यसअघि दसैं बिदा बनेर आउँथ्यो। यसपालि बिदैबिदा बीच आयो।
मेरा लागि यो दसैं बिदा ललितपुर, लामाटार घुम्ने अवसर बन्यो। फुर्सदमा लामाटार पुग्नुभयो भने तपाईं पहाड, जंगल र खेतखलियान डुलेर आनन्द लिन सक्नुहुन्छ।
लाँकुरी-भञ्ज्याङ, कोट डाँडा र रिसाल डाँडा मुन्तिरको लामाटार यतिबेला तरकारी र रंगीन फूलहरू फुलाएर मुस्काइरहेको छ।
लामाटार ग्वार्को चोकबाट पूर्व सात किलोमिटर दूरीमा पर्छ। लामाटारवासी दसैं छेक धान काट्ने हतारोमा थिए। लामाटारको फाँटमा धान, गहुँ, थरिथरिका तरकारी र फूल रोप्छन् किसानहरू।
सोध्दै खोज्दै जाने हो भने स्थानीय मात्रै होइन, देशका विभिन्न ठाउँबाट आएका किसान भेटिने रहेछन्।
मेरो भेट दाङबाट आएका किसान दम्पतीसँग भयो। उनीहरूलाई पहिलो पटक लामाटारको दाँया भेगको दाडाचौरमा देखेको थिएँ।
अनुहारमा बुढेसकालका धर्सा र डोकोमा तरकारी बोकेका उनीहरू पालैपालो भनिरहेका थिए–
गोलभेँडा आयो, गोलभेँडा...
साग आयो साग...
बूढाबूढी नजिकै गाउँमा तरकारी बेचेर आफ्नो नर्सरीतिर फर्केका रहेछन्। म ताजा तरकारी किन्न पाइने लोभले उनीहरूसँगै नर्सरी छिरेँ।
एकछिन थकाइ मार्न पनि दिइनँ। भनिहालेँ, 'एक किलो घिरौंला, एक किलो सिमी र एक मुठा तोरीको साग।'
नर्सरीमा श्रीमान-श्रीमती सीताराम र फुडन चौधरी मात्रै बस्दा रहेछन्। तरकारी किन्दाकिन्दै सुरू भएको कुराकानी बिट मार्दा फुडनले भनिन्- 'बिहेपछि छोरी ज्वाइँको, छोरा बुहारीको। हामी बूढाबूढीलाई हेर्ने कोई नाइँ।'
यो कुरा उनले भनेको त हाँसेरै हो, तर सुन्नेको मन चसक्क हुन्थ्यो।
फुडनको कथनीले तानेर मलाई भोलिपल्ट फेरि त्यहीँ पुर्यायो। तरकारी किन्न होइन, उनीहरूको कथा सुन्न।
कच्ची सडक छेउ नर्सरीभित्र जस्ताले छोपेका दुई कोठा, एउटा सुत्ने, अर्को भान्छा। फुडन खाना बनाउन व्यस्त थिइन्। सीताराम हातमा कुटो लिएर बारी गोड्दै थिए।
बिहान पाँच बजे उनीहरूको दिन सुरू हुने रहेछ। फुडन सधैं बिहान उठेर कालो चिया पकाउँछिन्। चिया खाएर सीताराम बारीमा पानी हाल्छन्, गोडमेल गर्छन्। फुडन गाईका लागि कुँडो बनाउँछिन्।
त्यसपछि बल्ल उनीहरू तरकारी बेच्न जाने तयारी गर्छन्। दुवै मिलेर तरकारी टिप्न थाल्छन्। डोकोभरी तरकारी राखेर हिँड्ने बेलासम्म झन्डै सात बजिसकेको हुन्छ।
'तरकारी बेचेर आइयो, अब खाना खाएर दिउँसो घाँस काट्न जानुपर्छ,' सीतारामले सुनाए।
फर्केपछि घाँस काट्ने, तरकारी रोप्ने, बारी गोडमेल गर्ने, नर्सरीबाटै ग्राहकलाई तरकारी बेच्नेजस्ता कामले उनीहरूलाई व्यस्त राख्छ।
'एउटा काम सकियो, अब आराम गर्छु भन्न कमै पाइन्छ,' फुडनले भनिन्।
फुडन खाना बनाइरहेकी थिइन्। बुढ्यौली हुँदै गएपछि जिउमा अनेक समस्या भएको सुनाउँछिन् उनी।
'खुट्टा कटकटी खान्छ, बेलाबेला पेट पनि दुख्छ। जति गाह्रो भए पनि काम नगरी खान पुग्दैन,' उनले भान्छाबाटै भनिन्।
पिठ्यूँमा पन्ध्र-बीस किलो तरकारी बोकेर हिँड्न उनलाई कम्ता सकस हुँदैन। बेच्न जान नसकेका बेला पनि फुडनले आराम पाउँदिनन्। श्रीमान् फर्किने बेलासम्म सकिनसकी खाना पकाइ सक्नुपर्छ।
उनीहरू तरकारी बेच्न धेरैजसो छिमेकी गाउँ धाराचौरतिर जान्छन्। बेलाबेला दारथोक, विरुवा, लुभूसम्म पुग्छन्। यसरी घुम्दा उनीहरूका गोडाले थाहै नपाई कम्तीमा १० किलोमिटर यात्रा गरिसकेको हुन्छ।
सीतारामले भने, 'दिनको कम्तीमा तीन घन्टा तरकारी भारी बोकेर हिँडिन्छ।'
यसरी बेचेको तकारीबाट बीस-पच्चीस प्रतिशत नाफा बच्ने उनी बताउँछन्।
भेटमा सोधेँ, 'आज कतिको तरकारी बेच्नुभयो?'
'बुढाबुढी मिलेर त्यस्तै दुई हजार भयो होला,' सीतारामले भने।
चौधरी दम्पतीले नर्सरी खोलेको छ वर्ष भयो। तीन रोपनी जग्गामा टमाटर, आलु, बन्दा, सिमी, मूला, घिरौंला, प्याज, खुर्सानी, तोरी, सोंप, रायोसम्म रोपेका छन्। कुनै नाम वा साइनबोर्ड बिनाको बेनामी नर्सरीमा लामाटारबाहेक छिमेकी गाउँबाट पनि तरकारी किन्न आउनेहरू छन्।
चार वर्षअघि उनीहरूले नर्सरीको जग्गा बढाएका थिए। आम्दानी भने नबढेको उनीहरू बताउँछन्।
'जग्गा बढेपछि लगानी बढ्यो तर व्यापार खास बढेन,' सीतारामले भने, 'यो वर्ष झन् कोरोनाले हो कि अरू कारणले, पहिलाजस्तो मोल पाइएको छैन।'
तरकारीको भाउ घटबढ भइरहे पनि नर्सरी सुरू गरेपछि यो दम्पतीको जीवन पहिलेभन्दा स्थिर छ। यसअघि सीताराम ज्याला-मजदुरी गर्थे। अहिले आफ्नै काम गर्दा आर्थिक हिसाबले अरूकहाँ काम गरेभन्दा बढी सुरक्षित महशुस गर्ने उनी बताउँछन्।
चौधरी दम्पतीले जिन्दगीमा निकै दु:ख र अभाव झेलेका छन्।
दाङ, तुलसीपुरदेखि १० किलोमिटर परको गाउँका सीताराम सानैदेखि कमैयाका रूपमा हुर्के। न पारिवारिक सम्पत्ति न विद्यालय जाने मौका। यस्ता धेरै अवसरबाट वञ्चित भए उनी। एक्लो हुन्जेल भोको पेटमा गरिबीको लात सहनु उनका लागि ठूलो कुरा थिएन।
२०१८ सालमा जन्मेका उनको बिहे पनि १८ वर्षकै उमेरमा भयो। उनी गरिबीको मार खप्न नसक्ने भए। आफूभन्दा चार वर्ष कम उमेरकी श्रीमतीको माया लागेर आयो। उनी आत्तिए। अनि, त्यही रन्कोमा काम खोज्दै भारत पसे।
'पहिला धेरै दुःख भोगियो। इन्डियामा सय किलोसम्म भारी बोकेर हिँडियो,' उनले भने, 'सुरूमा बरनीपुर गएँ। अँ, त्यसपछि रुरु, सिमला, कार्गिल… धेरै ठाउँ गइयो,' नाम सम्झिन बल गर्दै भने।
आफ्नो गाउँका धेरै मान्छेको देखासिकी गर्दै उनी भारत पसेका थिए। बरनीपुरमा ढुंगा, इँट्टा बोके। छ महिनापछि पहिलो पटक केही रकम बोकेर दाङ फर्किँदा उनी युद्ध जितेर फर्केका योद्धाझैं फुर्केका थिए। तर खल्तीको पैसासँगै उनको खुसी रित्तिन थाल्यो।
त्यसपछि केही महिना घर-आउने जाने सिलसिला सुरू भयो। यसबीच उनले ढुंगा, गिटी, इँट्टा, मल, भारी, जेजे मिल्यो बोक्दै भारतको सिमलादेखि कार्गिलसम्म चहारे। दिनको भारू १५ देखि २५० रूपैयाँसम्म कमाए।
दाङ–इन्डिया दौडादौडको चरणमा धेरै वर्ष बिते। यतिसम्म, उनले आफ्ना बच्चा जन्मेर हुर्किसकेको हेक्का समेत राखेनन्। दुरीले भारत नजिक छ, तर त्यहाँ बस्दा उनलाई आफ्नो देशभन्दा धेरै पर पुगेको महशुस हुन्थ्यो।
'बुढी, छोराछोरी र देशबाट टाढा बस्न ठीक होइन भन्ने भएपछि दाङ फर्किएँ। अनि काठमाडौं आएँ,' उनी भन्छन्।
त्यसबेला सीताराम गाउँका मानिस काम खोज्दै काठमाडौं जान थालेको थाहा पाए। अनि गाउँले पछ्याउँदै ललितपुरमा आएर मजदुरी गर्न थालेका हुन्।
भारतबाट दाङ फर्केझैं उनी काठमाडौंबाट केही हजार नगद बोकेर दाङ जान्थे। केही समय बिताएर काठमाडौं आउँथे।
'लुभूको चाइनिज इँट्टा भट्टामा काम गरेँ। कतै मल बोकेँ, कतै पर्खाल बनाएँ। तर जति काम गरे पनि हातमा पन्ध्र/बीस हजार,' उनले भने।
यसैबीच उनका दुई छोरी र तीन छोराको बिहे भयो। बिहेपछि छोरा अलग बस्न थाले। बुढाबुढी 'एक्लै' भएपछि भने सीतारामले अरूको काम गर्न नहुने निर्णय लिएका हुन्।
तरकारी-फूलको काम गर्ने सुझाव उनलाई कान्छा ज्वाइँले दिएका थिए।
काम खोज्दै दाङबाट यता आएर बसेका उनका गाउँले/आफन्त नजिकै छन्। अघिपछि एक्लैजस्तो भए पनि चाडवाडमा रमाइलो गर्नुपर्दा वा केही पर्दा गाउँले भेला हुन्छन्।
हप्तामा प्रायः एक-दुई पटक बियर पिउने उनले यो दसैंमा डेढ कार्टुन क्यान रित्याएर रमाइलो गरेछन्। बंगुर र कुखुराको मासु पनि अरूबेला भन्दा बढी खाए। फुडनले पनि रमाइलो गरिन्।
'थोरै कमाए पनि कहिलेकाहीँ रमाइलो गर्न छोड्नु हुन्न। आखिर मरिलानू के छ र,' उनले भने, 'नर्सरी सुरू गर्दा एक हजार नगद थिएन। अहिले हेर्नुस्, केही छ भन्न सक्ने भएका छौं।'
हाम्रो कुराकानी कहिले टुंगिएला र खाना खाऊँ भनेर कुरिरहेकी फुडनले टाउको हल्लाएर सही थापिन्।
'सुरूको एक-डेढ वर्ष धेरै गाह्रो थियो। बिउ किन्नेदेखि टनेल छानो छाउने प्लास्टिक किन्ने पैसा थिएन,' यसपालि फुडनले भनिन्।
सीतारामले थपे, 'इँट्टा बोक्ने, पर्खाल बनाउने काम गर्दै धेरै दुःखले सुरू गरेको नर्सरी हो।'
भनिन्छ नि, एकबाजी मान्छेका खुट्टो घर बाहिर निस्क्यो भने घरमा खुम्ची बस्न मन मान्दैन। सीताराम पनि एक पटक भारत गएर फर्केपछि आफ्नो गाउँमा टिकेर बस्न सकेनन्। यो यात्रालाई उनी 'पैसा खेलाउने तिर्सना' को यात्रा भन्छन्। धेरै ठाउँ भौतारिँदै यहाँसम्म आइपुगेका उनीसँग अहिले ठीकठाक बचत छ।
'मान्छेलाई पैसा खेलाउने तिर्सनाले धेरै थकाउने रहेछ,' उनले भने, 'अब कतै भाग्नु छैन। बस् दुःख-बिमार पर्दा उपचार गर्ने पैसा जोगाउन सकियोस्।'