खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीले सोमबारदेखि खसी तथा बोका विक्री/वितरण गरेको छ।
यस वर्ष च्याङ्ग्रा भने विक्री नगर्ने खाद्यले जनाएको छ। मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ।
दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादसैंका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको छ।
५६० रुपैयाँ तोकिएको निर्धारित मूल्यमा प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
सोमबार बिहान ८ बजेपछि खसीबोका बिक्रीवितरण भइरहेको छ। प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण भइरहेको हो। बिहानैदेखि खसी-बोका किन्नेको भीड छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरूप खसीबोकामा प्रतिकिलो दश रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं आइपुगेको छ।