नेविसंघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले दुई वर्षअघि जिन्दगीमा आफूले गरेका कामको हिसाब गर्न बसे।
३६ वर्षको उमेरसम्म के गरेँ भनेर पछि फर्केर हेरे।
आफ्नो जम्मै समय साथीभाइसँग फगत गफ चुटेर बित्दो रहेछ, कि भने संगठनका ठूला नेताहरूको पछि लाग्दै विभिन्न कार्यक्रममा जाने र भाषण गरेर बित्ने।
सार्वजनिक मञ्च पाउँदा उनी कम्ता जोसिन्नथे। ती मञ्चमा धेरै पटक आर्थिक समृद्धि र कृषि क्रान्तिका भाषण गरे। दर्शक दिर्घाबाट निकै ताली पाए। त्यही तालीको तालमा उनले आफैंलाई समेत बिर्सिन्थे, जुनतारा झार्दिने कुरा गर्न के गाह्रो!
उमेरको उकालो चढ्दै गएपछि उनले आफ्ना भाषणबारे गम्न थाले। तौलिन थाले।
दिनभर गाउँघरको चौतारो, बजारका चिया पसलमा भुलेर, डुलेर, गफ दिएर समय खेर फालेको आत्मबोध भयो।
जीवनमा आत्मबोधले सबैभन्दा ठूलो ज्ञान दिने रहेछ भन्ने उनलाई लाग्छ।
'आफूले केही गरेमात्रै अरूलाई भन्न सुहाउँछ। मलाई नेता भएर भाषणमात्र गरेर हुन्न उदाहरण भएर पेश गर्नुपर्छ भन्ने आत्मबोध भयो,' उनले भने।
त्यही बोधले उनलाई लखर–लखर डुलेर र गफ चुटेर मात्रै महत्वपूर्ण समय खेर नफाल्ने निधोमा पुर्यायो।
तर गर्ने के?
आफ्नो हातमा सीप केही छैन! आजसम्म सिकेको भाषण राजनीतिबाहेक कुनै अरू इलममा काम लाग्दैन। तर केही न केही आर्थिक उपार्जन गर्ने हुटहुटी उनमा थियो। अनेक विकल्पमा घोत्लिए।
उनी गाउँमै बसे, हुर्के। जहाँ उनले खेती किसानी देखेका थिए। घर–घरमा पशु चौपाया पालेको देखेका थिए। उनको घरमा पनि त्यसै हुन्थ्यो।
'पशुपालन गरम् कि क्या हो? भन्ने भयो,' बुढाथोकीले सम्झिए,'सोच्दै जाँदा बंगुर पाल्ने निधोमा पुगें।'
त्यसपछि उनले घर परिवारमा पनि छलफल सुरू गरे। परिवारका सदस्य उनको कुरा सुनेर खुसी भए।
परिवार खुसी भए पनि आफन्त/समाजले के भन्ने हो भन्ने पीर धेरै मानिसलाई झैँ उनलाई पनि थियो।
उनी राजनीति गर्थे, अनि ब्राह्मण परिवारकी निलम शर्मासँग बिहे गरेका थिए। हुन त पत्नीले पनि बंगुर पालन गर्न सहमति दिएकी थिइन्। तर समाजको कथित उपल्लो जात भनिने क्षत्री,बाहुनका लागि बंगुर अछुत थियो।
गाउँसमाजमा बंगुर पाल्न नदिने कुरा आयो।
जातपात उचनिचविरूद्ध चर्का भाषण गर्नु र समाजसँग लड्नु फरक रहेछ भन्ने त्यतिबेला पनि उनले बुझे। आफन्त तथा इष्टमित्रलाई सम्झाउन/बुझाउन झन्डै ५/ ६ महिना लागेछ।
अन्त्यमा समाजले बुढाथोकीको कुरा सुन्न कर लाग्यो। ब्राह्मण क्षेत्रीले नै बंगुरको व्यावसायिक फर्म सञ्चालन गर्न दिनका लागि सर्जिमन गरिदिए।
२०७६ वैशाखदेखि उनले खोरमा बंगुर ल्याएर राख्न सुरू गरे। पाठा/पाठी आफैंले खोज्दै र बोक्दै खोरमा राखे। देउखुरी र घोराहीबाट किनेर ल्याएका २७ पाठा पाठी जम्मा भए।
ती बंगुरलाई खुवाउने दाना खोज्न घोराही बजारका होटेल तथा रेष्टुरेण्ट चाहारे। आफैं कुँडो पकाए। दाना पानीमात्रै हैन खोर सफा गर्ने काम पनि आफैं गरे।
काम गरेरमात्र कहाँ सुख हुन्थ्यो!
त्यो देख्ने आफन्त तथा गाउँघरका भद्र भलादमीहरू बुढाथोकीको घरको बाटो हिँड्न पनि छोडे, हिँडेकाहरू घरमा पस्न।
'बोलाउँदा पनि आँगनसम्म टेक्दैनथे,' बुढाथोकी हाँस्दै सुनाउँथे।
धेरै महिना त्यस्तै चल्यो। क्षेत्री भएर छुनै नहुने जनावरलाई घर भित्रै हुल्यो भनेर मानिसहरूले कुरा काट्दै हिँडे।
बुढाथोकीले कुनै पनि जनावर आफैंमा अछुत हुँदैन भनेर सम्झाए।
‘गलत चिन्तन हामीले परिवर्तन गर्दै जानु पर्छ। फाल्नु पर्छ भन्ने कुरा मैले सम्झाउँथे,’ बुढाथोकीले भने।
बिस्तारै मानिसहरूले सम्झिए।
‘आज मेरो घरमा सबै आउँछन्। सबैले राम्रो गर्यौ भनेर ढाडस दिन्छन्,’ उनले भने।
बुढाथोकीले गाउँमै बंगुर पालेर मानिस तथा पशुमा उचनिच तथा छुवाछुतको भावना हुँदैन र त्यो रहनु हुन्न भन्ने उदाहरण पेश गरेका छन्।
७/८ महिना हुर्काउन समय लागेपछि अहिले उनले आम्दानी लिन थालेका छन्। यो बीचमा उनले झन्डै ६० जति पाठा बेचेको बताए। जन्मेको ३५ दिन पुगेपछि पाठापाठी बिक्री सुरू हुन्छ। एउटा पाठाको मूल्य हेरेर ३ देखि ४ हजारसम्म पर्छ। गत भदौमा उनका सबै पाठा खोरबाटै बिके।
६ महिनामा झन्डै ४ लाख बराबरको कारोबार गरे। खर्च कटाएर कम्तिमा डेढ लाख आम्दानी भएको बुढाथोकीले बताए।
बबई बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी पालन फर्ममा हाल १२ वटा माउ र एउटा भाले बंगुर छ। अधिकांस माउ बंगुर गर्भे रहेको बुढाथोकीले बताए।
झन्डै ६ कठ्ठा क्षेत्रफलमा उनको बंगुर फर्म छ। यो उनको आफ्नै जग्गा हो ।
बुढाथोकीको फार्ममा डुरो र ल्यान्ड्रिस जातका बंगुरहरू छन्। ड्युरो जातको बंगुर केही ठूलो हुन्छ र त्यसका पाठा पनि ठूला हुन्छन्। ल्यान्ड्रिस जातको बंगुरको मासु मीठो हुने हुँदा बजारमा धेरै माग हुन्छ।
बंगुर पाल्दा दुइटा कुरामा ध्यान दिन जरूरी रहेको बुढाथोकीको बुझाइ छ: दाना व्यवस्थापन र सरसफाई।
बंगुर फोहोरमा बस्ने जात हो भन्ने पहिलेको बुझाइ आफूले पालेपछि गलत रहेछ भन्ने अहिले बुझेको बुढाथोकीले बताए।
‘म आफैं पसेर पानीले दिनहुँ खोर सफा गर्छु,’ बुढाथोकीले थपे, ‘बंगुर जति हुन्छ सफा ठाउँमा बस्न रूचाउने रहेछ। फोहोर भए खाना नै खान मन गर्दैन।’
कुकुर वा बिरालो जस्तै बंगुर पनि मानिसलाई पच्छ्याउने, सेवा गर्ने, माया गर्ने प्राणी भएको बुढाथोकीको अनुभव छ।
‘म खोरभित्रै पसेर सफा गर्दा पनि केही गर्दैनन् र नचिनेको मानिस जो कोही पसे पनि टिपेर बाहिर फालिदिन्छ,’ बुढाथोकीले भने ‘मलाई देख्नासाथ यिनीहरू कराउन थाल्छन्। खाना पाउने आशामा खुसी हुन्छन्।’
युवालाई बुढाथोकीको आग्रह
बुढाथोकीले पार्टीको झण्डा बोकेरमात्रै समय खेर नफाल्न युवाहरूलाई आग्रह गरे।
‘हिजोका दिनजस्तो आज छैन। हिजो पार्टीको झण्डा बोकेर पनि परिवर्तन हुन्थ्यो। तर, आजको समय त्यस्तो छैन,’ बुढाथोकीले भने ‘भाषण र बोलीमा जे गरियो आज व्यवहारमा त्यो देखिएको छैन। आजको समाज पुँजीवादी छ। युवाहरू पार्टीका विचार र सिद्धान्तसँगै आर्थिक उपार्जनमा पनि लाग्न जरूरी छ।’
हरेक पार्टीका विचार, सिद्धान्त र व्यवहार कहीँ न कहीँ अलमलिएको उनको बुझाइ छ। राजनीति गर्ने पढे लेखेका युवाहरूले राजनीति र भाषणजस्तै श्रम र उद्यम पनि सँगै गर्न जरूरी रहेको उनले बताए ।
‘त्यसो भएमात्रै हामीले खोजेको समाज, परिवेश र देश निर्माण हुने छ,’ बुढाथोकीले भने, ‘हैन भने हामीले गर्ने एकातिर र देश अर्कैतिर जाने परिस्थिति बन्छ।’