नेपालमा पछिल्लो समय एउटा प्रश्न निरन्तर उठिरहेको छ। व्यवसायीहरू व्यापारबाट नाफा कमाउँछन् तर उत्पादनमा लगानी किन गर्दैनन्?
उत्पादनमा लगानी गर्ने जोखिम वा नीतिगत अस्थिरता कारण यस्तो हुन सक्ने भए पनि व्यवसायीहरूले यस्तो कुराको स्पष्ट जवाफ खासै दिँदैनन्।
व्यापार अर्थात् कुनै देशमा निर्माण भएको वस्तुलाई नेपालमा ल्याएर बिक्री गर्ने र त्यसबाट आउने मोटो मुनाफामै रमाउने केही भए पनि सबै त्यस्ता छैनन्। केही व्यवसायीले व्यापारबाट भएको नाफालाई स्वदेशमै उत्पादनमूलक उद्योग तथा रोजगारी सिर्जनामा लगानी गर्दै आएका छन्। त्यसमध्येको एक हो लक्ष्मी ग्रुप।
लक्ष्मी ग्रुपको आधार र भविष्य दुवै उत्पादनमूलक उद्योग तथा सेवा क्षेत्रको विस्तार रहेको ग्रुपका प्रबन्ध निर्देशक तथा व्यवसायी अन्जन श्रेष्ठको भनाइ छ।
पोखरामा रहेको घरायसी सीप र व्यवसाय आजको बृहत मेसिनरी संरचनामा मात्र गएको छैन, यसको विस्तार देशभर भएको छ। २०३० सालमा तीन सय रुपैयाँको मेसिन किनेर पोखरामा सुरू भएको लक्ष्मी मिठाइ भन्डार, आज विशाल भइसकेको छ। ख्याति उत्तिकै बढेको छ।
यो ग्रुपको उत्पादन तथा व्यवसाय पञ्चायत अवधिभर मिठाइ तथा चकलेट उत्पादनमै सीमित भयो। २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा आएको खुला तथा उदार अर्थतन्त्रले व्यवसायमा फैलिने अवसर यो ग्रुपले पनि पायो।
'मैले त्यहीबेलादेखि कन्फेक्सनरीबाट बाहिर उद्योग सुरू गरेको थिए, पोलिथिन उद्योगका रूपमा। मेरो औपचारिक रुपमा व्यवसायमा प्रवेश त्यही बेलादेखि भयो,' श्रेष्ठले भने।
औपचारिक अध्ययन क्रममै व्यवस्थाको परिवर्तनमात्र होइन व्यावसायिक लाभ पनि देखेका श्रेष्ठले त्यसपछि लक्ष्मी ग्रुपलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै लगे। २०६० सालदेखि पोखरामा सुजल डेरी स्थापना भएपछि भने ग्रुपको विस्तार गति तीव्र भयो।
घरानाभित्र नयाँ पुस्ताको प्रवेश भयो। यो पुस्ताले नयाँ अवस्थामा नयाँ अवसर देख्न थाल्यो। सोहीअनुसार समूहको प्रगति हुँदै गयो।
'हामीले हरेक अवसर खेर जान दिएनौं। ढिला भयो होला तर धैर्य गरेर हात पारेरै छाड्यौं,' श्रेष्ठले भने।
लक्ष्मी ग्रुपले मिठाइ तथा चकलेट उत्पादन गरिरहेको थियो। यसको अनुभव तथा विज्ञता पनि त्यसमै थियो। त्यही क्रममा २०६० सालमा सुजल डेरी स्थापना भयो। डिडिसीको पोखरा युनिट किनेर ३० करोड लगानी गरेपछि लक्ष्मी ग्रुपको विस्तार देशभर भयो।
जर्मन प्रविधिबाट कन्फेक्सनरी आइटम उत्पादन थालेको ग्रुपले त्यही सालदेखि चोकोफन चकलेट उत्पादन सुरू गर्यो। पछि चोकोफोन देशकै लोकप्रिय ब्रान्ड बन्न सफल भयो। आजका दिनसम्म पनि नेपालकै लोकप्रिय घरेलु ब्रान्डमा पर्छ चोकोफन। लक्ष्मी ग्रुपले हाल ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा ल्याएको छ।
सुजल डेरीले आजका दिनमा सरकारी स्वामित्वको डिडिसीलाई पछ्याइरहेको मात्र होइन, चुनौती पनि दिइरहेको छ। पाउडर दूध बनाउने मेसिन राखेको सुजलले देशमा मिल्क होलिडेको अवस्था हटाउन धेरथोर मिहेनत पनि गरेको छ।
सुजल डेरीको छलाङ त छँदै थियो। त्यसलगत्तै देश द्वन्द्व समाधानको बाटोतिर गयो। त्यही क्रममा २०६६ सालमा लक्ष्मी ग्रुपले नेपालमा हुन्डाइ गाडी आधिरकारिक रुपमा भित्र्याउने अधिकार पायो।
त्यसपछि लक्ष्मी ग्रुपको आकार एकैपटक ठूलो भयो। गाडी बिक्रीलाई केबलका व्यापारका रूपमा नहेरेर सेवा उद्यमका रूपमा लिएकाले सफलता हात लागेको श्रेष्ठको बुझाइ छ।
'नेपालमा गाडी व्यापारलाई केबल ट्रेडका रुपमा हेर्ने चलन छ। जुन सही नहुन सक्छ। यो त आफैंमा सेवा उद्योग हो। हामीले यही रूपमा लियौं। हामीले सुरू गरेको तीन वर्षमै हुन्डाइलाई प्यासेन्जर भेहिकलमा नेपालको एक नम्बर बनायौं,' श्रेष्ठले भने।
हाम्रो क्रय क्षमता बढ्दै थियो। गाडी व्यापारमा निरन्तर बृद्धि भयो। त्यसमाथि हुन्डाइ लोकप्रिय पनि भइसकेको थियो। त्यसपछि लक्ष्मी ग्रुपको पहिचानबाट कन्फेक्सनरी तथा डेरी छोपिँदै गयो। तर श्रेष्ठ भने त्यो मान्न तयार छैनन्।
'अटोमोबाइलमा एउटा ग्ल्यामर भएकाले देखिएको मात्र हो। तर हाम्रो पहिचान सबै हो,' उनले भने।
उद्यममा लगानी बढाउँदै
गएको दस वर्षमा अटोमोबाइल व्यापारमा लक्ष्मी ग्रुपले जुन सफलता हात पार्यो, यसबाट भएको नाफा तथा आत्मविश्वास उत्पादनमूलक उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्दै आएको छ।
लक्ष्मी ग्रुपले साढे २ अर्ब लगानीमा स्थापना गरेको समृद्धि स्टिल एक वर्षअघि सञ्चालनमा आएको छ। समृद्धि स्टिलका नाममा बजारमा यसको उत्पादन आउन सुरू भइसकेको छ।
स्टिल उद्योग सञ्चालनमा आउनेबित्तिकै डेरी तथा पर्यटनका परियोजना अघि बढाउने योजना बनाएको लक्ष्मी ग्रुपलाई कोरोना महामारीले केही अवरोध गरेको छ। तर पनि आगामी दिनमा कृषि, पर्यटन, डेरी तथा कन्फेक्सनरीमा लगानी बढाउने श्रेष्ठको भनाइ छ।
'हामी सुजल डेरीलाई सातै प्रदेशमा विस्तार गर्दैछौं। अहिले पोखरा र काठमाडौंमा रहेको यसको सञ्जाल देशका सबै प्रदेशमा विस्तार गर्नेछौं। यसको तयारीमै छौं,' उनले भने।
योसँगै कृषि परियोजनामा पनि लगानी बढाउने योजना छ। यसका लागि परियोजनाको प्रकृति र स्थानबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए।
'जे होस्, हामी एउटा बृहत कृषि परियोजना ल्याउँदै छौं,' श्रेष्ठले भने।
काठमाडौं, पोखरा तथा चितवन जस्ता पर्यटकीय ठाउँमा परियोजना अगाडि बढाउने लक्ष्मी ग्रुपको योजना हो। कृषि तथा पर्यटन योजना अहिले अध्ययनकै क्रममा छ।
बिगत एक दशकदेखि हुन्डाइका गाडी बिक्री वितरण गरिरहेको लक्ष्मी ग्रुपले नेपालमै 'एसेम्बल' पनि सुरू गर्ने भएको छ। यसका लागि नेपालमा कम्पनी पनि दर्ता गरिसकेको ग्रुपले सरकारसँग थप छलफलपछि काम सुरू गर्ने जानकारी दिएको छ।
कम्पनी दर्ता भएर हुन्डाइसँग प्रारम्भिक सम्झौता भइसकेको तर नेपाल सरकारले दिने सहुलियत तथा सुविधाबारे स्पष्ट नभएकाले काम सुरू गर्न कठिन भएको उनको भनाइ छ।
'अहिले दिइएका सुविधा तथा घोषणाबाट गाडी एसेम्बल गर्न सकिँदैन। त्यसैले हामी सरकारसँग थप छलफल गरेर मात्र अगाडिको कदम चाल्छौं,' श्रेष्ठले भने।