयावह हुँदै गर्दा डिज्नी प्लस यस वर्ष डिज्नी व्यवसायको खाँबो बनेको हो।
महामारीका कारण डिज्नीले सार्वजनिक गर्ने थुप्रै फिल्म रोकिए। कतिको छायांकन नै हुन पाएन भने डिज्नी पार्क र रिसोर्ट महिनौं बन्द भए। यसका कारण डिज्नीले लाखौैं नोक्सानी बेहोर्यो भने हजारौं कर्मचारीले जागिर गुमाए।
यस्तो अवस्थामा डिज्नी प्लस भने फस्टायो। डिज्नी प्लस स्ट्रिमिङ सेवा सुरू भएको एक वर्ष पनि भएको छैन। तर यसमा ६० करोडभन्दा बढी सदस्यता भइसक्यो। गत वर्ष मात्र कम्पनीले लगानीकर्तालाई सन् २०२४ सम्ममा डिज्नी प्लसको संसारभर ६० देखि ९० करोड सदस्यता हुन सक्ने अनुमान लगाएको थियो।
डिज्नीका एक लगानीकर्ता डान लोएबले गत हप्ता डिज्नीले वार्षिक लाभांश भुक्तानी स्वरुप ३ अर्ब डलर स्थायी रूपमा स्थगित गर्नुपर्ने र त्यो पैसा डिज्नी प्लसमा लगानी गर्नुपर्ने भनेपछि पुनर्गठन सम्बन्धी खबर बाहिरिएको हो।
'हामी विश्वस्त छौं कि डिज्नीले एउटा यस्तो प्रत्यक्ष उपभोक्ता व्यवसाय निर्माण गर्न सक्छ जुन अर्थपूर्ण रूपमा यसको हालको केबल टिभी र बक्स अफिस राजस्व प्रवाहहरू भन्दा बढी हुनेछ। तर यसका लागि कम्पनीले अधिक रुपमा लगानी गर्नुपर्ने हुन्छ,' डानले भनेका थिए।