आजभन्दा तीन वर्षअगाडि नेपालमा मार्सी चामलको चर्चै थिएन। मार्सी धान जुम्लामा उत्पादन हुन्छ भन्ने पनि धेरैले थाहा पाएका थिएनन्।
नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो।
दुई पार्टी एकता क्रममा वार्ता गर्ने सिलसिलामा ओली र दाहाल प्रसाईंको घरमा पुगेका थिए। चरेशको थालमा मार्सी चामलको भात खाएको फोटो प्रसाईंकै चालकले सार्वजनिक गरेका थिए।
मार्सी चामलको लोकप्रियता त्यहीँबाट चुलिएको थियो। प्रसाईंलाई नेकपाका दुई नेतालाई मार्सी भात खुवाएको भनी आलोचना पनि गरियो।
प्रसाईं भने अहिले मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोजिरहेका छन्। उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।
टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो। प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन्।
‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ,’ प्रसाईंले भने, ‘अन्तिम तयारी छ, बजारमा चाँडै आउँदैछन् दुई खाले बियर।’
उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन्। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।
‘स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने उद्देश्य मेरो हो,’ उनले भने।
कोरोना कहरकै बेला प्रसाईंले तेजेन्द्र खड्काको टाइगर ब्रुअरी किनेका हुन्। प्रसाईं सो कम्पनीका अध्यक्ष बनेका छन्।
७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ। जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ।
प्रसाईंले भने मार्सी चामललाई प्रयोग गर्ने बताएका छन्। ‘मेरो गराएको मार्सी भान्सा राजनीतिक वृत्तमा जति चर्चित भयो, बियर पनि बजारमा त्यतिकै चर्चित बनाउँछु, त्यो पनि मार्सी चामल नै मिसाएर,’ प्रसाईंले भने।
मार्सी बियरको ट्रेडमार्क दर्ता भइसकेको छ। अहिले बोत्तलहरूको तयारी अन्तिम चरणमा पुगेको प्रसाईंले बताए।
उक्त फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन क्षमताको छ। प्रसाईंले मार्सी बियर नेपालकै उच्च गुणस्तरको बनाउने दाबी गरे।
नेपालमा टुबोर्ग र कार्ल्सबर्ग बियर बढी लोकप्रिय छन्। मार्सी बियरले यी दुई बियरसँग प्रतिस्पर्धा गर्ने प्रसाईंले बताए।