आरोही बन्न सगरमाथा नै चढ्नु पर्छ भन्ने छैन। अन्नपूर्ण वा मनास्लु नचढे पनि भइगो। तर हिमाल भने चढ्नै पर्छ।
पोखराबाट देखिने माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण गरेका छैनन्।
सन् १९५७ मा ब्रिटिस आरोही जिमी रोबर्ट्सले पहिलो पटक ६ हजार ९९३ मिटर अग्लो माछापुच्छ्रे चढ्न खोजेका थिए, असफल भए।
त्यसयता कसैले पनि माछापुच्छ्रे चढ्ने आँट गर्नै सकेका छैनन्। त्यसै त चढ्न अप्ठ्यारो, त्यसमाथि आरोहणमा सरकारी रोक।
माछापुच्छ्रेमा सरकारी रोक भए पनि छेउकै मर्दी हिमाल चढ्न भने कसैलाई सोध्नु पर्दैन। समुन्द्री सतहदेखि ५ हजार ५८७ मिटर अग्लो मर्दी हिमाल चढ्न सरकारी अनुमति नचाहिने भएको पनि ६ वर्ष भयो।
मन्त्रिपरिषदले २०७१ जेठ ७ गते ५ हजार ८ सय मिटरसम्मका हिमाल चढ्न सरकारी अनुमति नचाहिने बनायो। त्यसयता मर्दी आरोहण गर्न मनको मर्जीमात्र भए पुग्छ।
त्यसअघि ५ हजार पाँच सयसम्मका हिमाल अनुमति नलिई चढ्न पाइन्नथ्यो। अब मर्दी ट्रेक जानेहरूलाई हिमाल आरोही बन्न मन लागे केही दिन आँट गरे पुग्यो।
माछापुच्छ्रे छेउको मर्दी हिमाल आरोहण पदयात्रीलाई आरोही बनाउने एउटा उपयुक्त हिमाल बन्न सक्ने पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्।
माछापुच्छ्रे देब्रे छेउमै भए पनि पोखराबाट मर्दी हिमाल खुट्याउन सकिन्न। मर्दी पदयात्रामा जानेहरूले भने हाइक्याम्पबाटै यसको छुट्टै रूप देख्न सक्छन्।
मर्दी पदमार्गको हाइक्याम्प पुग्दा नपुग्दै माछापुच्छ्रे र मर्दी हिमाल छुट्टा-छुट्टै देखिन्छ, हाइक्याम्प माथिको भ्यू प्वाइन्टबाट त झनै प्रष्ट!
मर्दी हिमाल चढ्न सजिलै पाइने भएपछि इन्टरनेशनल फेडेरेसन अफ माउण्टेनका गाइड प्रेम गुरूङको दिमागमा बत्ती बल्यो- मर्दी ट्रेक गर्नेलाई हिमाली चुचुरोमै आकर्षित गर्ने।
गुरूङ काठमाडौंमा रहेर हिमाल आरोहणसम्बन्धी गतिविधिमा सक्रिय थिए। उनी पोखरा आएपछि लकडाउन भयो, अब पोखरामै रहेर गण्डकीका हिमाल आरोहणसम्बन्धी गतिविधि अघि बढाउने तयारीमा छन्।
त्योमध्ये एक हो, मर्दी चुचुरोमा पुग्ने रूट।
कोरोना भाइरसको महामारीले पर्वतारोहण गतिविधि ठप्प भएको समय सदुपयोग गर्दै मर्दी आरोहणको रूट खोज्न गुरूङले ७ जनाको टिम बनाए।
आरोहणमा दख्खल राख्ने युवाहरूको समूह बनाएर उनले भर्चुअल बैठक गरे, मर्दी आरोहणमा जाने तयारी गरे। नभन्दै उनीहरुले मर्दी आरोहणको नयाँ रुट खोलेर फर्किए।
‘पदयात्रामा जाने अलि साहसिक पर्यटकले मर्दी आरोहण गर्न सक्छन्,' गुरूङले भने, ‘त्यही भएर नै हामीले यो हिमाल आरोहणको रूट बनाएका छौं।’
योसँगै मर्दी हिमाल आरोहण गर्न सजिला र अप्ठ्यारा गरी अब ३ वटा रूट बनेका छन्।
किन मर्दी हिमाल नै गए त उनीहरू?
'शहरबाट नजिकै रहेको हिमाल त्यसमाथि मर्दी पदयात्रामा जाने पर्यटकको लर्को!,' उनले भने, ' आरोहणको अनुभव लिन चाहनेलाई अब मर्दी हिमाल गन्तव्य बन्न सक्छ। त्यसैले हामीले यो मर्दी रूट बनाएका हौं।'
पोखराबाट करिब २५ किलोमिटर मात्र हवाइ दूरी रहेको मर्दी हिमालको बेसक्याम्पमा दुई दिनमै पुग्न सकिन्छ।
‘आरोहण गर्न चाहनेलाई खर्च पनि कम लाग्छ,’ उनले भने।
उनीहरूको टोलीले मर्दी हिमालको दक्षिण पश्चिम मोहोडाबाट आरोहणको रूट बनाएका छन्।
यसअघि मर्दी चुचुरोमा दक्षिण र पूर्वी भागबाट चढ्न सकिन्थ्यो। जसमध्ये दक्षिणतर्फबाट सजिलो र पूर्वबाट आरोहण गर्न सबै भन्दा अप्ठ्यारो रहेको जगन्नाथ बताउँछन्।
उनले यसअघि पनि दुई पटक मर्दी आरोहणमा गएका थिए। पहिलो पटक दक्षिणतर्फबाट जाँदा चुचुरोमा पुगे। दुई वर्षअघि डिसेम्बर अन्तिम साता पूर्वी मोहोडाबाट जाँदा मौसम खराबीले चुचुरा चुम्न सकेनन्।
यसरी खोजे नयाँ रूट
यस पटक उनी मर्दी आरोहणको नयाँ रूट खोज्न साथीहरूसँगै गएका थिए।
रूट तयार गरे पनि चुचुरा चुम्न सकेनन्। चुचुरामा पुग्न उनीहरूसँग प्रर्याप्त समय नै भएनछ।
उनीहरूको टोली पदयात्री पुग्ने मर्दी बेस क्याम्पभन्दा दुई घन्टामाथि ४ हजार ७ सय मिटर उचाइमा बेसक्याम्प बनाएर बसे।
उनीहरूले बनाएको बेस क्याम्पमा खानेपानीको अभाव थियो। हाइक्याम्पबाट २ जनालाई ओसार्न लगाए। चार दिन त्यहीँ बसेर आरोहणका योजना र बाटो पत्ता लगाउने काम गरे।
पहिलो दिन, टेन्ट लगाए, बेस क्याम्प बनाए, जहाँ उनीहरू बस्नु थियो। दोस्रो दिन बेस क्याम्पबाट आरोहणका लागि ५ सय मिटर माथिसम्म बाटो पत्ता लगाए। उनीहरूले हिमाल आरोहण गर्न डोरी टाँग्न चट्टान छेडेर बोल्ट जोडे। जहाँ डोरी लगाउन सकिन्छ।
तेस्रो दिन बाटो बनाएको ठाउँसम्म खानेकुरा लगेर राखे। आरोहणमा जाँदा खान पाइयोस् भनेर। र चौथो दिन आरोहणको दिन थियो, बिहान ३ बजे उठेर हिँडे। अघिल्लो दिन नै बाटो बनाएको ठाउँसम्म उनीहरू २ घण्टामै चढे। त्यसभन्दा माथि भने बाटो पत्ता लगाउनै मुस्किल। बाटो खोज्दा खोज्दै आरोहणको समय सकियो।
समिट डे अर्थात आरोहणको दिन बाटो बनाएको ठाउँभन्दा माथि दुईतिरबाट आरोहण गर्न सकिने देखे। एउटा डाँडैडाँडा र अर्को खोल्साको बाटो। उनीहरूले डाँडाबाट जाने निर्णय लिए। जब उनीहरू उँभो लागे, ९० डिग्रीमा अग्लो र ठूलो ढुङ्गा उभिएको देखे। यता पनि उस्तै भीर उता पनि उस्तै। अगाडि पछाडि दुबैतर्फ भीरमात्र देखेपछि उनीहरू आरोहणमा जान सकेनन्।
त्यहाँबाट फर्किए।
अर्को खोल्साको बाटोबाट आरोहण गर्ने निर्णय गरे। यतिबेला ढिलो भइसकेको थियो। उनीहरूको टोली खोल्सामा झर्यो। दिउँसो भइसकेको थियो, घाम चर्को। हिमाल पग्लेर ढुङ्गा खस्न थाले।
‘चुचुरामा अलिअलि भएको हिउँ पनि पग्लन थाल्यो, हिउँ पग्लँदा ढुङ्गा खस्छ,' जगन्नाथले भने, ‘ठूला ठूला ढुङ्गा खस्दा त ज्यान जोगाउनै मुस्किल।’
तैपनि उनीहरूले हिम्मत हारेनन्। माथिबाट खसेका ढुङ्गा छल्दै खोल्साको बाटो उँभो लागे। अहिलेसम्म हिउँ भेटिएको थिएन। हिउँ भेट्न करिब १०० मिटर अझै माथि चढ्नु पर्थ्यो। माथिबाट एकोहोर झरिरहेको ढुङ्गाले अवरोध पर्यायो। उनीहरूको टोली यहाँभन्दा माथि जान सकेन।
‘सुरूमै खोल्साको बाटो गएको भए हामीले बिहान घाम नलाग्दै समिट गर्थ्यौं,' जगननाथले भने।
आफूहरूले लगेको खानाले नपुग्ने भएपछि उनीहरू अर्कोदिन फर्किनु पर्यो। चुचुरा पुग्न करिब १०० मिटर बाँकी छँदै फर्किनु परे पनि नयाँ रूट खोजेर बनाएर आएकोमा उनीहरू दंग छन्।
‘हामीले चट्टान छेडेर बोल्ट राखेका छौं, अरू आरोहीलाई सजिलो होस् भनेर चिन्ह लगाइदिएका छौं,' जगननाथले भने, ‘मर्दी आरोहणमा जानेलाई अब तेस्रो रूट पनि तयार भयो।’
उनका अनुसार मर्दी आरोहणमा सजिलो र अप्ठेरो पहिलै भए पनि आफूहरूले ९ दिन लगाएर बनाएको रूट भने मध्यम खालको छ।
उनीहरूलाई मर्दी आरोहणको रूट बनाउन कुनै सरकारी निकाय वा गैरसरकारी निकायले हौसाएको भने होइन। पोखरामा बसेर पर्वतारोहण गतिविधि गर्न लागेका प्रशिक्षक प्रेम गुरूङको अगुवाइमा उनीहरूले आफ्नै खर्चमा यो काम गरेका हुन्। नयाँ रुट पत्ता लगाउन जाँदा गाइड खर्चबाहेक उनीहरूको ३ लाख रुपैयाँ खर्च भएको जगन्नाथले बताए।
नेपाली पर्यटकलाई हिमाल आरोहणको अनुभव दिलाउन मर्दी आरोहणको १० दिने योजना बनाउन उनीहरू लागेका छन्।
‘नेपालीले पनि आरोहणको प्रयास गरून्,' जगन्नाथ भन्छन्, ‘यो हिमालले आरोहणको अनुभव दिलाउँछ।’
अहिले उनीहरूको चिन्ता हिमालमा हिउँ रित्तिएकोमा छ।
‘हिमालमा हिउँ नहुँदा आरोहण गर्न गाह्रो हुन्छ,' पर्वतारोहणलाई नै व्यवसाय बनाएका जगन्नाथले भने, 'रकमा चढ्न धेरै स्किल चाहिन्छ त्यो त सिक्न सकिन्छ, तर हिउँ रित्तिँदा हाम्रो बायोडाइभर्सिटीलाई ठूलो असर पार्छ।’
हिमालमा हिउँ रित्तिँदा पर्वतारोहण व्यवसाय पनि खस्कँदै गएको जगन्नाथले बताए।
‘दश वर्ष अघि गएको भए मर्दीमा पनि हिउँ भेटिथ्यो होला’, उनले अनुमान गरे।
जगन्नाथको मनमा भने अर्को कुरा पनि खड्किन्छ, नेपालले पर्वतारोहणलगायत साहसिक खेलमा नेतृत्व गर्न सकेन।
संसारमा रहेका ८ हजार मिटर अग्ला ८ वटा हिमाल नेपालमै छन्, नदीनाला र पहाड अनि तराई पनि यहीं। तर किन एउटा पनि खेलको विकास नेपालले गर्न सकेन भनेर उनी घोत्लिन्छन्। नेपालमा यसबारे शिक्षाको अभाव भएको उनको निष्कर्ष छ।
‘हामीले पर्वतारोहणमा संसारलाई लिड गर्न सक्नुपर्थ्यो, तर अरूले विकास गरेका कुरामा पछिपछि लाग्ने काम मात्र भयो,' उनी भन्छन्, ‘यसो हुन नसक्नुको कारण यहाँ पर्वतारोहण लगायत साहसिक खेलका बारेमा शिक्षा नै नहुनु हो।’
सरकारले माध्यमिक तहबाटै पर्वतारोहणसम्बन्धी अध्यापन अघि बढाउनु पर्ने उनको मत छ।
‘नेपालमै यस विषयका दक्ष प्रशिक्षक छन्, विभिन्न देशमा पढेर आएका र धेरै वर्ष हिमालमा काम गरेकाहरु छन’, उनले भने, ‘सरकारले उनीहरुको सीप र क्षमताको उपयोग गर्न सक्नुपर्छ।’