वर्षदिन अघिसम्म स्वदेशी-विदेशी पर्यटकको ओइरो लाग्ने पोखराको पर्यटन कोरोना भाइरसको महामारीपछि थलियो।
अहिले पोखराका धेरै पर्यटकीय गन्तव्य सुनसान छन्। त्यसमा पनि पर्यटकको मुख्य गन्तव्य मानिने लेकसाइड महामारीका बेला सुनसान भयो। अहिले पनि तङ्ग्रिन सकेको छैन।
अल्लिपर पामेसाइड भने गुलजार हुन थालेको छ।
यहाँ मानिसको चहलपहल ह्वात्तै बढेको छ। रेष्टुरेण्टहरू भरिभराउ छन्।
पामेसाइडकै खपौंदीस्थित पाल्म विच एण्ड लाउञ्जका सञ्चालक रवि तिमिल्सिनालाई सोमबार भ्याइनभ्याइ थियो।
एक पटकमा २ सय जनामात्र बस्न मिल्ने पाल्म विच एण्ड लाउञ्जमा बस्ने ठाउँ नपाएर पर्यटकले कुर्नुपर्ने अवस्था समेत आएको थियो।
फोटो खिच्नका लागि रूखमा झुण्ड्याएको चराको गुँड आकारको बस्ने ठाउँमा युवायुवती झुम्मिएका थिए। फेवाताल किनारमा देखिएको रंगीन दृश्यमा पर्यटक खुसी देखिन्थे।
लेकसाइडबाट फेवातालको किनार पश्चिमतिर लाग्दा पुगिन्छ पामेसाइड।
खपौंदीदेखि पामेसम्म सडकका दायाँ–बायाँ खुलेका रंगी–विरंगी रेष्टुरेण्ट र नजिकैको फेवातालको दृश्यले पर्यटकलाई लोभ्याउँछ। देश–विदेशबाट आउने पर्यटक उतै पुगिरहन्छन्।
‘फेवातालको माछा खान जाने’ भनेपछि उतै जान्छन् पोखराका रैथानेहरू पनि।
बिहान आलो माछा किन्न होस् या तयारी माछा खानका लागि, रैथानेले पामेसाइड सम्झिन्छन्।
माछाका विविध परिकार पस्किएर रेष्टुरेण्टहरूले पनि पर्यटकको मन जितिरहेका छन्, नियमित आउनुपर्ने बनाएका छन्।
लेकसाइडभन्दा एकान्त, खुला ठाउँहरू धेरै भएको र बाटो पनि राम्रो भएकाले अहिले पर्यटकको चाप पामेसाइडमा बढी छ।
पामेस्थित अल्फान्जु रिसोर्टका सञ्चालक सुवास भट्टराई भन्छन्, ‘पर्यटक यतै आउन मन पराउँदैछन्, व्यवसाय फस्टाउँदैछ।’
केहीवर्ष अघिसम्म पामेसाइड जाने बाटो समेत थिएन। स्थानीय डुङ्गामा यताउता गर्थे। खेतको डिलडिल हिँडेर आउजाउ गर्नुपर्थ्यो।
पामे कस्तोसम्म थियो भने यहाँ जाने पर्यटकलाई समेत 'झोले' पर्यटक भनिन्थ्यो।
पैसा कम भएका, पहिल्यै अर्डर नगरेका र व्यक्तिगत रूपमा आउने विदेशी पर्यटकलाई हियाएर यस्तो भनिन्थ्यो।
केही वर्षअघि पामेसम्म पुग्ने बाटो कालोपत्रे भयो। पञ्चासेसम्म कालोपत्रे गर्ने योजना रहेको पोखरा महानगरले जनाएको छ।
अहिले भने पामेसाइडले खर्च गर्ने पर्यटकको पनि मन तान्न थालेको व्यवसायीहरू बताउँछन्।
अल्फान्जु रिसोर्टका सञ्चालक भट्टराईले पैसा धेरै खर्च गर्न सक्ने नेपाली र विदेशी पनि पामेसाइडमा आइराखेको बताए।
पर्यटक बढ्न थालेपछि यतातिर व्यवसायीले पनि लगानी बढाएका छन्।
पाल्म विच एण्ड लाउञ्जका सञ्चालक तिमिल्सिना र उनका साथी अभिषेक गुरूङ मिलेर २ करोड ३० लाख लागनी गरेको रेष्टुरण्ट अझै निर्माण पूरा भइसकेको छैन।
एकैपटक ४ सय जना राख्न मिल्ने गरी उनीहरूले रेष्टुरेण्टको क्षमता विस्तार गर्दैछन्।
रेष्टुरेण्टलाई अमेरिकाको फ्लोरिडा, इन्डोनेसियाको बाली र इटालीको डिजाइनमा छुट्टा–छुट्टै पर्यटक बस्ने ठाउँ बन्दैछन्।
लकडाउन पछि पाल्म विच एण्ड लाउञ्ज खुलेको जम्मा ६ दिन भयो।
लकडाउनयता बन्द रहेको रेष्टुरेण्ट गत असारबाट निर्माणको काम भइराखेको सञ्चालक तिमिल्सिनाले बताए।
‘दसैंपछि खुले पनि धेरै नेपाली आइराख्नुभएको छ,' उनले भने, ‘यति धेरै मान्छे आउलान् भनेर हामीले सोचेका पनि थिएनौं।’
पर्यटक घुम्ने सिजन भए पनि कोरोना महामारीका कारण विदेशी घुम्न आउन पाएनन्। नेपाली पनि खुलेर घुम्न निस्कन सकेका छैनन्।
तर पनि पोखरामा देशका विभिन्न जिल्लाबाट आउने नेपाली बढ्दैछन्।
तिमिल्सिनाका अनुसार उनको रेष्टुरेण्टमा अहिले दैनिक ६ सयदेखि १५ सय जनासम्म नेपाली पुगेका छन्।
रेष्टुरेण्टमा काठमाडौं, धरान, चितवन, झापा लगायतका जिल्लाबाट ठूलो संख्यामा पर्यटक पुगेको तिमिल्सिनाले बताए।
लेकसाइडको पर्यटन व्यवसाय अझै तङ्ग्रिन सकेको छैन। डेढ सय जति होटल र रेष्टुरेण्ट त कोरोना महामारीले बन्द नै भइसके। तर पामेसाइडका व्यवसायी भने महामारीका बीचमा पनि आएका पर्यटक देखेर उत्साही छन्।
‘मान्छेले नयाँ एरिया खोज्छ त्यही भएर पनि होला यता धेरै आउन थालेका छन,' तिमिल्सिनाले भने, ‘यति ठूलो महामारीमा पनि हामीले नसोचेको पाहुना आउनुभएको छ, व्यापार राम्रो चलेको छ।’
उनका अनुसार उक्त रेष्टुरेण्टमा २६ जनाले रोजगारी पाएका छन् ।
उता अल्फान्जु रिसोर्टमा पनि सोमबार काठमाडौंबाट आएका दुई वटा परिवार बसिरहेका थिए। उनीहरू दिनभर बस्न चाहेको रेष्टुरेण्टका सञ्चालक सुवास भट्टराईले बताए।
रिसोर्टसँगै रहेको रेष्टुरेण्टमा दिनभर र साँझपरेपछि कोरोना महामारी आउनुअघि जस्तै पर्यटक आउन थालेको उनले बताए।
पामेसाइडमा ठूलो लगानी गरेर पहिलो पटक आफूले रिसोर्ट खोलेको भट्टराईको दाबी छ।
अहिले धेरै रेष्टुरेण्ट र होटलहरू पनि खुल्न थालेपछि पामेको व्यवसाय चम्किएको छ।
‘दसैंपछि त ह्वात्तै मान्छे आउन थाले,’ भट्टराईले भने, ‘धेरै जसो त पोखरा बाहिरका मान्छे नै आएका छन्।’
अल्फान्जु रिसोर्टले पनि महामारीकै बीच क्षमता विस्तार गर्दैछ।
५ करोड लगानीमा बनेको संरचनामा १० करोडको थप संरचना बनाउँदैछ। प्रशस्त खुला ठाउँ, स्विमिङ पुल, आकर्षक रेष्टुरेण्ट र रिसोर्टमा रहेको आँपको रूखमा रंगीचंगी बत्ती राखेर उनीहरूले रिसोर्टलाई झिलीमिली पारेका छन्।
रिसोर्टबाट देखिने फेवातालको दृश्यले पनि पर्यटकलाई तानेको छ।
अहिले दैनिक ७० जनादेखि झण्डै दुई सय जना पर्यटक रिसोर्टमा पुगेका छन्। शुक्रबार र शनिबार दोब्बर भन्दा बढी पर्यटक आउने गरेको रिसोर्टका अर्का सञ्चालक अमित गौतमले बताए।
यो रिसोर्टमा ४२ जना स्टाफ रहेकोमा अहिले १८ जनाले काम गरिराखेका छन् ।
‘पर्यटकको चाप यता बढेको बढ्यै छ’, गौतम भन्छन्, अब स्टाफ थप्छौं ।’
त्यसो त पामेसाइडका व्यवसायीलाई अझै पनि कतिपय प्राविधिक समस्या भने बाँकी नै छन्।
बिजुलीको थ्रि फेज लाइन बल्ल पुगेको छ। ल्याण्ड लाइन फोन पुगे पनि लामो समयदेखि बिग्रिएर अझै बनेको छैन। सरकारी निकायको ध्यान पुग्न नसक्दा उक्त क्षेत्र ओझेलमा परेको सञ्चालक गौतम बताउँछन्।