कोरोना महामारीले विकास निर्माणलाई प्रभावित बनाएको छ। निजी तथा सार्वजनिक पूर्वाधार निर्माणमा महामारीको अवरोध हुँदा परियोजनाहरु ढिला भएका छन्।
महामारी नियन्त्रणका लागि जारी भएको लकडाउन आदेशका कारण नेपालमा पनि अधिकांस विकास आयोजनाहरु प्रभावित भएका छन्।
यसरी आयोजना अवरुद्ध हुँदा एकातिर निर्माण हुने समय लम्बिएको छ भने अर्कोतिर लागत बढेको छ। यस्तै महामारीमा सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँचतारे होटल आयोजना भने निरन्तर निर्माणका क्रममा छ।
एक अर्ब लागतको अनुमान गरिएको सिद्धार्थको पाँचतारे होटल आयोजना लकडाउनमा पनि अबरुद्ध नभएर निरन्तर निर्माण भइरहेको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए।
'लकडाउनको सुरु २ हप्तासम्म के हुन्छ भनेर काम रोकियो। त्यसपछि अनिश्चितता बढ्दै गएपछि हामीले निर्माण सुरु गर्यौं' न्यौपानेले सेतोपाटीसँग भने।
भैरहवामा निर्माणाधिन रहेको यो होटल पहिलो चरणमा ८४ कोठाको हुने छ। १७५ कोठासम्म विस्तार गर्नेगरी गुरुयोजना तयार भएको यसमा मागका आधारमा विस्तार गरिने उनले जानकारी दिए।
लकडाउनमा पनि निर्माण नरोक्नुका पछाडी न्यौपानेको एउटै तर्क भनेको लागत बढ्न नदिनका लागि हो। देशभर दर्जन बढी होटल तथा रेष्टुरेन्ट निर्माण तथा सञ्चालनको अनुभव भएका न्यौपानेले निर्माण रोकिंदा लागत बढ्ने भएकाले जारी राखेका हुन्।
'यसै पनि हामीले ऋण लिइसकेका छौं। त्यसको ब्याज त तिर्नैपर्छ। अनि निर्माणको काम २ महिना पनि पर सर्यो भने लागत बढीहाल्छ। त्यसैले हामीले निर्माण सकेर सञ्चालका लागि ठिक्क पारेपछि बरु एउटा नोक्सानी न्यून हुन्छ' उनले भने।
लकडाउन भएपछि नेपालमा निर्माणाधिन भएका होटल आयोजनाहरु अवरुद्ध भएका छन्। ६ महिनादेखि १ वर्षसम्म अधिकांसको समय पर सरेको छ। यसले गर्दा १० प्रतिशतभन्दा बढी लागत बढेको व्यवसायीहरुले बताएका छन्।
तर न्यौपाने भने यही बढ्ने लागत नियन्त्रणका लागि निर्माणलाई जारी राखिएको बताउछन्।
दुई दशकमा नेपालकै ठूलो मध्येको एक होटल चेन बनाउन सफल सिद्धार्थको यो पहिलो पाँचतारे होटल हुने छ। यसअघि चारतारे तहसम्मको होटल चलाएको अनुभव भएको सिद्धार्थले अबको १ वर्षभित्र भैरहवामा पाँचतारे होटल सञ्चालन गरिसक्ने लक्ष्य लिएको छ।
दुई दशकभित्रै सिद्धार्थको होटल साम्राज्य
आजभन्दा २ दशकअघि कैलालीको टिकापुरमा खाजा पसल खोलेर व्यवसाय सुरु गरेका न्यौपाने आज करिब २ दर्जन होटल तथा रेष्टुरेन्टका मालिक बनेका छन्।
न्यौपानेले खाजा पसल सुरु गर्दा अहिलेको जस्तो समय थिएन। पुँजीमा पहुँच त परको कुरा। बाहुन क्षेत्रीले भाडा माझ्ने व्यवसाय गर्नै हुन्न भन्ने समयमा व्यवसाय सुरु गरेका थिए। यही कारण गुल्मीमा जन्मेर हुर्किएका न्यौपानेले सुदूरपश्चिमको कैलालीबाट व्यवसाय सुरु गरेको बताउछन्।
'त्यस्तो व्यवसाय हामीले गर्नै हुन्न भन्ने कुरा थियो। त्यसैले मैले आफूले चिनेको सर्कलसँग कतै पनि नजोडिने ठाउँमा गएर खाजा पसल खोलेको थिए' उनले अनुभव सुनाए।
एकपछि अर्को स्तरमा लगानी विस्तार गर्दै आएका न्यौपानेले अहिले पाँचतारे होटल निर्माण गरिरहेका छन्। खाजा पसल,रेष्टुरेन्ट, गेष्ट हाउस, स्तरीय होटल हुँदै चारतारे होटल सञ्चालन गरिरहेका न्यौपानेको ड्रिम प्रोजेक्ट पाँचतारे होटल हो।
सिद्धार्थसँग अहिले नेपालगञ्जमा चारतारे, सुर्खेतमा चारतारे स्तरोन्नति भइरहेको छ। पूर्वदेखि पश्चिमसम्म मुख्य सहरमा होटल सञ्चालन गरिरहेको सिद्धार्थसँग रेष्टुरेन्ट तथा क्याफेहरु छन्।
महेन्द्रनगर, टिकापुर,कर्णाली चिसापानी, नेपालगञ्जमा होटल र रेष्टुरेन्ट, सुर्खेत,बुटवल,चुम्लिङटार,काठमाडौं,बिर्तामोड लगायतका ठाउँमा होटल तथा रेष्टुरेन्ट सञ्चालित छन्।
सिद्धार्थले काठमाडौंमै ३ रेष्टुरेन्ट र ३ क्याफे सञ्चालन गरिरहेको छ। आफ्नै कफी फार्म सुरु गरेको सिद्धार्थले होटल रेष्टुरेन्टका लागि तालिम पनि दिइरहेको छ।
सुरुमा राजमार्गलाई केन्द्रबिन्दु बनाएर होटल तथा रेष्टुरेन्ट निर्माण तथा सञ्चालन गरिरहेको सिद्धार्थका लागि पाँचतारे सेग्मेन्ट भने सजिलो छैन।
विदेशी व्यवस्थापन तथा चेनमा सञ्चालित प्रतिस्पर्धी होटलका बीचमा स्वदेशी व्यवस्थापनले प्रतिस्पर्धा गर्नु सिद्धार्थका लागि कठिन हुने छ।
तर न्यौपाने भने कठिन नभएको बताउछन्। संसारभर नेपालीहरुले व्यवस्थापन गर्नसक्नेमात्र होइन अहिले पनि सिद्धार्थकै जनशक्तीले विदेशी चेनमा राम्रो काम गरिरहेकाले आफूहरु सफल हुने विश्वास व्यक्त गर्छन्।
'हामी नेपालमा सफल हुनेमात्र होइन। सिद्धार्थलाई अन्तर्राष्ट्रिय बजारमा लिने सोचमा छौं। तर यसका लागि पहिला नेपालमै अभ्यास गरौं' उनले भने।